• २०८० जेठ १४ आइतबार

मलाई बजाऊ

रमेश दाहाल

रमेश दाहाल

खै ! के थाहा ?
तिम्रो आँखाको सम्मोहनले
सम्मोहित छु म,
या ओठको मुस्कानले ।
सुरूसुरूमा त
तिमीलाई देख्ता मात्रै
म मोहित हुन्थेँ,
आकर्षित हुन्थेँ,
तर आजकल त
तिमी नहुँदा पनि
तिम्रो अनुपस्थितिमा पनि
तिम्रो सम्मोहनले
तिम्रो आकर्षणले
आकर्षित बनाउँछ ।

फेसबुकको भित्तामा
तिम्रो वालपेपरको तस्बिर र
नाम मात्रै देख्ता पनि
आकर्षित हुन्छु म
च्याटलिस्टमा अफलाइन भएको तिम्रो नाम
अनलाइनको हरियो थोप्लो हेर्न प्रतीक्षित हुन्छु म
जब,
हरियो थोप्लो लिएर तिमी अनलाइनमा हुन्छौ
मन त्यसै चुलबुलिन्छ,
मन त्यसै तरङ्गित हुन्छ,
त्यसैत्यसै आकर्षित हुन्छ ।

मलाई त,
यो पनि थाहा छैन
यो सम्मोहन
यो आकर्षण
माया हो वा स्नेह !
मलाई त
यतिमात्र थाहा छ
मुस्कानसहित आउने तिम्रो मीठा शब्दहरू
हो, मलाई त्यही मनपर्छ
अनि तिम्रो हृदयबाट पग्लिएको
अजस्र भावनाहरु मनपर्छ ।

एकान्तमा
मनमनै जब तिमी भन्छौ-
‘हजुरजस्तो कवि/लेखक भए पो !’
त्योचाहिँ मलाई फिटिक्कै मन पर्दैन
तिमीलाई पनि मेरो आग्रह छ,
तिम्रै लागि भनेको
मायाका हाम्रा गीत लेख्ने गर
अनि
गीत पनि गाउने गर
गीतसँगै हार्मोनियम पनि बजाऊ ।

निराशाको बादल छाएमा
विरहको गीत गाऊ
मायाले तिम्रो मन भरिएमा
प्रेमको मीठा गीत गाऊ
र,
हार्मोनियमको पङ्खा चलाऊ ।

मेरो आग्रहमा कुनै स्वार्थ छैन
मेरो चाहना
कतैबाट पनि विषाक्त छैन
कसैले लेखेको
कसैलाई मन पर्नसक्छ
कसैले बोलेको कसैलाई मन पर्नसक्छ
त्यस्तै
तिम्रा हातहरूले
हार्मोनियम बजाएको हेर्न
मलाई मनपर्छ ।

उमेरसँगै
धेरै जिम्मेवारी बडे होलान्
म तिमीलाई
ती जिम्मेवारीहरूबाट
पन्छिन भनिरहेको छैन
समयसँगै धेरै घाउहरू
लागे र खाटा परे होलान्
कोट्याऊ पनि भनेको छैन
एकान्तमा आउने
अतीत र वर्तमानका
अनेकौँ सम्झनाहरू होलान्
भीडमा दुख्ने
आनन्दी पीडाहरू होलान्
बस् ! ती सम्झनाहरूलाई
ती आनन्दी पीडाहरूलाई
कोमल हातका औँलाहरूले
हार्मोनियमको बोर्डमा थिच्ने गर
आफ्ना जिम्मेवारीहरूलाई पन्छाएर
अलिकति भावना पोख्ने गर ।

धेरै पछि,
जब तिमी वृद्धा हुनेछौ
तिम्रा औँलाहरूले
हार्मोनियम बजाउन सक्ने छैनन्
त्यतिवेला, हो त्यतिवेला
तिमीलाई मेरा यी शब्दहरू
याद आउने छन्
र, अहिले तिमीले मेरा इच्छाहरू
पूरा गर्याै भने
त्यतिखेर, हो त्यतिखेर
यी मेरा आग्रहहरू सम्झेर रमाउनेछौ
नत्र भने
साह्रै दुःखित हुनेछौ
र, म तिमीलाई
दुखित पनि बनाउन चाहदिनँ
त्यसैले तिमीलाई
तिम्रा जिम्मेवारीहरूको कसम
तिम्रा सुखद क्षणहरूको कसम
तिम्रा आँसुहरूको कसम
प्रियतमा भनौँ या के भनौँ
तिमीले हार्मोनियम बजाउनैपर्छ
यत्तिका कुराहरू गरेँ
मैले तिमीसँग
अहिलेसम्म पनि
तिमीले मलाई चिनेनौ भने
ए मेरो प्राण प्यारी !
एकफेर आँखा चिम्लेर
मेरो हृदयस्पन्दनलाई छोइ हेर त !
म तिम्रै हार्मोनियम त हुँ नि ।


(दाहाल चर्चित साहित्यकार हुन् ।)
[email protected]


स्त्री सुबोधिनी

A Love Woo

बुकमार्क