• २०८१ मंसिर २९ शनिवार

धन्य दारी

प्रेमवली ढकलपुरे

प्रेमवली ढकलपुरे

न कतै यसको अडाउने जरो छ
न कतै यसलाई अड्काउने पहरो छ
हैन यो दारीले के खाको छ ?
युरीया खाको छ कि पोटास पाको छ ?
जति काटे पनि आको छ आको छ

उभो उभो जानु नि पीपलको लहरा जस्तो
झन उँधो उँधो पो जान्छ
मानौ यसले पनि रूखको जराले जस्तो, जमिनबाट पानी तान्छ
मही खानु पर्यो भने जुगाँलाई पनि लपक्क भिजाउँछ
म्वाइँ खानु पर्यो भने सिस्नुझैँ  यसले किन बिझाउँछ ?
(यो चाही आफ्नै बुढीले भनेर थाहा पाएको है )

मासुमा उम्र्या हो कि छालामा उम्र्या हो
खै कसरी यो गालामा घुम्र्या हो ?
साधु, सन्त, जोगीलाई दारी पाल्नै पर्ने
तर आफुलाई चाहिँ दिनहुँ फाल्नु पर्ने
बूढाका दारी बढ्दा बूढीलाई साह्रै चिन्ता पर्ने
मैल त भन्द्या छु, पलाउँछ भने पालन तिमी पनि
किन मेरो दारीको ईर्ष्या गर्ने ?

काम न काज यो दारी फाल्दा
जीवन भरी कति दाम जान्छ जान्छ
न आ दारी भन्यो
भगवानले भनेको त मानेन यसले
मैले भनेको झन के मान्छ ?

अब पालौँ भने पनि कर लाग्ला भन्ने डर
खसी बोकाको दारीमा त लाग्यो रे
हाम्रो दारीमा न लाग्ला भन्ने के भर ?
न खुर्सानी बुटो जस्तो यसलाई उखलेर फाल्न सकिने
न बनमारा झारमा जस्तो डडेलो हाल्न सकिने
न कहिले नपलाउने पार्न सकिने
न अरूको गालामा सार्न सकिने

जति काटे पनि आको छ आको छ
अब पाल्ने कि फाल्ने ?
ठ्याक्कै संघियता जस्तो पो भाको छ ।
धन्य दारी
सकिएन तँलाई रोक्न कसैगरी
बढिराखेस् यसै गरी
बढिराखेस् त्यसै गरी ।।


प्रेमवली ढकलपुरे
[email protected]