काठमाडौं ।
शिखा बुक्सको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान पारिजात सभाकक्षमा सम्मन्न एक कार्यक्रममा साहित्यकार सुमन वर्षाको कथासंग्रह ‘अभ्यन्तर’ सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. अभि सुवेदी, समीक्षकद्वय प्रा. डा. ज्ञानू पाण्डे, नयनराज पाण्डे, पशुपति बहुमुखी क्याम्पस प्रमुख विनोदचन्द्र पन्त, प्र. प्रा. संघ नेपालका केन्द्रिय अध्यक्ष जगत तिमल्सिना र शिखा बुक्सका निर्देशक पुष्पराज पौडेलले संयुक्त रुपमा कृति सार्वजनिक गरेका थिए ।
प्रमुख अतिथि प्रा. डा. सुवेदीले कृति लोकार्पण गर्दै सुमनको साहित्यिक योगदानको चर्चा गरे । उनले भने, “सुमनले कतिपय कथा फरक दृष्टिकोण र शैलीका साथ लेखेकी छन् । कथामा उनले आफ्नो लेखकीय स्वतन्त्रताको उच्च प्रयोग गरेकी छन् ।” साहित्यकार प्रा. डा. ज्ञानू पाण्डेले कृतिकारको चर्चा गर्दै सुमनले समाजकै विविध विषयवस्तुमाथि कथा लेखेर समाजको अध्ययन गर्न खोजेको बताइन् । उनले कथामा समाजको चित्रण राम्रो रहेको बताउँदै भनिन्, “साहित्यकार समाजका मनोचिकित्सक हुन् । तिनले समाजका अन्तरङ घाउलाई साहित्यमार्फत उजागर गरेर त्यसको उपचारको बाटो देखाइदिन्छ ।”
आख्यानकार नयनराज पाण्डेले कथाकृतिमाथि पाठकीय मन्तव्य राख्दै सुमनका कतिपय कथाहरू फरक शैलीको भएको बताए । उनले सुमनलाई साहसी कथाकार भन्दै उनले हरेक कथामा फरक खालका विषयवस्तुको उठान गरेको बताए । कार्यक्रममा कथाकार सुमन वर्षाले आफ्नो कथा लेखनबारे बताइन् । उक्त अवसरमा विनोदचन्द्र वन्त, जगत् तिमिल्सिना, डा. सविना बस्नेत, शिखा बुक्सका पुष्पराज पौडेलले बोले ।
सुमनको पहिलो कथासंग्रह ‘अभ्यन्तर’ शिखा बुक्सले बजारमा ल्याएको हो । यसभन्दा अगाडि उनका दुई उपन्यास प्रकाशित भैसकेका छन् । अभ्यन्तर कथासंग्रहको मूल्य ४५० रहेको छ ।