• २०८१ चैत ३ सोमबार

जमाना पनि के आयो यस्तो

डा. मुकुन्द पथिक

डा. मुकुन्द पथिक

 

जमाना पनि के आयो यस्तो, रूनु न हाँस्नु भो
कोरोना बढ्यो बिचल्ली भयो, उठ्नु न बस्नु भो
महामारी छ देशमा ऐले, दुःखको भेल छ
शंकट मेट्नु कहाँ हो कहाँ, सत्ताको खेल छ ।

भरिया दाइ सडकमा सुते, भोकले बिरामी
हेर्दैथे आँखा छोडेछन् प्राण, नाम्लोको सिरानी ।
मजदुरी गर्ने मान्छेको हेर, चुल्हो नै बल्दैन
पसिना बग्न नपाए कठै, फल नि फल्दैन ।

घरमा बस्नु पर्यो नि सबै, थुनिए जस्तो छ
भनन साथी त्यो तिम्रो घरको, हालचाल कस्तो छ ?
अक्सिजन छैन, खोप नि छैन, अँध्यारो जिन्दगी
छुन निहुन्न कस्तो हो रोग, दुख्दैछ जिन्दगी ।

हुँदैन अरे जन्तनि जान, भोज भतेर गर्नलाई
बिते त कोही रोकियो हरे, मलामी जानलाई
के पाप  गर्यो मान्छेले ऐले, समस्या बढ्यो नि
जनता रोए आँसुको भेल, मुटुमा बग्यो नि ।

सोचेर राम्रो गर्नुछ काम, धैर्य नै लिएर
मेटिन्न तिर्खा आँसुको धारा, तनतनी पिएर
संगीत सुनौं योग र ध्यान, दैनिकगर्नुछ
सेवाको भाव लिएर सधैं, अगाडि बढ्नुछ ।


डा. मुकुन्द पथिक
[email protected]