आमा दृष्टि खुलाउने हृदयकी स्वर्गीय झन्कार हुन्
रच्ने सृजन बाग यो झिलिमिली आमा कलाकार हुन्
आमानै नभए हुँदैन रचना आमा बिना के छर ?
आमा कै कोखबाट जगमा जन्मे स्वयं ईश्वर !
आफ्नो जीवन- मृत्युको पनि कठै ! परबाह छोडिकन
सक्छिन् यत्न गरेर भर्न जननी निर्जिवमा जीवन !
आफू जोखिममा परेर सबको उद्धार को गर्छ र ?
आमा कर्मठ स्वार्थहिन जगकै स्रष्टा र संरक्षक !!
बाँड्छिन् सन्ततिमा बराबर गरी माया र श्रद्धा यिनी
छातीमा छहरा रस- सुधा भरी सञ्चार गर्छिन् यिनी
जस्तै दुष्ट कपूतको पनि उनी गर्छिन भलो उत्तिकै
चहे पुत्र कुपुत्र होस् भुवनमा हुन्नन् कुमाता कतै !!
आमा छिन घरमा भने घर भयो सम्पन्न औ सुन्दर
आमाकै मृदु मोहमा रहरिलो स्वर्गीय आनन्द छ
आमाको महिमा नभै त कविले रोएर भन्दैनथे
“आमा बालककी नमार भगवान् संसार भर्ने भए’ !!!
आमा हुन् ममतामयी, सहृदयी, वात्सल्यकी निर्झरी
लाखौँ यत्न गरून् तथापि सहजै लाग्दैन आमासरि
हुन्छन् शब्द अनेक यो भुवनमा प्यारा र राम्रा तर
यौटै शब्द छ शब्दकोश भरीकै ‘आमा’ आहा ! सुन्दर !!!!
(भट्टराई स्थापित कवि तथा साहित्यकार हुन् ।)
[email protected]