• २०८१ भाद्र २४ सोमबार

नारी स्रष्टा समाजद्वारा नौ स्रष्टा सम्मानित

२०७९ मङ्सिर १, नारी स्रष्टा समाजले आयोजना गरेको सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम काठमाडौँको राष्ट्रिय महिला आयोगको हलमा सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगमा सम्पन्न भएको सो कार्यक्रममा नगद १५ हजारसहित मोहनलता विशिष्ट स्रष्टा सम्मानबाट साहित्यकार तुलसीहरि कोइराला, ११ हजार नगदसहित कविराज स्रष्टा सम्मानबाट साहित्यकार भीष्म उप्रेती र हेमलता स्रष्टा सम्मानबाट साहित्यकार विनोद नेपाल पुरस्कृत भएका छन् ।

मोहनलता सम्मानबाट साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली सम्मानित भएका छन् । त्यसै गरी साहित्यकारहरू रमेश क्षितिज, मन्जिला अनिल, बिन्दु अधिकारी ढकाल, रीता खत्री, निर्मला मुरारी, मीना श्रेष्ठ र लक्ष्मी श्रेष्ठ (अमेरिका)पनि सम्मानित भएका छन् । नेपालप्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पुरस्कार तथा सम्मानपत्र प्रदानगर्नु भएको हो ।

कार्यक्रम नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रज्ञा प्रतिष्ठानको आख्यान विभाग प्रमुख वरिष्ठ आख्यानकार माया ठकुरी, नाट्यकर्मी अशेष मल्ल, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्मानित साहित्यकारहरूको परिचय साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र पुरस्कृतहरूका बारे साहित्यकार महेश प्रसाईले गराएका थिए ।