डिलुकी श्रीमती रूपा काखको छोरा विपिनलाई स्याहार संहार गरी घर समालेर बसेकोले डिलुलाई एकोहोरो काममा लाग्न सजिलो भएको थियो । डिलु बजारमा भारी बोक्ने काम गर्दथे । एकदिन डिलु काममा निस्कदा ५ वर्षको छोरा विपिनले भन्यो, “बा ! मलाई प्रकाशको जस्तै गाडी (खेलौना) ल्याइदिनुस् है ? नत्र म भातै खान्न !” डिलुले मुसुक्क हास्दै छोरालाई मुसार्दै भने, “हुन्छ मेरो बाबुलाई राम्रो गाडी ल्याइदिन्छु घर फर्कदा । ममीसंग माम खाऊ ल !” यति भन्दै रूपालाई खाना बनाई खानु र विपिनको हेरचाह गरी बस्नु भनेर बजार गए ।
बजारमा उनले भारी बोक्ने राम्रो अवसर पाए । अरूदिन भन्दा धेरै पैसा हात लाग्यो । खुसीले आनन्दित हुदै छोराका निम्ति गाडी किने । घरका लागि चाहिने सरसामान पनि किने । खर्चको पोको बोकेर हिडेको डिलुलाई मोटरसाइकलले ठक्कर दिइ लडायो । उनी बेहोस भै सडकमा लडे । कैयौं गाडीको ओहोरदोहोर हुँदा पनि उसलाई कसैले नउठाउँदा अवस्था निक्कै नाजुक भैसकेको थियो । एकजना बिरामी बोकेको एम्बुलेन्सले उनलाई उठाएर हस्पिटल भर्ना गरिदियो । हात गोडाको हड्डी भाँचिएकोले लामो उपचार गर्नु पर्ने भयो । तर उनी बेसहारा थिए । हस्पिटलले पैसा नभएपछि निकालिदिने अवस्था भएको बेला नजिकै बाबाको उपचारमा बसेका युवकले उनलाई सेवा गर्ने बाचा गरे र लागेको पैसा तिरे ।
दुबै बिरामीको संगै उपचार भयो । डिलुको १५ दिन पछि होस आयो । उनले श्रीमती र छोरा विपिनलाई सम्झिए । घरि घरी बर्बराउदा तीयुवकले सान्तवना दिदै भन्थे, “बाबा ! नआत्तिनुस्, अब सञ्चो हुन्छ र घर गइन्छ ।” बेलाबेलामा स्याहार संहार तथा खानपानको व्यवस्था युवकले गरिरहेका थिए । करिव ३ महिनापछि डिलु डिस्चार्ज भए । युवकले उसलाई आफ्नै घरमा लगे । अपसोच युवकका बाबाको निधन भयो । बाबाको निधनपछि युवकले डिलुलाई झन मायादिए । डिलुले डेरामा जानका निम्ति युवकसँग अनुरोध गरे । तर स्वस्थ्य नभैसकेको भनेर उनले जान दिएनन् ।
उता बेसहरा बनेकी रूपा सहाराको खोजीमा हिड्दै गर्दा त्यही काम गर्ने ग्यान्टेसंग बिहे गरी । विपिनलाई सन्तान नभएका मानिसले लगेर पढाए । ऊ डाक्टर भएर हस्पिटलको प्रमुख बन्यो । डिलुलाई फेरि रोगले च्यापो र युवकले हस्पिटल लगे । डिलुलाई तुरून्तै रगत चाहियो । युवकको रगत नमिलेकोले रगतको खोजीमा लागे । कतै नपाएपछि डा. विपिन संग अनुरोध गरे “रगत पाउन नसक्दा बिरामी बचाउन सकिएन । उपाय छ कि सर ?” ‘ओ पोजेटिभ रगत’ ल ल छिटो मेरो मिल्छ, तुरून्तै रगतदिए डाक्टरले । उनको काल टर्नपुग्यो । “उहाँ तपाईको बाबा ?” डाक्टरले सोधे ।“होइन सर । मैले अनयास भेटाएको ।” युवकले असजिलो मान्दै उत्तर दिए । विपिनले सबै कुरा बुझे । त्यही बेला डिलुको घरभेटी बिरामीभै पल्लो बेडबाट सबैकुरा सुनेर भने, “सर ! उसको नाम डिलु, याने तपाईको बाबा । ……..” विपिन कुरा सुन्दा सुन्दै डिलुलाई अँगालोमा हाली रून थाले । डिलुको अवस्था चिन्ताजनक थियो । भएसम्मको उपाय गरे युवक र विपिनले । डिलुले आँखाभरि आँसु बगाउदै एकोहोरो दुबैलाई हेरेर “म जस्तै दुखीहरूको सेवा गरी नाम कमाउनु ? यही नै ठूलो धर्महुनेछ ।………” भन्दाभन्दै डिलुले सदाका लागि आँखा चिम्लिए । रूवाबासी चल्यो । त्यसपछि डा. विपिन र युवक मिलेर असहाय बृद्ध तथा सहारा नपाएका मानिसहरूको सेवागर्ने संस्था खोली सबैको चेला बनेर जीवन बिताए ।
(भरतमणि भट्टराई चर्चित साहित्यकार हुन् ।)
[email protected]