समाचार

कहिले होला मैले पनि तिम्रोजस्तो कविता लेख्ने
खडेरी परे पनि सधैं बहार आयो भन्ने भन्ने
कागजस्तै कराउने कोइलीको बोली चोर्न खोज्ने
एकातिर जाल थाप्ने अर्कोतिर कनिका छर्ने
कहिले होला …………………………………….
वादल लाग्या देख्दा देख्दै झलमल्ल घाम लाग्यो भन्ने
कहिले खहरेझैं गडगडाउने कहिले चट्याङझैं बडबडाउने
पिपलको पातजस्तै ओल्टे कोल्टे फरफर्राउने
अरू धेरै शहिद भए पछि आन्दोलनको झण्डा मेरो भन्ने
मल, चिनी, नुन भित्राउँदा पनि पहिले ठूलो कमिशन खोज्ने
सित्तैमा पाए अलकत्रा पिउने, निकासी पैठारी केही नछोड्ने
हत्या, बलात्कार बढे बढोस् केवल गोहीको आँसु झार्ने
तह-तहको राजनीतिमा तह अनुसारकै भ्रष्टाचार गर्ने
कहिले होला …………………………………….
वाइड बडी, न्यारो बडी कहिले धमिजा काण्ड रच्ने
श्रीखण्ड, रक्तचन्दन कहिले जग्गादलाली गर्ने
भूकम्प गए पनि आफैं हसुर्ने कोरोना आए पनि कमिशन नछोड्ने
दुरुस्त बन्दै जनता सामु लामा–लामा भाषण छाट्ने
कहिले होला …………………………………….
नेपाल नेपाल जस्तै रहोस्, किन सिंगापुर, स्वीजरल्याण्ड भन्ने
आफ्नै भाइ भतिजालाई छानी छानी ठेक्कादिने
देश जनता रित्याएर आफैं धन थुपार्ने
ठूला ठूला ओहदामा आफन्तलाई भर्ना गर्ने
चुनाव भनी नाटक गर्ने, भोटको बाकस साट्ने
कहिले होला …………………………………….
अपराध गर्ने जेल जाने त्यसैलाई राजनीति भन्ने
आ- आफ्नो भरौटे बोलाई सयौ किलोको माला लाउने
देश घाती कामगर्ने आफैं झण्डा ओड्ने
गरुङ्गो थैली बुझाउन सके अन्यायलाई पनि न्याय भन्ने
कहिले होला …………………………………….
कोहीले बाँसुरी बजाउने, कोही सारंगी बजाउने
कहिले नौटंकी नाच देखाएर दुनियाँलाई हँसाउने
लामा-लामा भाषण गर्ने, जनतालाई बुध्दु मान्ने
आफ्नो स्वार्थ सिद्ध पार्न जनतालाई नै फसाउने
कहिले होला …………………………………….
(थापा चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]