मेरो सिर्जना - Aksharang
  • २०७८ जेठ ४ मङ्गलबार

मेरो सिर्जना

डम्बर बिकेल

डम्बर बिकेल

देशलाई राख्छु मनभित्र
नेपालकै कोर्छु म त चित्र
चित्र कोर्ने मेरो तिर्सना
कस्तो लाग्छ साथी मेरो सिर्जना ?

देशलाई आँखाभरि देख्छु
नेपालकै कविता म त लेख्छु
कविता लेख्ने मेरो तिर्सना
कस्तो लाग्छ साथी मेरो सिर्जना !

संसारमै स्वर्ग नेपाल पाउँछु
नेपालकै गीत म त गाउँछु
गीत गाउने मेरो तिर्सना
कस्तो लाग्छ साथी मेरो सिर्जना !

देशकै माटोमा सधैँ बाँच्छु
नेपाली माटोमै म त नाच्छु
नृत्य गर्ने मेरो तिर्सना
कस्तो लाग्छ साथी मेरो सिर्जना !

देशको सौन्दर्य सबैसामु खोल्छु
नेपालकै राम्रा कुरा म त बोल्छु
भाषण गर्ने मेरो तिर्सना
कस्तो लाग्छ साथी मेरो सिर्जना !


(बिकेल चर्चित साहित्यकार हुन् ।)
db.bikel@gmail.com