• २०८३ भाद्र ९, मंगलवार

‘संज्ञान विमर्श’ को बीसौँ शृङ्खला सम्पन्न

ललितपुर ।

पाटन संयुक्त क्याम्पस, नेपाली विभागद्वारा सञ्चालित ’संज्ञान विमर्श’ को बीसौँ शृङ्खलामा कवि विष्णु ज्ञवालीले एकल कविता वाचन प्रस्तुत गरेका छन् । कविता लेखनको नियमितता टुटे पनि आफूभित्र कविताप्रेम र त्यसप्रतिको हुटहुटी बाँचिरहेको धारणा व्यक्त गर्दै कवि ज्ञवालीले मुक्त तथा बद्ध लयमा आबद्ध विभिन्न विषयका नौ ओटा कविता प्रस्तुत गरे ।

कार्यक्रम सञ्चालक डा. हेम भण्डारीले ज्ञवालीलाई उन्नत चेतनाका प्रतिरोधी कविका रूपमा चिनाए । ज्ञवालीका कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्ने क्रममा विभागका सदस्य उपप्रा. गोकुल पोखरेलले पौराणिक मिथकमाथि प्रगतिवादी चिन्तन अन्तर्घुलन गर्दै नवीन दृष्टिकोण र शैली प्रतिपादन गर्ने सिर्जन सामथ्र्य नै उनको कविताको सौन्दर्यका रूपमा प्रकट भएको विचार व्यक्त गरे । उनले ज्ञवालीका कवितामा नागर सभ्यताप्रतिको वितृष्णा, क्रान्तिबाट पलायन हुने प्रवृत्तिप्रति असहमति, जनताका पीडाव्यथा, शासकको अत्याचारी शैली, परिवर्तनप्रतिको सङ्कल्प, पुरुष अहम् तथा प्रणयको अनुराग अभिव्यञ्जित भएको प्रस्ट्याए ।

अङ्ग्रेजी विभागका विभागीय प्रमुख प्रा. डा. भरत उपाध्यायले ज्ञवालीका कविताले जनताको अन्तरमन टिप्ने सफलता प्राप्त गरेको टिप्पणी गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कवितामार्फत परिवर्तनका पक्षमा ज्ञवालीले वशिष्टि सङ्कल्प सार्वजनिक गरेको धारणा राखे । विभागका अन्य सदस्यहरू उपप्र। शोभा चापागाईं बराल, उपप्रा. शेषनाथ पौडेल, उप प्रा. डा. शारदादेवी लामिछाने, उपप्रा. महेन्द्र वाग्ले तथा अङ्ग्रेजी विभागका हिमाल गिरीले ज्ञवालीको कवितामा प्रकटित चेतनाको प्रशंसा गर्दै सिर्जनायात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गरे ।

अतिथिका रूपमा उपस्थित वाल्मीकि विद्यापीठका उपप्रा. तेजविलास अधिकारी र साहित्यकार शेखर अर्यालले ’संज्ञान विमर्श’ को थालनी, यात्रा र भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै ज्ञवालीको सचेत काव्ययात्राको निरन्तरताको कामना गरे । विभागीय सदस्य डा. महानन्द जोशीको सभाध्यक्षतामा सञ्चालित यस कार्यक्रममा विशेष अतिथिका रूपमा सहायक क्याम्पस प्रमुख डा. जीवनकुमार श्रेष्ठ उपस्थित भएका थिए ।