कविता
अब के गर्छौ ??
म एक नारी हुँ,
संकुचित मातृनजर भन्दा बाहिरबाट जन्म पूर्वनै
अबला बनाइएकी म,
एक मुठी सास रहुन्जेल तिम्रो आँखाको
बादल हटाउन खोज्ने म,
मातृत्वको स्नेहप्रति पनि जहर घोलेर
कतै पर फ्याँकिएकी म,
साँच्चै नै धेरै पर पुगिसके,
आफ्नै सपनाको संसारमा,
अब के गर्छौ ???
छोरी हौ,
आफूलाई चिन्न र बुझ्नसमेत
नजानेको बेला मलाई,
पराई मानवलाई चिनेर इशारामा चल्न भन्यौ,
म उनीहरूले भने बमोजिम
चल्न सिक्दै थिएँ
फेरि पाउहरूमा कु-संस्कारका नेल गाडेर
दौडिन लगायौ, संसार जित्ने खेलमा,
तब मैले आफ्नै पुरानो रफ्तारमा
दौडिन चाहेको हुँ,
जुन मेरो औंला पकडेर उभिन सिकाउने
देवी तुल्य आमाबाट सिकेको थिएँ
पाइला पाइलामा मेरो
हँसिलो स्वेतपन्ना जस्तो मुहारमा
विभेदका रंगहरू फ्याँकिए पछि,
म तिनै रंगहरू बटुलेर क्यानभास सजाउन पुगेँ
अब कसरी फर्काउँछौ
आफैंले फ्याकेका रंगका पोकाहरू ।।
यसो पैतालाहरू शिखरहरू तर्फ
उक्लिन खोज्दै थिए,
अकस्मात नारी हौ
धर्ती जस्तै सहनशिल बन्नु पर्छ भनेर
पैताला जमिनमा राख्न लगायौ,
फेरि वर्षौ पछि उ त्यो अन्तरीक्ष यात्रीलाई
देखाएर तेरो क्षमता छैन भन्न थाल्यौ,
त्यस पछि नै हो मैले आफ्नो सपनाको
अन्तरीक्षमा डुल्न थालेको,
मलाई प्रगतिशील बन्छे भनेर थुनामा कैद गर्ने
तिम्रो आवाज खै त आफ्ना सन्ततिमा
लागू गर्न सकेको ??
महिनाबारी सृष्टिको चक्र हो भनेर जान्दा पनि
बुझ पचाएर अछुतको भाला रोपिरह्यौ,
खै त मेरो घरमा रोगले म स्वयं ढल्दा
नाबालक बच्चा र वृद्धसमेतलाई
जाउलो पकाइदिन त तिमी कहिले
आएनौ ??
किशोर अवस्थामा म कुनै कारण ढिला घर आईपुग्दा
मेरो समस्या भन्दा पहिले मेरो नैतिकतामा प्रश्न तेर्स्याउने,
ए,
समाजको अगुवा तिमी,
तिम्रो आफ्नै
त्यही उमेरमा सन्तानले दुनियाँकै र तिम्रै अगाडि
प्रेमका रंगहरूमा चुर्लुम्म डुबेको खबर पाउँदा,
तिम्रा ओठहरु मौन किन रुरुरु
तिमी आफ्नो सन्तानको एक एक खुसीको
साँची हुन रहर गर्ने रहेछौ,
फेरि किन म र मेरो जीवन हाँस्न खोज्दा
त्यति धेरै उत्पात पीडा पोख्यौ रुरु
समाजनै तिम्रो हातको इशारा हो जस्तो गरेर
अगुवा बनेर,
खान आँटेको गाँस मात्र होइन
एउटा सच्चा हाँसो,
पूर्ण र प्रष्ट बोली,
लगाएको शालिन कपडा,
हिंडेको सुस्त चालमा समेत अंकुस लाएर
निरंकुश संस्कार जोड्ने तिमी
आज खुलेआम तिम्रो आफ्नो सन्तान,
समिपमा रहेकाले सिमापारीबाट
पारदर्शी बस्त्र लगाउँदा पनि
संजालमा वाह वाह गर्दै
कमेन्टका भारी बर्साउँछौ किन ?
के तिम्रो कडा संस्कार पनि
शक्ति र समय अनुसार बदलिन्छ र ?
जसलाई बुझाउन मैले आँसु मुस्कान र
नम्र भाव खर्च गर्दा पनि नबुझ्ने तिमी
आज कति छिटै बुझकी र आधुनिक भएछौ !!
बधाई छ तिमीलाई
तिम्रो कुटिल चाललाई
आफ्नो सन्तान हँसाउने,
अरुको रुवाएर अपार आनन्द लिने
तिम्रो विवेकहिन कठोर मस्तिष्कलाई ।।
घन्टौं काम गरेर थाकेका नजरहरू बिच पनि
मलाई शब्दलेसम्म मल्हम लगाउन नसक्ने तिमी,
कति छिटो आफ्नो सन्तानको
सानो दुस्खमा आँसुको सागर बगाउने बनेको रहेछौ,
ओहो १
तिम्रो कुटिल चालहरू उनीहरूले कहिले नबुझुन,
नेदेखुन अनि नहेरुन्
यहि नै समाजको अगुवा, अदृश्य कुटिल
मान्यजन तिमीलाई मेरो कामना !!
जीवन भरी मलाई त्रासका बाछिटाहरूमा डुब्न लगाउने
तिम्रा पापका अग्नि कुन्डलाई अब आफ्नै नजरबाट कसरी छुपाउँछौरु
ती त्रास र विभेदका रंगहरू
जसलाई मैले छोरी भएर जन्मदादेखि
सुरु भएर पराई आँगन टेक्दासम्म
समाज नामको शाषक वर्गमा देख्न पाएँ,
जुन धेरै नजिकको साइनो भनिएकोमा पाएँ ।।
अब गुनासो रहेन, त्यो विकराल समयसँग
किनकी उनीहरूले आफ्नै सन्तानलाई
स्नेह र स्वतन्त्रताको वर्षात् गराएर
परिभाषित गर्दै छन् कि
मेरो र मेरो जननीका विचारहरू गलत थिएनन,
बस् उनीहरूको स्वार्थ पूरा गर्न मात्र हामी चुकेका थियौ,
हाम्रो समय कमजोर थियो,
स्वार्थिहरूका अदृश्य गरुंङ्गो चाहना पूरा गर्न ।।
र नै
यत्र तत्र संस्कार, लैंगिकता र औकातका औजारहरु प्रयोग भए,
जसले मेरो सुन्दर सपनालाई धमिलो बनाए
तर आज अझै
उज्यालो संसार स्वयं निर्माण गर्न सिकाए ।।
सुशिला शर्मा शिलु