• २०८० असोज ९ मङ्गलबार

नदी किनारमा

बसन्त चौधरी

बसन्त चौधरी

बिदा हुँदैहुँदै गएको त्यो घाम
फर्किएर आइरहेका डुङ्गा
पन्छीको फिर्ती उडान
अलिक पर क्षितिजबाट
ओर्लिरहेको साँझ
म एक्लै छु प्रकृतिको साथ
पश्चिमी काखमा
पहेँला घामका किरणहरू बसे
गर्दै दिनको अन्त्य
जूनताराले आउन कम्मर कसे
नदीकिनारको यो पल
म एक्लै छु प्रकृतिको साथ

घाम र रातको त्यो सुमधुर आलिङ्गन
सन्ध्या र दिनको मधुर क्षण
हृदयमा यौटा दियो जल्यो
जीवनको यौटा दिन ढल्यो
पश्चिमी काखमा
पहेँला घाम बसे
नदीकिनारको यो पल
म एक्लै छु प्रकृतिको साथ

सुस्तसुस्त विस्तृत भयो अँध्यारो
प्रकृतिलाई घुम्टो ओढायो
त्यो कालो
आकाश चमचमाउँदै
बुट्टा बने
आफ्नै छायाँ
रातसँगसँगै बदलियो
जीवनको यौटा घाम डुब्यो
आफ्नै प्रक्रियाले बग्यो

बगिरह्यो
असमर्थताका हरेक
पलहरू स्मृति बने

बसे मनमा
रात आफैँमा मस्त हिँडिरह्यो
जीवनको यौटा जुन डुबाउन

नदीकिनारको त्यो पल
म एक्लै छु प्रकृतिको साथ ।।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)