यो लेखिरहेको समयमा मैले मेरो बिहेको ३७ औँ वर्ष पूरा गरेको छु । म अमेरिकामा बस्छु । संयोग, मेरो अमेरिकी साथीले आफ्नो पाँचौँ बिहे भर्खरै सक्यो । लगभग ऊ मेरै उमेरको हो । तुरिया हो । दौँतरी हो । बिहेमा उसका चार पूर्वपत्नीहरू आ–आफ्ना श्रीमान्सहित फूलको गुच्छा लिएर शुभकामना दिन आएका थिए । ऊसँग गाला जोडेर म्वाइ खाइरहेका थिए । वातावरण एकदम रमाइलो थियो । कतै कुण्ठा थिएन । कतै अपहेलना थिएन । म भने एउटा कुनामा चुपचाप बसेर यो दृश्य हेर्दै थिएँ । मेरा भने मन किनकिन अमिलो भइरहेथ्यो ।
इतिहासको विद्यार्थी भएकाले पनि होला, त्यतिखेर मेरा दिमागमा एकाएक पहिलेको नेपालको जार काट्न पाउने कानुनको सम्झना आएको थियो । जारी लेनदेन गरेको त मैले पछिसम्म देखेको थिएँ । पोइल गएकी श्रीमतीको स्थान निकै प्रगतिशील तथा क्रान्तिकारी भन्ने नेपालीका घरमा अहिले पनि पानी बाराबार नै हुन्छ । वर्जित नै हुन्छ । पुरुष जोइल गएमा भने सामान्य समस्या मात्र हुन्छ । यो सामाजिक प्रक्रिया बडो जटिल छ । महिला अस्मितालाई यौनशुद्धतासँग जोडेर हेरिने सामाजिक परिपाटीलाई नजिकबाट देखेको, भोगेको र आदर्श ठान्ने समाजकै प्रतिबिम्ब हुँ म । त्यसैले यही पृथ्वीको एउटा गोलार्धमा रहेको अमेरिकाको त्यो दृश्य देखेर म नेपाल परिकल्पना गर्दैछु। मेरो देश परिकल्पना गर्दैछु । मेरो समाजको परिकल्पना गर्दैछु । नेपालभित्र पुग्दैछु।समाजले बनाइदिएको यौन, बिहे, सन्तान र स्वच्छताको धरातलबाट समाजलाई सम्झिरहेको छु । तुलना गरिरहेको छु ।
मेरो आफ्नै बिहे गर्दाका कहरहरू दिमागभरि आइरहेका छन् । आफ्नै बिहेका किस्साहरू आइरहेका छन् । म मेरा हजुरबाको बुढेशकालको एउटा मात्र छोरोको जेठो नाति हुँ । यस वाक्यले बुझिसक्नु भयो म घिउको लड्डु थिएँ । हजुरबा, हजुरआमा, बुवा तथा आमाको एकदम प्यारो थिएँ । साँच्चि, आमभन्दा विशेष प्यारो थिएँ । समय अलि पुरानो नै थियो । स्वाभाविकरूपले बिहेको रहर मलाईभन्दा हजुरआमा, बुवाआमा र आफन्तलाई बढी थियो । म १६ वर्षको भएपछि नै बिहेको लागि उमेद्वार बनाइएको थिएँ ।
हजुरबुबालाई भने यी विषयसंसारले केही छुँदैनथ्यो । मेरो बिहेसँग पनि उहाँलाई कुनै मतलब हुन्थेन । बरु उहाँ मलाई ‘कहिल्यै बिहे नगर्न’ सुझाउनु हुन्थ्यो । भन्नु हुन्थ्यो–‘यो संसार विषयभोगमा निर्लिप्त छ । बिहे, सन्तान यी सबै जीवनकाठिँगुरा हुन् । योबाट मुक्ति ज्ञान हो । भगवानको भक्ति हो ।’
स्वाभाविक छ, मैले हजुरबाले दिनुभएको अर्ती मानिनँ । मान्ने कुरा पनि थिएन । एसएलसी दिएको साल थियो २०२९ । म भर्खर १५ पुगेर १६ लागेको थिएँ । रिजल्ट पर्खेर बसेको थिएँ । यसै वेला मेरा लागि बिहेको पहिलो औपचारिक प्रस्ताव आएको थियो । एसएलसी भन्दा माथि पढाइदिने प्रलोभन सहित आएको थियो । यो प्रलोभन सायद बाबुआमालाई जँचेको पनि हुनसक्थ्यो । तर मैले नकारेँ । मेरा जुँघाले घनत्व पाएकै थिएनन् । रेखी बस्न र बाक्लिन थालेका थिए । आफैँलाई अचम्म लाग्थ्यो कि के मेरो बिहे गर्ने वेला भयो त ? यद्यपि बिहे केका लागि गर्ने भन्ने कुराको सैद्धान्तिक ज्ञान पाइसकेको थिएँ । आफूभन्दा अलि पाका विवाहित अुनभवी साथीहरूले सो ज्ञान सित्तैमा दिइसकेका थिए । यौनिक तरङ्ग नआएको होइन तर मैले मानिनँ । खोई किन मानिनँ अहिले मलाई कुनै रहस्य थाहा छैन । सायद ममा आँट थिएन होला जस्तै लाग्दछ । किनभने उन्नत जीवनको कुनै कल्पना पनि थिएन । राम्रो कुटुम्ब गुमाएकोमा अलिकति खप्की भने खाएँ होला । र पनि वार कि पारको दबाब परिवारबाट आएन । यदि यस्तो दबाब भएको भए मैले बिहे गर्नैपथ्र्यो । त्यसैले बिहे हुनबाट जोगिएँ ।
तर यो कुरा यतिमा सकिएन । एसएलसी दिइसक्नु भनेको तत्कालीन मेरो परिवेशमा शिक्षाको पर्याप्त डिग्री थियो । त्यसकारण समाजका आँखामा मेरो बिहे गर्ने उमेर भइसकेको थियो । प्रायः सबै आफन्तहरूले केटीको कुरो बग्रेल्ती बोकेर ल्याए । पहाडबाट ल्याए । मधेसबाट ल्याए । प्रलोभनसहित पनि आए । तर मैले ढिम्किन दिइनँ । परिणाम के भयो भने सबै आफन्त थाके । म राजविराज कलेज पढ्न गएको वेला पनि बिहेका धेरै प्रस्तावहरू आए । मैले टेरिनँ । जब्बर भएँ । आफन्तका प्रस्ताव एकदम नकारेँ । बिहेको सवालमा मसँग सबै आफन्त रिसाए । ‘कस्तो ल्याउँदो रहेछ, हेरौँला’ भनेर दागा धर्न थाले ।
अहिले म सोचिरहेको छु कि म हजुरबा–हजुरआमा, बुवा–आमाको आज्ञाकारी नाति/छोरा थिएँ, तर मैले किन त्यो वेला बिहेका प्रस्तावहरू नकारेँ ?म बोध गरिरहेको छु कि मभित्र ‘स्वास्नी पाल्नुपर्छ’ भन्ने पुरुषवादीय संस्कृति हावी भएको थियो । र त्यो ‘स्वास्नी पाल्ने’ हुति ममा पक्का थिएन । हुनत त्यतिवेला मात्र होइन अहिले पनि यो पुरुषवादीय संस्कृति जब्बर नै छ । बिहे गर्नु भनेको स्वास्नी पाल्नु भन्ने अर्थ लगाइँदैछ । त्यसैले आफ्नी छोरीका लागि धनमा, मानमा, शिक्षामा छोरीभन्दा अब्बल ज्वाइँ खोज्ने प्रचलन सभ्य तथा प्रगतिशील भन्ने परिवारमा पनि विद्यमान छ । यौन, बिहे र सन्तानलाई एउटै डालोमा हाल्ने वर्तमान नेपाली परम्पराको थोरै पनि विरोध गर्यो भने खप्की खान माथा थापे हुन्छ ।
कलेज पढ्ने वेलामा म अठार वर्षको उमेर पार गरेको थिएँ । स्वाभाविक रूपमा बैँसले शरीरलाई कुतकुत्याउन थालेको थियो । सिराने च्यापेर ओल्लो कोल्टो पल्लो कोल्टो फर्किने क्रम चलेकै थियो । कलेजमा आफ्ना केटी साथीसँगका सामान्य वार्तालाप र सामान्य छुवाइले पनि विशेष झन्कार दिन थालेकै थिए । कल्पनामा उनीहरू थिए । उनीहरूसँग घरबार गरेको सपना देखिएकै थियो । सायद यो नै लभ थियो । अझ भनूँ भने अव्यक्त लभ थियो । त्यो लभलाई व्यक्त गर्ने आँट यो बिचरो ममा के पो हुन्थ्यो र ? कसरी पो हुन्थ्यो र ? बिए पढ्दाका दौँतरीलाई त्यसै छोडी उकालो लागेँ पहाडतिर । यो भनेको बिहेको मामलामा हिरा छोडेर फलामको तलास भने झैँ थियो ।
दुर्छिममा निमित्त हेडमास्टर भएर जागिर खाँदै गरेका बखत डिल्लीशेर राईले राइनी नै बिहे गराउन प्रयास गर्नुभएको थियो । त्यो मैले मानिनँ । अनि त्यतैतिरका बाहुनीका कुराहरू आउन थालेका थिए । तर मेरो जागिर खुस्किहाल्यो । र म यसरी मधेस हुँदै एउटा भविष्यको खोजीमा काठमाडौँतिर लागेको थिएँ । बिहेका प्रस्तावले लघार्ने क्रमको पनि अन्त्य भएको थियो ।
तिनताक मेरा पिताजी मलाई ‘तेरी स्वास्नी पाल्न सक्तिनँ, जहिले पाल्न सक्ने हुन्छस् त्यही वेला बिहे गर्नू’ भन्न थाल्नुभएको थियो ।
यसको एउटा मनोवैज्ञानिक कारण थियो होला जस्तो लाग्छ । किनभने त्यस समाजमा मैले धेरै पढिसकेको थिएँ । बिए पास भनेको चानचुने कुरा थिएन त्यो वेलाको मेरो समाजमा । म आफन्त समाजको पोथ्राका बीचमा उभिएको एक्लो टिङ्रिङ्ङे बाँस भएको थिएँ । अब मेरी आउने श्रीमतीले घाँसपात, खेतीपाति गर्ने सम्भावना सायद बुवाले देख्नु भएन । अनि मलाई उक्त कुरा भन्नुभएथ्यो जस्तो लाग्छ । खेतीकिसानीका सुसेधन्दा नगर्ने खालकी बुहारीको अब खासै काम पनि थिएन सायद । तर बुबाको त्यो कुरा मेरा लागि निकै चुनौतीको विषय थियो । अब सबै आफन्तले मलाई भन्न थालेका थिए– यसले धेरै पढ्यो, अब हामीले खोजेको केटी बिहे गर्दैन । सायद यो मनोविज्ञानले काम गरेको हुनसक्छ, मलाई त्यसपछि कहिल्यै पनि आफन्तबाट ‘अब बिहे गर’ भन्ने दबाब आउन छोड्यो ।
म काठमाडौँ पुगेपछि मारवाडी व्यापारीकोमा काम गर्नथालेको थिएँ । खालि मारवाडी समुदायसँग मात्र सम्पर्क हुनथाल्यो । काठमाडौँको रैथानेसँग सम्बन्ध हुने कुरा पनि थिएन । सम्बन्ध भए पनि उनीहरूले म तराईमधेसको सिङ्गो र बुङ्गो केटोलाई गुदान्ने कुरा पनि थिएन । तर सायद काठमाडौँ पुगेपछि त्यहाँको कङ्क्रिटभित्रको कोलाहल एकान्तले जीवनसाथी खोज्न थालेको थियो होला । त्यसैले ममा बिहे गर्ने रहर चुलिन थालेको थियो । उमेर त यसै भएको थियो उसै भएको थियो । त्यसवेलाको मानसिकतामा म बूढो नै भइसकेको थिएँ बिहेका लागि ।
एउटा घटना सम्झन्छु, जसले मलाई अब बिहे गर्नुपर्छ भन्ने बोध भयो, त्यो घटना थियो पोखरा घुम्न जाँदाको । कुमार दाजु, भाउजू सीतासहित, छोरीहरू रेनू र बेनू तथा शशी र म पनि मनकामना र पोखरा घुम्न गएका थियौँ । कुमार दाजु अति मनकारी, सरल र मर्मदर्शी हुनुहुन्थ्यो । उहाँले आफ्नै खर्चमा मलाई पनि घुमाउनु लैजानु भएको थियो । नत्र त मैले त्यस घुमाइको फजुल खर्च कहाँ पाउनु ?मारवाडी व्यापारीको लिखा टिपे जागिर थियो । के पिताम ?त्से क्रममा पोखरा महेन्द्र चौकको एउटा होटलमा बास बसेका थियौँ । शशी र म एउटा कोठामा सुतेका थियौँ । भोलिपल्ट बिहानै सीता भाउजू हाम्रो कोठामा आउनु भयो । उहाँ नुहाइसकेर आउनु भएको थियो । मेरो पाखुरा मेरी आमाले झैँ माया गरेर सुमसुम्याउनु भएको थियो । मेरो सिकुटे र स्याहार नपुगेको पाखुरा देखेर उहाँले भन्नु भएथ्यो– अब बिहे गर्नु बाबु, हेर्नु त यी पाखुरा ।’ म यो घटना सम्झन्छु । त्यो वेला आफैँलाई टिठ लागेर आएथ्यो । परिणाम मभित्र रहेको बिहे गर्ने रहर झन् जब्बर भएर पन्पिएको थियो ।
बिहेको प्रसङ्गमा सम्झेको एउटा कुरो म रामराजु नायडुको दोकान कालिमाटीमा काम गरिरहँदाको पनि हो । मसँग रिटायर्ड लप्टन कृष्णबहादुर बस्नेत पनि रामराजु नायडुकोमा काम गर्नुहुन्थ्यो । उहाँले पनि मेरो बिहे गर्न जोड गर्नुभएको थियो । उहाँले आफ्नी सानिमाकी छोरीजस्तो लाग्छ, मच्छे गाउँकी एक बिएड पास कन्यासँग बिहे गर्न भन्नुभएको थियो । किनभने मेरो विचार त्यो वेला बिए पास केटीसँग बिहे गर्ने थियो । त्यो ठ्याक्कै यस्तो वेलामा परेको थियो कि कमलाकान्त भिनाजुले मलाई राजविराजमा मेरै सहपाठीसँग बिहे गर्नुपर्छ, म कुरा गर्छु भन्नुभएको थियो । अर्थको अनर्थ नलाउने हो भने मेरै सहपाठी मलाई मननपर्ने कुरै थिएन । तर जुनवेला कमलाकान्त भिनाजुले कुरो लैजानु भयो, त्यो वेलाढिलो भइसकेको रहेछ । म भिनाजुको जवाफ पर्खिबसेँ । तर जवाफ आएन । त्यो वेला अहिलेको जस्तो फोन सुविधा पनि थिएन । दसैँमा जाँदा पो भिनाजुले कुरो नमिलेको कथा बताउनु भएको थियो । मैले यसलाई स्वाभाविक ठानेको थिएँ । किनभने समयले सधैँ एउटै अवसर घुमाइफिराइ त कुनै हालतमा पनि कसैलाई दिँदैन नि । दसैँको लगत्तै काठमाडौँ पुगेपछि मैले कृष्णबहादुर लप्टन साबलाई सबै कुरा सुनाउँदा उहाँले थक्कथक्क गर्नुभएको थियो । किनभने उहाँकी सो बहिनीको कुरा छिनिएको केही दिन मात्र भएको रहेछ । त्यसैले मेरो बिहेको सवालमा यता पनि फुस्क्यो, उता पनि फुस्क्यो । न चिची भयो, न पापा भयो ।
फेरि लप्टन साबले उहाँकै अर्कै आफन्तको कुरो ल्याउनुभयो । मलाई बिए पास केटी चाहिएको थियो । टेकुतिर घर रहेछ । ‘तपाईंहरू तराईको मान्छे, दाइजोको कुरा पनि आउन सक्छ । तर उनीहरूको आर्थिक अवस्थानिकै कमजोर छ । राम्रोसँग बिहे पनि गर्न सक्तैनन् । केराका पातमा खुट्टा धुन्छन् । पहिले यस कुरामा निश्चित हुनुहोस्’ भन्नुभएको थियो । लप्टन साबले परबाट घर देखाउनुभएको थियो । मेरो तराईको घरको हिसाबमा त्यो कटेरो थियो । तर केटी कीर्तिपुरमा इतिहासमा एमए पढ्ने र कुनै बोर्डिङ्मा पढाउने भएकाले म आकर्षित भएको थिएँ । फेरि मलाई त बिहे गर्न आतुरी भएको पनि थियो । मैले एउटा साथी लिएर कीर्तिपुर क्याम्पसमै गएरै सुटुक्क केटी हेरेँ । लप्टन साबले ‘राम्री छैन है’ भन्नुभएको थियो । नभन्दै नेपाली मान्यताअनुरूप शारीरिकरूपमा त्यति आकर्षक होइन रहेछ । सिकुटे पातली, काली काली र अनुहार अलि नमिलेको र फुङ्ङ उडेको देखिने । त्यसवेलाको समाजलाई सोध्ने हो भने निकै नराम्री । साथीले मलाई भनेका थिए– त्यस्ती पनि के बिहा गर्नुहुन्छ यार ? तपाईं यस्तो काँक्राको चिराजस्तो ६ फिटे हुनुहुन्छ । पर्खिनुपर्छ, राम्रै पाइहालिन्छ नि !हतार किन गर्नु ?
तर मलाई बिहे गर्नु थियो । मेरो विचार तथा प्राथमिकतामा राम्री थिइन, बिए पास थियो । मनमनमा लागेको थियो, राम्री नै पनि किन चाहियो र जीवनसाथी । मन राम्रो भए भइहाल्यो नि । सायद म अलिकति आदर्शवादी भएको थिएँ । त्यसैले साथीको इच्छालाई बेवास्ता गरेर मैले ‘हुन्छ’ भनिदिएँ । साथी त मसँग रिसायो पो । अनि केटीपट्टिका मान्छे बाउ सहित मलाई हेर्न दोकानमा नै आए । त्यो वेला लप्टन साहेब दोकानमा हुनुहुन्थेन । केटीपट्टिका सँगको मेरो अन्तरवार्ता झन्डै यस्तै थियो:
‘घर ?’
‘सप्तरीको रूपनगर ।’
‘दाजुभाइ ?’
‘६’
‘काठमाडौँमा घर ?’
‘छैन ।’
‘घडेरी ?’
‘छैन ।’
अनि उनीहरू गएका थिए । पछि खबर आयो । म रिजेक्ट भएको थिएँ । तिनताक उपत्यका बाहिर छोरी दिनु भनेको खोलामा फालिदिनु हो भन्ने मनोविज्ञान थियो काठमाडौँमा । टुडिखेल नकटेका मान्छे पर्याप्त थिए उपत्यकामा । त्यसैको सिकार भएँ म । लप्टन साबले तुरुन्तैपछि मलाई भन्नुभएथ्यो– सोझो त सोझो तपाईं । तर ज्यादै सोझो । एउटा घडेरी काठमाडौँमा छ भनेर भनेको भए, घडेरी नै हेर्न जाने त थिएनन् नि । काठमाडौँमा अलिकति गफ पनि लाउनुपर्छ, बाँच्न ।
उहाँका काठमाडौँ खाएका अनुभवी ज्ञान थिए मेरा लागि । तर के गर्नु समयमा भन्न सकिएन । बगेको खोला र मुखबाट निस्केको बोली फेरि फर्केर आउने कुरा थिएन । यस घटनाले मलाई बिए पास केटी पाइन्न भन्ने लाग्न थालेको थियो ।
त्यही वेला म एमए प्राइभेट र एक वर्षे बिएडको नियमित विद्यार्थी थिएँ । मेरा साथी नारायण धमला मेरो बिहे गराउन निकै लागिपरेका थिए । अर्का एकजना साथीकी भान्जी दुई वर्षे बिए पढ्ने रहिछिन् । मलाई देखाए । होची तर गोरी । मङ्गोल कटको अनुहार । अमिताभ–जयाको जोडी देखिने थियो । जे भए पनि मैले हुन्छ भनिदिएँ । उनले पनि मलाई देखेर ‘हुन्छ’ भनेको खबर पाएको थिएँ । त्यसको केही दिनपछि नै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव थियो । म अखिलको भनिएको मान्छे थिएँ । उनी त क्याम्प फेरेर नेबिसङ्घको प्रतिनिधि बसेको देखेपछि उनका मामाले नै यो बिहे हुन दिएनन् । मैले त ‘के फरक पर्छ र !’ पनि भनेको थिएँ । उनले ‘फरक पर्छ नि जिन्दगी बिताउने कुरा हो । ख्यालख्याल हो र ?’ भनेपछि कुरा सकिएको थियो । राजनीतिक आस्थाको कारणले त्यो वेलामेरो कुरा बिग्य्रो । मेरो घर बस्नै पाएन ।
यसरी बिए पास केटी बिहे गर्ने मेरो सपना साकार भएको थिएन । यसवेलासम्म मेरो बिए पास गरेकी केटी बिहे गर्ने इच्छा मरिसकेको थियो । त्यो सम्भव थिएन । एरेन्ज म्यारिजमा मलाई बिए पास गरेकी केटी दिनु असम्भवजस्तै थियो त्यो वेला । अनि यसै तन्द्रामा आफूले कलेज पढ्दाका केटी साथीहरूलाई सम्झेर चुकचुकाउनुबाहेक केही विकल्प थिएन । धेरैवटा बिए पासका सुशील सम्भावनाहरू मेरो नजिकैबाट गइसकेका थिए । ती खहरेझैँ अब फर्किनेवाला थिएनन् । छेउको सियो माझैमा आउनेवाला थिएन । अनि मनमनै आफैँलाई धिक्कारेको थिएँ– थुइक्क, अलिकति आँट गर्न सकिनस् त । लाटा, समय फेरि दुरुस्त कहाँ फर्किन्छ र ?
जीवनमा जम्मा एउटा बिहे गर्नुपर्ने, त्यसमा म असफल भइसकेको थिएँ । म यस्तो वयस्क थिएँ, जसलाई बिहे गर्ने केटी अर्काले खोजिदिनुपर्ने थियो । अर्काले यो केटी बिहे गर भनेर भनिदिनुपर्ने परिवेश थियो । पश्चिमा अर्थमा भन्ने हो भने म अचम्मको हास्यको पात्र थिएँ ।
त्यसपछि दाजुहरूकी कान्छी सालीले एसएलसी पास गरेको कुरा आउन थाल्यो । त्यो कुरा सोझै, जिस्क्याएर वा घुमाएर आउन थाल्यो । मेरा दिमागमा पनि बिहेको सनक निकै तीव्र भएको थियो । सनक मात्र होइन शारीरिक, मानसिकतथासामाजिकरूपले पनि आवश्यक भइसकेको थियो । यस्तो संयोगका वेला कमलाकान्त भिनाजुले मेरो दिमागमा बिहेको लागि दाइहरूकै कान्छी सालीको कुरो मेरो अन्तरकुन्तर छामेर दह्रोसँग हालिदिनु भयो । त्यसभित्र अनन्त सम्भावना र अपरिमित आशा थिए । अनि दाजुहरूकै कान्छी साली सुशीलाले एसएलसी पास गरेकाले ‘पढाए त पढ्लिन्’ भन्ने लागेर म बिहे गर्न तयार भएँ । २०४० साल फागुन ६ गते हाम्रो बिहे भयो ।
यसको पनि कथा छ । हाम्रो बिहेलाई लभम्यारिज भन्ने गर्छन् आफन्त । तर खासमा कुरो त्यस्तो होइन । २०३८ सालको माघमा म काठमाडौँ पुगेको थिएँ । स्वाभाविकरूपले भान्दाइको घरमा बसेको थिएँ । त्यसको केही दिनपछि भान्दाइकी कान्छी साली सुशीला पनि काठमाडौँ घुम्न पुगेकी थिइन् दिदीसँग । भेट त्यहीँ भएको हो । त्यहीँ चिनिएको हो । मलाई उनका हात र गोडा खुब मन पर्थे । हाँसेको पनि खुव मन पथ्र्यो । अनि यसो ‘साली’ भनेर जिस्क्यायो भने झनक्क रिसाउने बानी झन् मन पथ्र्यो । उनी त फर्केर झापा गइहालिन् । यता ममा बिहे गर्ने सनक चलेकै वेला जमुना दिदी र कमलाकान्तको वार कि पारको प्रस्तावमा म वार भएको थिएँ । यसरी अलिकति मागी, अलिकति एकतर्फी मन पराइ, अलिकति परिवेश आदिले गर्दा हाम्रो बिहे भयो । मेरो बिहेको कथा सकियो । संयोग हो भने पनि सकियो । लेखान्त हो भने पनि सकियो । र यहाँसम्म निर्बिघ्न तानिएकै छ जिन्दगी । तर म सम्झिरहेको छु । मेरो अमेरिकी साथीलाई एकदिन सोधेको थिएँ– किन तिमीले श्रीमतीहरूसँग डिभोर्स गरेको ?
उसले हाँसेर जवाफ दिएको थियो– पहिलीेश्रीमतीसँग मेरो विचार मिलेन । विचार नमिली झगडा गरेर बस्नु जिन्दगीलाई नर्कमा हाल्नु हो । दोस्रीले मलाई डिभोर्स दिएकी हुन् । उनलाई दिने पर्याप्त समय मसँग थिएन । तेस्री फजुल खर्ची थिइन् । मैले जति काम गर्दा पनि उनको फुर्माइस पुर्याउन सकिनँ । अनि डिभोर्स गरिदिएँ । चौथीलाई मिडिलइस्टको अर्को केटो मन पर्यो भनिन् । अनि हामीले राजी खुसीले डिभोर्स गरेका हौँ ।
म मनमनमा कुरा खेलाइरहेको छु कि ऊ आफ्नी श्रीमतीसँग कुरा नमिल्नेबित्तिकै डिभोर्स गर्न पाउँछ र फेरि अर्की बिहे गर्छ । श्रीमान् श्रीमतीको द्वन्द्वमा धेरै दिन ऊ टाउको दुखाउँदैन । ऊ भन्छ– जसले जे भने पनि जन्मने र मर्ने सँगै होइन । यो बीचको दुई दिनको जीवनलाई किन ज्वायफूल नबनाउने ? र म यही कुनामा बसेर आफैँलाई सम्झँदै छु । मेरो बिहे समाज लागेर गराइदिन पर्याे, मैले आफैँ गर्न सकिनँ । अनि सात जुनीको बाचाबन्धन भन्छ शास्त्र । एकदम इमानदारीका साथ भन्छु, सात जुनीको कुरा छोडिदिऊँ, मेरो र मेरी श्रीमतीको कुरा नमिलेको अनगिन्ती समय र घटनाहरू छन् यही जुनीका । तौलिया चिस्याएर बेडमा फालिदिएकोदेखि गहना नहालिदिएकासम्मका अनेकन गुनासा छन् । नमिल्ने विषय छन् । कारण÷बेकारण सयौँपल्ट ठ्याकठुक भएको छ । रिसिएर घन्टौँ नबोलेको पनि छ । तर पनि सत्ते सत्ते, यो मेरो पुरुष मनमा श्रीमतीलाई डिभोर्स गरेर अर्की ल्याउनेसोच नै कहिल्यै आएन । आउँदैन । म पुरुषलाई त आएन भने विचरी मेरी श्रीमतीको परम्परागत स्त्रीमनलाई आउने कुरै भएन । किनभनेयो सम्बन्ध पूर्वीय सभ्यताले बनाएको वलिष्ट रसायनले जोडेको छ । हाम्रो पूर्वीय सभ्यताको ज्यादै गजब रसायन हो यो । यस रसायनले हाम्रो परिवारलाई जोगाएर राखेको छ । बाँधेर राखेको छ । हाम्रो सभ्यताको जगेर्ना गरेको छ ।
तर यो कुरा मेरो अमेरिकी साथीलाई सुनाउँदा ऊ भन्छ– मान्छे भइरहँदा असम्भव कुरो हो यो । दुई मान्छे कालान्तरसम्म मिलेर बस्नु असम्भव हो । त्यो मिलाइ कृत्रिम हुन्छ । जबर्जस्ती मिल्नु पनि के जीवन हो र ? सम्झौताले मात्र पुग्दैन, आफूलाई नमारी कहाँ त्यसरी मिल्न सकिन्छ र ?
म उसलाई जवाफ दिन्छु– तिमीहरूको सभ्यताको रसायन कमजोर छ । हाम्रो जब्बर छ । ऊ नपत्याएर खिस्सी गरेको हाँसो हाँस्छ । म उसको कृत्यमा खिल्ली उडाउँदै हाँस्छु । तर फेरि पनि सोचिरहेको हुन्छु, अनवरत सोचिरहेको हुन्छु, उसको सभ्यता ठीक कि मेरो ?
(सान मार्कोस, अमेरिकानिवासी पोखरेल चर्चित साहित्यकार हुन् ।)
[email protected]