कविता

प्रत्येकदिन
उसैगरि पर क्षितिजमा उदाउँथ्यो
र त्यताबाटै अस्ताऊँथ्यो घाम
तर आज
सिन्दुरे रंगको गोलो टीकाजस्तै भएर
बिशाल फलकबाट ओर्ल्यो
र झ्यालबाट
सुस्तरी मेरो घरभित्र छिर्यो
ऊ मेरो ओछ्यानमा पल्टियो
मलाई खोज्दै बार्दलीसम्म पुग्यो
भरखरै नुहाएर भिजेका
मेरा रेशमी केशहरूको शितलतासँग खेल्यो
र, आँखा जुधाउनै नसक्ने उज्यालो लिएर
मेरा आँखाहरूमा ठोक्कियो
मेरो फिँजिएको चिसो केशमाथि
आफ्ना किरणहरु फिजाउँदै
ऊ मेरो भान्छामा आयो
मसँगै छोइएर बस्यो
फुत्रुक्क मेरो चियाको कपमा खस्यो
प्रेमले,
स्नेहले
पहिलो पटक
मैले चुम्बन गरेँ
र पिएँ घामलाई चियाको घुट्कोसितै
आज ऊ
मेरो कोठाको पर्दामा धेरैबेर झुन्डिरह्यो
फर्याक्फुरुक् गर्दै बार्दलीमा
मैसँग लुट्पुटिरह्यो
ढोका बाहिर मलाई पर्खिरह्यो
सधैँ मिठो लाग्ने घाम
आज झन्
औधी प्रिय लागिरह्यो !
पहिले त ऊ
निष्ठुर छ जस्तो लाग्थ्यो
कठोर छ जस्तो पनि लाग्थ्यो
के आउला र
आऊँदैन जस्तो लाग्थ्यो
यस्तै हो
त्यसले बिर्सियो भन्ने जस्तो लाग्थ्यो
तर आज
मेरो लामो प्रतीक्षाको अन्त्य गर्दै
ऊ मलाई भेट्न
मेरो घरभित्रै आयो
र, धीतमर्नेगरि माया गरेर गयो !
आज मलाई
उसको यो एक झुल्को दर्शन
असाध्यै प्रिय लाग्यो
कतै यो घाम
मेरो मनको मान्छेको प्रतिबिम्ब त हैन ?
(शर्मा चर्चित साहित्यकार हुन् ।)
[email protected]