पहाडबाट ठूलो आवाजका साथ
हाम्फाल्दै दौडिरहेको अरुणमा
निःशब्द भए ६८ आवाज
योगमायासँग ।
उनीसँगै हाम्फल्ने अरू
थुप्रै १२/१४ वर्षका बालबालिकाहरूको
किन कतै चर्चा हुँदैन ?
किन कतै उल्लेख हुँदैन ?
आमाको सारीको सप्को समात्दै
अरुणको उर्लंदो भेलमा
आमासँगै निःशब्द हुनपुगेका
ती कलिला किशोर–किशोरीहरू
मेरो सपनामा आउँछन्
र बाँकी जिन्दगी माग्छन्
सुकुमार यौवन माग्छन्
सपनाहरूको पुलिन्दा खोज्छन् ।
मझुवा नेपालेडाँडामा फुल्ने
गुराँसका फूलजस्ता नानीहरू
ऋतम्भरा जवानी माग्छन्
जीवनको दुःख र दुःखभित्र
मौलाइरहेको सन्तुष्टि र सुख माग्छन्
ईश्वर पनि परपीडक भएको
त्यो वेला
अरुणको भेलमा हुत्तिँदै
यौवनको उचाइ र उत्तराद्र्धको दर्शन
माग्छन्–
जवाफ छ तिमीसँग योगमाया ?
शैलेन्द्र साकार