• २०८१ मंसिर २८ शुक्रबार

शिरोमणि पुरस्कार कवि रमेश श्रेष्ठलाई

पोखरा

पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुई-दुई वर्षमा प्रदानगर्ने शिरोमणि पुरस्कार २०७८ बाट नेपाली काव्य-कलाक्षेत्रका सुप्रसिद्ध विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदानगर्ने निर्णय गरेको छ ।

विम्बकवि तथा कलाकार रमेश श्रेष्ठले विगत चारदशक देखि कविता र चित्रकला क्षेत्रमा महत्वपूर्ण योगदान दिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पुरयाएकाले पुरस्कार छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो ।

वि.सं. २०२३ साल पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिएका श्रेष्ठले पृथ्वीनारायण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्मको औपचारिक शिक्षा लिएका छन् । कलम र कुची, अक्षर र रङलाई समानान्तर शैलीमा अगाडि बढाएका श्रेष्ठले २०६६ मा नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सभा सदस्य र २०७१ मा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको परिषद्सदस्य तथा चित्रकला विभाग प्रमुख, पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

आफ्ना कविता र चित्रकलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गरेका श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन लण्डन, १६औं आर्ट बाइनाले बङ्गलादेश, कला कार्यशाला तथा प्रदर्शनी बेइजिङ, सार्क आर्ट क्याम्प भुटानमा सहभागिता जनाएका छन् ।नपोतिएका रङहरू गीतसङ्ग्रह २०५२ श्रेष्ठको पहिलो प्रकाशित कृति हो । ‘मलामी पहाड र सारङगी’, ‘आँसुमा खसेको पृथ्वी’, र‘कोलाज उत्सव’काव्यकृति प्रकाशनको तयारीमा छन् ।

काव्य र कलाक्षेत्रमा विगत चारदशक देखि सिर्जनात्मक काम गरेका रमेश श्रेष्ठ दर्जनौं पुरस्कार, मान-सम्मान र पदकबाट विभूषित छन् ।राष्ट्रिय प्रतिभा पुरस्कार २०५७ बाट पुरस्कृत श्रेष्ठलाई २०६६ सालमा विम्बकविको उपाधि प्रदान गरिएको हो ।नेपाली कविताका क्षेत्रमा टिकटमा एकल कविता वाचन गर्ने अभियन्ताका रूपमा श्रेष्ठ परिचित छन् ।

प्रतिभा छनौट समितिमा वरिष्ठ कलाकार दुर्गाबराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष मोती भुजेल र सह–सचिव शिव त्रिपाठी रहेका थिए । राष्ट्रियस्तरमा साहित्य, कला र सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान दिने एकजना स्रष्टालाई प्रदान गरिदै आएको यो पुरस्कार छुट्टै महत्व बोकेको राष्ट्रियस्तरको पुरस्कार हो ।

यस अघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथ शर्मा, अलि मियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरू भक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा, अमृत गुरुङ, ओम खत्री, अनुप बराल सम्मानित भइसकेका छन् ।

असार ४ गते शनिबार पोखरामा कार्यक्रम गरी प्रदान गरिने पुरस्कारको राशी नगद रू १५ हजार, ताम्रपत्र र दोसल्ला रहेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिएका छन् ।