• २०८१ असोज २४ बिहीबार

दृष्टि फर्किएका चित्रकारहरूले बनाए सन्देशयुक्त भित्तेचित्र

काठमाडौँ- दृष्टि फर्किएका मिथिला चित्रकारहरूले ‘दृष्टिको चमत्कारले परिवर्तित जीवनहरू’ शिर्षकमा तिलगंगा आँखा प्रतिष्ठानमा भित्तेचित्र बनाएका छन् ।

जनकपुरका मिथिला चित्रकारहरू निर्मला झा, राजकुमारी सिंह र अन्जिना यादवले तयार पारेको यो भित्तेचित्रलाई मंगलबार नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले संयुक्त रुपमा अनावरण गरेका थिए ।मिथिला चित्रकारद्वय राजकुमारी सिंह र अन्जिना यादव आँखाको समस्याबाट गुज्रिएर उपचारपछि आँखा देख्न सक्ने भएका व्यक्ति हुन् ।

चित्रकार सिंहले मोतिविन्दु भएर चित्रकलाकार्यमा धेरै गाह्रो भएको र शल्यक्रियापछि अहिले एकदम सहज भएको बताइन् । अर्का चित्रकार यादवले भित्तेचित्रमा आँखाको महत्त्वलाई चित्रित गराउन पाउँदा खुसी लागेको बताइन् । यो भित्तेचित्रको मुख्य सन्देश उपचार भएमा धेरै प्रकारका अन्धोपनहरू निवारण गर्न सकिन्छ भन्ने रहेको चित्रकारहरू बताउँछन् । ३० वर्षदेखि अनवरत रुपमा नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रण गर्न पुरयाएको योगदानको कदर स्वरुप भित्तेचित्र निर्माण गरिएको हो ।

प्रतिष्ठानले मिथिला कलाकृतिबाट पुनःप्रयोग योग्य प्लाष्टिकका बोत्तलहरू रेसाबाट निर्मित चश्माका खोलहरू बनाएर स्थानीय रोजगारी सिर्जनागर्ने र सो उत्पादनलाई विश्वव्यापी रुपमा बेच्ने लक्ष्य राखेको चित्रकारहरूको भनाइ छ ।