मान्छे थपिँदा छन्
एक्लोपन बढ्दो छ
मान्छेका कतार फाँडेर मान्छेकै लागि
मान्छेकै बस्ती बसाउन हिँडेको कोही
आज
मान्छेकै कतारमा छ
र आज फेरि कोही
मान्छेका कतार फाँडेर
मान्छेको बस्ती बसाउन हिँडेको छ ।
एउटा फूलको चोटले घाइते मान्छे
पत्थरको चोटले ढलेको बटुवाको
कविता बोकेर गाउँबाट
श्रब्यान्त, दृष्यान्त भरि
घन्काइरहेछ आफ्नो आवाज
फिँजाइरहेछ आफ्नो अनुहार
बेचिरहेछ आफ्ना अक्षर
खल्तीभरि यहि पूरूषार्थको आर्जन भरेर कुनै दुर्गममा ढाडस खोजिरहेको हृदयमा होइन
कुनै गुल्जार शहरको महोत्सवमा
खोजिरहेछ व्यासमा आफ्नो अहंकारको आसन ।
अनकण्टार दुर्गमा
एकान्तिक आनन्दको अभ्यास गर्न
आवह्वान गरिरहेको शिला
लतारिएर कोलाहल माझ
याचना, दुर्जना,
सकस, र बेचैनीको हाट जस्तो
भर्वराउँदा समिधाहरूले घेरिएको
निस्सासिँदो हवनकुण्डको रापमा
न ईश्वर मौन समाधिमा छ ।
न मानिस आनन्दको आँधीमा छ ।
बेचैनीको आँधिको पोट्रेट जस्तो
ऐना बनेर उभिएको छ मन्दिर ।
एउटा द्रवित हृदय
आँशुको खहरे किनार उभिएको
दुःख पुछ्ने हातहरू पर्खँदा पर्खँदै रात पर्छ
आखिर, दृष्य संसारबाट प्रताडित
अदृष्य सहारा खोज्नेहरूकालागि
’टुँटिजाने विस्वास’ नै त अन्धविस्वास हो ?
अन्धविश्वास !
मध्य शहरमा नक्कली सामान बेचिरहेको
पसलेमाथिको विश्वास पनि
एक अन्धविश्वास जस्तो
सूदूर गाउँमा दानै नलाग्ने मकैको विऊ बाँडिरहेको
सरकार माथिको विश्वास पनि
एक अन्धविश्वास जस्तो,
त्यसो त हरदिन आफ्नै हिजोको
अन्वेषणझूट सावित गरिहिँड्ने विज्ञान पनि
एक अन्धविश्वास जस्तो,
यिनै अन्धविश्वासका मसिहाहरू
अन्धविश्वासै अन्धविश्वासको रनाहामा
अमूर्त आस्थाको पण्डालमूनि
निदाउन खोजिरहेका
अन्धविश्वासीहरूको टाउकामा टेकेर
औंलो ठड्याई ठड्याई
तिनैको खिल्ली उडाइरहेछ ।
त्यसैले तिमी पनि
लगाउ छद्म अनुहार र बेच
सबै भन्दा नजिकको कसैको भरोसालाई
सबै भन्दा निरीह कसैको पसिनालाई
सबै भन्दा मुक कसैको आस्थालाई
सबै भन्दा व्याकुल कसैको आत्मालाई
भाषणहरूले वा कविताहरूले
आदेशहरूले वा उपदेशहरूले
अनि यही नै तिम्रो एक अवतार हुनेछ ।
श्रवणकुमार ढुंगाना