• २०८२ असार १७ मङ्गलबार

‘विश्वमञ्च’मा नरेन्द्र मोदी पुस्तक सार्वजनिक

काठमाडौं ।

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ । भुपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितिबारे जानकारी गराउने उदेश्यले दशक यताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए ‘विश्वमञ्चमा भारत नयाँ ढंगले अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले आफूलाघ सशक्तरूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउँछ,’ चन्दले भने ।

सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाइजेशनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शत्तिशालीरूपमा देखा परेको छ । जनवरी २०२४ मा प्रकाशित वल्र्ड इकोनोमिक फोरमको एक रिर्पोटका अनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो । २०२२–२०२३ मा ७.२ प्रतिशतको आर्थिक वृद्धि गरेर भारत जी–२० देशहरूमा लगातार दोस्रो स्थानमा रह्यो । पूर्वाधार, इन्टरनेटको पहुँच, र पश्चिमसँग भारतको सम्बन्धले गर्दा सन् २०२३ मा विश्व मञ्चमा ठूलो रूपमा भारत पुगेको छ । विश्वव्यापीरूपमा सूचना, कनेक्टिभिटी र समृद्धिमा भारतको बढ्दो पहुँचले भारतलाई विश्वमञ्चमा बलियो बनाएको छ ।

सार्क बैठकसहित प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक नेपाल भ्रमणमा आएका छन्। पहिलोपटक सन् २०१४ को अगष्ट दोस्रो, २०१४ को सार्क बैठक। तेस्रो, २०१८ को मे महिनामा र चौथो २०२२ को मे महिनामा। नेपालको जनकपुर, लुम्बिनीदेखि मुत्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता एक सय भन्दा बढी यात्रा गरेकाछन् । ‘यी सबै यात्रा र सम्बोधनहरूमध्ये महत्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’ क्षेत्रीले सुनाए ।

नेपाल र भारतको प्रागऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आम नेपालीलाई समेत थाह होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो ।’इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ ।