दियो निभेपछि
उज्यालो कोठा
एक्कासि फेरिन्छ अँध्यारोमा
नजिक बसेका मानिसले
मात्र कुरा गरेको सुनिन्छ
सुनिन्छ मौनतामा
उनीहरूको श्वास प्रश्वासको क्रिया ।
दियो निभेपछि
शिरदेखि पाउसम्म
सबै ढाकिन्छ अँध्यारोले
सबै बन्छन् रातजस्तै
कुनै अन्तर हुन्न
रात र उनीहरूका बीचमा ।
दियो निभेपछि
कोठा कोठाजस्तो रहन्न
कुनै घना जङ्गलमा
अज्ञात भयले ढक्क फुलेझैँ छाती
फुल्छ अँध्यारोबीचको सन्नाटामा पनि
अलिबेरसम्म बालिएन भने दियो
निधारबाट आउन सुरू गर्छ चिसो पसिना ।
दियो निभेपछि
जान सकिन्न शयनकक्षसम्म पनि
नजिकको भान्सा पनि
बन्छ बिरानो जस्तो
शौचालय पनि लाग्छ
कुनै अज्ञात स्थलजस्तो
दियो निभेको ठाउँभन्दा परको यात्रा
एकप्रकारले हुन्छ
अनकन्टारको यात्रा जस्तो ।
दियो कोठाको निभोस्
वा आफैँभित्रको
दियो निभेपछि
अँध्यारो एउटा मात्र सत्य हो ।
(गिरी स्थापित साहित्यकार हुन्।)
[email protected]