• २०८१ असोज २८ सोमबार

आँसुको आगोमा नाचिरहेको मानिस

मुनाराज शेर्मा

मुनाराज शेर्मा

अग्लो झर्नाबाट खसिरहेको पानी यति द्रुत र हतारमा छ
आफ्नै तिर्खाको परवाह छैन उसलाई
अरूकै जीवनको तिर्खा मेट्नलाई
या समानताको अपुरो सागर भर्नलाई
तर सोच त्यो कहिल्यै नफर्कने होइन
फेरि जिन्दगीलाई चुमिरहन सदासदा
फेरि जगाइरहन धर्तीलाई हरदम
तर जब तिमी मानिसहरूको हृदयको छाँगाबाट
आफूलाई खसाउँछौ
पत्याउनु तिमी नबौरिने गरी खस्छौ
तिमी हरेकको यादहरूबाट सदा काँडा भएर खस्छौ

तमाम झराइहरू सुन्दर हुँदैनन्
जस्तो कि रूखबाट थुर खस्छ
लगेर आगोमा सल्काउँछन् मानिसहरू वा मिल्काउँछन् नसम्झिने गरी
जस्तो कि भीरबाट बजारिन्छ ढुङ्गा, टुक्रिन्छ बेपत्ता र धूलिसात् हुन्छ
यो पहाडबाट चरा उडेकोजस्तो हुँदै होइन
जो खाना लिएर फर्कोस् बचेराका लागि
यो कुनै मीठो फल झरेकोजस्तो पनि होइन
जो फल टिप्न बच्चाहरू खुसीले बुर्कुसी मारून्
नदीमा तैरिरहेको उन्मुक्त माछा वेगमा खसेकोजस्तो झनै होइन
जुन खसाइमा पारखीहरू ‘कुलुलु !’ गर्छन्
वेहद खुसी हुन्छिन् तिम्रो प्रेमिका र फर्काउँछिन् खुसीको आँधी

तिमी भ्रममा बन्दै नपर्नु
तिम्रो झराइ फूलको झराइ होइन
जो प्रेमको हत्केलामा टिपिन्छ
र, राखिन्छ शिरमा
तिम्रो झराइ बीजको झराइ पनि होइन
जो उम्रिन्छ जीवन बोकेर फेरि
यो पक्कै विचारमा पहिरो हुनुपर्छ
विचारको उचाइबाट खस्नु भुइँविहीन खस्नु हो
आधारविहीन खस्नु हो
जो झरिरहन्छ निरन्तर थामिँदैन र उठ्दैन फेरि
मानिसहरूको मनको बस्तीबाट
जो सधैँ आलोचनाको जाँतोमा पिसिरहन्छ घुन भएर
सभ्यताको किनारबाट किनारसम्म

तिमीलाई कसले गर्यो दीक्षित, आँसुको आगोमा नाच्न
दास क्यापिटलको कुन हरफमा छ
आँसुको अपहेलना ?
समाजवादको कुन मर्ममा छ
आँसुलाई घोचेर आँसुको पीढामाथि उत्सव ?
आँसुको झन्डा बोकेर
आँसुकै सपथ खाएर
आँसुकै लयमा पसिनाको मुक्तिको गीत गाउँदै हिँड्ने तिमी
आँसुमा आगो झोस्न कुन विवेकले अह्रायो तिमीलाई ?

यो धर्ती गोलो छ
अरू दस पृथ्वीहरू पनि गोलै रहेछ
कुमालेको चक्र पनि गोलै छ
आफैँतिर फर्की आउने बुमर्याङ् यो लाजेमा
रेड इन्डियन एब्रोजिनहरूले चलाएकै हुन्
शक्तिमा नाच्नु जिन्दगी बाँच्नुजस्तो हुँदै होइन
सत्ताको शक्ति पहराको पत्थर होला जो भइन्जेल अडिन्छ

जब तिमी मानिसको दुःखलाई झार सम्झेर घृणा गर्छौ
तिम्रो दिमाग पनि भरिनेछ झारले
अहिलेसम्म झारकै जुहारीले आइपुगेको हो यहाँसम्म सायद
एक दिन झारहरूको पनि आउनेछ सत्ता र समय
उनीहरूले भने त कति गलत थियोे कोलम्बस पनि
त्यो दिन झारहरूले तिमीलाई पनि बेग्लै झार सम्झेर फाल्नेछन् उखेलेर
यो पृथ्वीबाट
हेक्का राख्नु
जनताको पसिनाको
र,गरिबको आँसुको

किन ?
तिम्रो नाचको रिदम
भुइँमान्छेको नजिक पुग्दा हाइभोल्टेजको हुन्छ र
बहुलाउँछ आँसुको आगोमा नाच्न ।


(शेर्मा चर्चित साहित्यकार हुन् ।)
[email protected]