• २०८१ श्रावाण ४ शुक्रबार

प्रा. डा. गोपिन्द्र पौडलका दुई समालोचना सङ्ग्रह लोकार्पण

काठमाडौँ ।

समालोचक प्रा. डा. गोपिन्द्र पौडलका दुई समालोचना कृतिको लोकार्पण गरिएको छ । अखिल नेपाल लेखक संघद्वारा काठमाडौँको पद्मोदय स्कुलमा आयोजित एक कार्यक्रमका बीच प्रा. डा. पौडलका ‘कथा परिशीलन’ र ‘स्रष्टा, समीक्षा र संस्कृति’ नामक दुई समालोचना सङ्ग्रहको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सौन्दर्यचिन्तक निनु चापागाई सहितका अतिथिहरूले संयुक्त रुपमाती कृतिहरूको लोकार्पण गर्नुभयो । संघका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिका रुपमा नेपाल प्रज्ञा- प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय, वरिष्ठ समालोचक प्रा. डा. जीवेन्द्र देव गिरी, प्रगतिशील लेखक संघका अध्यक्ष मधुसूदन गिरी, समालोचकहरू डा. साधना पन्त, पुरुषोत्तम रिजाल र वन्दना ढकाल, लेखकका दाजु केशवराज शर्मा, प्रकाशक संस्था भुँडी पुराणका राजेन्द्रप्रसाद पराजुली लगायत रहनु भएको थियो ।

राष्ट्रिय गान र शहीदहरु प्रति मौनधारणबाट सुरु भएको कार्यक्रममा लेखकका नाती बालक सक्षम पौडेलले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । ताली बजाएर कार्यक्रमको औपचारिक समुद्घाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंले लेखकलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले कृतिको सवल पक्षहरुको प्रसंशा पनि गर्नुभयो । रचनामा जनयुद्धलाई एकांकी ढंगले हेरिएको र केही सीमाहरु रहेको पनि उहाँले उल्लेख गर्नुभयो । समालोचक वन्दना ढकालले स्रष्टा प्रा.डा.पौडेलको जीवनी, विषय प्रसङ्ग र लेखक सन्दर्भ प्रस्तुत गर्नुभयो ।

समीक्षक पुरुषोत्तम रिजालले समालोचना सङ्ग्रह ‘कथा परिशीलन’ को टिप्पणी गर्नु भएको थियो । कृतिको समीक्षागर्दै रिजालले कृतिमा १२ वटा अनुसन्धानमूलक समालोचनात्मक रचना रहेको बताउनु भयो । पुस्तक उपयोगी स्रोत सामग्रीको रुपमा रहेको र आम पाठक तथा स्रष्टालाई अभिप्रेरित गर्ने उहाँले बताउनु भयो । एक रचनामा विश्वेश्वरप्रसाद कोइरालाका कथालाई माक्र्सवादी दृष्टिकोणबाट हेरिएकोले यो फरक र रोचकविषय रहेको उहाँको भनाई थियो । जनयुद्धकालीन कथा कलालाई संक्षेपमा मात्रै प्रस्तुत गरिएकोले त्यसको विस्तृत विषय आम पाठकले पढ्न चाहेको पनि उहाँले बताउनु भयो ।

अर्को समालोचना कृति ‘स्रष्टा, समीक्षा र संस्कृति’ माथि समीक्षा गर्दै डा. साधना पन्तले शीर्षकमा जस्तै तीनवटा विषयवस्तु समेटिएको बताउनु भयो । पहिलो खण्डमा खुसीराम पाख्रिन सहितका पाँच स्रष्टाको बारेमा समालोचना गरिएको उहाँको भनाई थियो । यसैगरी अर्को खण्डमा पाँच वटा समीक्षा समावेश गरिएको र त्यसमा संस्मरणलाई छुट्टै विधाको रुपमा मानिनुपर्ने दाबी गरिएको उहाँले उल्लेख गर्नुभयो । कृतिको तेस्रो खण्डमा संस्कृति, जन संस्कृति र सांस्कृतिक रुपान्तरणको विषय समेटिएको उहाँले सुनाउनु भयो । समालोचक प्रा.डा. पौडेल विद्वता र शालिनताको संगम भएकोले सो र लेखन यात्रा निरन्तर जारी रहोस् भन्ने उहाँले कामना गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका पूर्वसदस्य- सचिव प्रा. जगत्प्रसाद उपाध्यायले समालोचक पौडेलको गुणगानमा लामो समय खर्चिनु भएको थियो । उहाँले विचारमा दृढता र कार्यनीतिमा लचकता भएको मान्छे भनेर प्रा. डा. पौडेललाई विशेषण दिनुभयो । स्रष्टालाई निक्कै पहिलेदेखि चिनेको प्रसङ्ग उल्लेख गर्दै उहाँ आलोचनात्मक प्रगतिशील लेखक भएको बताउनु भयो । प्रा.डा. पौडेलले सांस्कृतिक चिन्तनमूलक केही निबन्ध लेखेको पनि उहाँले सुनाउनु भयो । लेखनको धार समाजवादी यथार्थवाद भएको उल्लेख गर्दै उहाँले जीवन र जगतलाई वस्तुवादी ढंगले हेरिएको बताउनु भयो ।

कार्यक्रममा प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरी, वरिष्ठ संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवाली, प्रा.डा. जीवेन्द्रदेव गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तेजविलास अधिकारीले धन्यवाद ज्ञापन, प्रा. डा. गोपीन्द्र पौडेलले लेखकीय मन्तव्य र डा. धनप्रसाद सुवेदीले समापन मन्तव्य राख्नुभएको थियो ।


तन्हाईयां

क्षितिज