• २०८१ माघ २ बुधबार

मृत्यु

कात्यायन

कात्यायन

म नितान्त एकान्तमा थिए ।
अलौकिक ध्यानमा थिए ।
अपूर्व विपश्यनामा थिए ।
उनी झ्वाम्म मेरो मुटुको तरङ्गमा डुबुल्की लाउन थालिन् ! पारदर्शिक बस्त्र धारण गरेकी थिइन् ।
एकान्त खलबलियो ! ध्यान भङ्ग भयो ! विपश्यना तोडियो !
सोधेँ, “किन म भित्र’’
भनिन्, “म कहिले बाहिर थिए र ?’’
म अलमलिए !
उनी याने समय !
उनलाई त मैले पुरुष सोचेको थिए ! ऊ भनेर सम्बोधन गर्थे । समलिङ्गी सोचेर परपर भाग्न खोज्थे !
आजको रूप बेग्लै थियो । मनमोहक ! चित्ताकर्षक !
समय ! अर्थात् काल ! मृत्युको प्रतिरूप !
दिव्य मुस्कान सहित मधूर सङ्गीत सुनाइन्, “स्वच्छ मनको प्रिय थलो हो यो मेरो !’’
मैले सुस्केरा हालेँ, “यो त जीर्ण खण्डहर हो ! जुन कुनै समय तिमीले तिरस्कार गरेर जानेछौ !’’
अस्वीकार गर्दै भनिन्, “तिमीले तिम्रो रूप पाउनु अघिदेखि म तिमी सङ्गै थिए ! जहिले जुन रूप धारण गरे पनि, म त तिम्रो प्रतिछायां मात्र हो ।
“मृत्यु अर्थात् मेरो प्रतिछायां ?’’
“हो ! प्रतिछाया ! जन्मनु अघि ब्रह्माको कला ! जन्म पश्चात विष्णुको क्रिडा ! मरणको समय शिवको नृत्य ! पलपल समय ! याने काल ! अर्थात म मृत्यु ! तिम्रो अभिन्न अङ्गभित्र राज गर्ने अभिन्न निस्वास !’’


कात्यायन, चाबहिल, काठमाडौं
[email protected]