• २०८१ श्रावाण ११ शुक्रबार

युद्ध, मान्छे र देवता

भीम खतिवडा

भीम खतिवडा

आफैँले जन्माएको देवताबाट
मान्छे मरिरहेछ,
सपना सँगालेर
इच्छानुरूप उसले
काला, गोरा, होचा, अग्ला
महिला, पुरुष, नपुङ्सक नानाथरीका
ईश्वरहरू बनायो, तर
सबै देवताहरू एक हुनसकेनन्
सबै मान्छेहरूजस्तै
एउटा देवता अर्कोबाट तर्सन्छ
एउटा मान्छे अर्कोबाट तर्सन्छ जसरी ।

देवताहरूको जुलुसमा
देवताहरूको विरोध छ
मान्छेहरूकै विरोधमा
मान्छेहरूको जुलसजस्तै
देवताहरूको ज्यादतीका विरुद्ध
देवताहरूको सडकक्रान्ति छ
पुजारीहरू मसाल बोकेर
पुजारीहरूविरुद्ध युद्धघोष गर्दैछन् ।

भक्तहरूको त के कुरा भयो र !
बलिदान हुनेहरू अरू कहाँ भेटिऊन् !
देवताहरू वर्तमानमा
मारामार गरिरहेछन्
यो युद्धमा
रक्तपात भइरहेछ
तर
मोहम्मद, मसीह, बुद्ध र महादेवहरू
देवी, विष्णु र अरू देवताहरू
मान्छे भएर मर्दैछन्
धर्मको युद्धमा मान्छे आफैँ मर्दैछ ।

आफैँ जन्माएको देवताबाट
मान्छे मरिरहेछ
रक्तक्रान्तिको मध्यान्हमा
रक्तरञ्जित मुहारमा
मुत्युसँग जुझिरहेको
तथाऽपि ऊ
थाकेको छैन
भन्दैछ ‘प्रभुको सधैँ जय होस् !’


(खतिवडा चर्चित साहित्यकार हुन् ।)
[email protected]