• २०८१ श्रावाण ११ शुक्रबार

भित्ती र भित्तीहरू

गणेश खड्का

गणेश खड्का

उहिले
हजुरआमाको काखमा मलाई हालिदिएर
मेरी आमा मेलापात जाँदा
दूध खान नपाएर म रुँदा
घरको थाम, निदाल, दलिन, सिलिङ् र भित्तामा
यता र उता दगुरिरहेको एउटा भित्ती देखाएर
हजुरआमा भन्नुहुन्थ्यो-
ऊ,… हेर् बाबै, भित्ती !
हल्ला गर्यो भने त्यसले कान खाइदिन्छ

स- साना पुतलीहरूलाई
झम्टिझम्टी आफ्नो मुखमा कोच्दै
भित्ती कराउँथ्यो- टिक् …टिक् …टिक् …
हजुरआमा मलाई सतर्क गराउँदै भन्नुहुन्थ्यो-
ऊ सुन् त…
भित्तीले पनि भन्दैछ- ठीक …ठीक …ठीक …!

हुर्केर किशोर भएपछि–
सदरमुकाममा ट्युसन पढ्न डेरा गरी बस्दा
सडकमा निस्केका एक हुल केटाहरू देखाउँदै
घरबेटी आमैले आफ्ना चाउरी आँखाका कचेरा
चोरऔँलाका टुप्पाले पुछिसकेर
थोते दाँत बजाउँदै भनिन्- हेर, हेर भित्तीहरू !
तिनले बिँडीका खोलमा
भित्तीका पुच्छर बेरेर धूवाँ उड़ाउँछन् रे
आमैले मेरो नारी च्याप्पै समातेर सावधानी गराइन्-
होस गरेस् है, तिनेर्ले त बगली मार्छन् !
अहिले-
हातमा शैक्षिक योग्यताको प्रमाणपत्र च्यापेर
जागिर खान सहरमा भौँतारिरहेको नौजवान युवक मलाई
सत्ता, सदन र सडकतिर सङ्केत गर्दै
मेरी आमा सम्झाउनु हुन्छ-
नोकरी नभेटे सरक्क फर्की आइज बाबु !
गाउँमै कुटो- कोदालो गरी खाऊँला
जागिरका लागि धेरै हल्ला नगर्नू
भित्तीहरूले जिब्रो लुछिदिन सक्छन्
सरकारी जागिर त उनेर्ले मात्रै खान पाउँछन् ।

अन्यमनस्क स्थितिमा
सम्हालिन्छु
सम्झिन्छु
र, सोच्छु-
भित्तीहरू रूपान्तरित भएछन्
भित्तीहरूमा आमूल परिवर्तन आएछ
त्यति वेलाका भित्तीहरू माउसुली प्रजातिको थिए
यति वेलाका भित्तीहरू मान्छे प्रजातिका छन् ।


(हाल फ्रिगेट आइल्यान्डनिवासी खड्काका दुई कृति प्रकाशित छन् ।)
[email protected]