• २०८१ मंसिर २९ शनिवार

चिट्ठा पर्ने भाग्यमानी अभागीहरू

शरद निरोला

शरद निरोला

यदि घर बसिबसी हातमा लाखौँ- करोडौँ रूपियाँ पर्छ भने किन दस नङ्ग्री खियाएर दुख गर्ने ? कतै भाग्यले गमलङ्ग अँगालो हालेर च्वाक्क म्वाइँ खाइदियो भने यो लोक सप्रिने त छँदैछ साथै परलोक पुगेपछि पनि देव-देवीहरूका माझ विशिष्ट मत्र्यलोकवासी भनेर सम्मानका साथ चिनिने ठूलो सम्भावना रहन्छ । यस्तो खालको सपना त्यसवेला मात्र पूरा हुनेछ जब तपाईं फिस्टाको टाउको जत्रो रकम खर्च गरेर कुनै ठूलो ज्याकपटवाला लट्री किन्नुहुन्छ र त्यस लट्री टिकटमा भएका नम्बरहरू विजयी नम्बरहरूसँग ठ्याक्क्राक्कै मिल्छन् ।
थोरै पैसा खर्च गरेर बोक्न नसक्ने धनको भारी पाउने इच्छा संसारका सबै मुलुकका मानिसहरूमा हुन्छ । मानिसको यही स्वभावलाई दृष्टिमा राखेर नै व्यवसायीहरूले लट्रीको आविष्कार गरेको हुनुपर्छ । ‘एकपल्ट भाग्यले साथ दिएन, अर्कोपल्ट त कसो नदेला’ भन्ने आममानिसको प्रबल अपेक्षा नै लट्री कम्पनीहरूको सफलताको प्रमुख कारण रहिआएको छ । यस्ता कैयौँ मानिस हुन्छन्, जो थोरै राशि जित्दा पनि खुसी नै हुन्छन् र सोच्छन् अर्कोपल्ट त ठूलै रकम कसो नजितिएला । अर्कोतिर एकथरी यस्ता पनि हुन्छन्, जो एकोहोरे हुन्छन् र जबसम्म जित हुँदैन तबसम्म आफ्नो भाग्य चम्किने आशमा लट्रीका टिकट किनेको किन्यै गर्छन् । हुनत लट्री पनि सूक्ष्म रूपमा एकप्रकारको जुवाजस्तै हो तर वास्तविक जुवाजस्तो खतरनाक यो छैन । जुवामा व्यक्ति लट्टिपट्टी गुमाएर कङ्गाल बन्नपुग्छ भने लट्रीमा नाम मात्रको पैसा खर्च हुन्छ । बरु उल्टै थोरै पैसा लगानी गरेर ठूलो धनराशि प्राप्त हुनआउँछ ।
ठूलो धनराशिको चिट्ठा जितेपछि आम मानिसहरूको सोचाइ भइराखेको जागिर छोड्ने अनि उपलब्ध हुनआएको विशाल रकम कसरी खर्च गर्ने भन्ने ध्याउन्नामै केन्द्रित हुने गर्दछ । जतिजति कसैलाई चिट्ठा नपरी ज्याकपटको किट्टी बढ्दै जान्छ त्यति त्यति नै त्यस लट्रीको आकर्षण बढ्दै जान्छ र त्यसको विक्री पनि अक्कासिँदै जान्छ । एउटा मात्र टिकट लिनेदेखि लिएर पन्ध्र-बीसवटा सम्म एकैचोटि किन्ने पनि हुन्छन् । नम्बर चयनका लागि कम्प्युटरप्रदत्त नम्बर पनि लिइन्छ र टिकट किन्नेले आफैँले सोचेर राख्न पनि सक्छ ।
अमेरिकामा विभिन्न किसिमका लट्रीहरू खेलाइन्छन्, जसमध्ये सबैभन्दा लोकप्रिय ‘मेगा मिलियन्स’ र ‘पावरबल’ हुन् । केही लाखबाट सुरू भएर यिनका किट्टीहरू करोडौँ डलरसम्म पुग्छन् । जतिजति किट्टीको रकम बढ्दै जान्छ उतिउति नै लट्री बेच्ने पसलहरूमा मानिसहरूको हुल बढ्दैजान्छ । लट्री जगतका मानिसहरूमा एकप्रकारको मीठो उन्माद फैलिने गर्दछ र उनीहरूको लोभको आयतन पनि फैलिँदै जान्छ ।
मानिसहरूले लट्री जित्नु आफैँमा एउटा विश्वासै गर्न नसकिने कथा हो भने त्यो जिताइ र त्यससँग सम्बन्धित घटना- परिघटनाहरूको उपस्थिति पनि उत्तिकै अविश्वसनीय हुने गर्दछ । यस्तै केही रोचक घटना- परिघटनाहरूका बारेमा चर्चा गर्नु यस पङ्क्तिकारको आजको उद्देश्य हो । लट्री जितेर मानिसहरू खुसी भएका उदाहरण कमै पाइन्छन् । भाग्योदय गर्ने विश्वास गरिएको लट्रीले कसरी मानिसको जीवन अस्तव्यस्त पार्दो रहेछ भन्ने केही उदाहरणहरू यहाँ प्रस्तुत गरिन्छ ।
युरोपेली देश क्रोएसियाका फेन सेलाकलाई लट्री जगतमा सबैभन्दा ‘भाग्यमानी अभागी’ (द लक्किएस्ट अनलक्की) भनेर चिनिन्छ । सातपल्टसम्म मृत्युको मुखबाट फर्किएपछि मात्र बल्ल उनी लट्री जित्न सफल भएका थिए । पहिलोपल्ट सन् १९६२ मा रेल- दुर्घटनामा परी उनको ज्यान झन्नै गएको थियो भने लगत्तै त्यसको अर्को वर्ष उडिरहेको प्लेनको ढोका खुल्दा हावाले तानेर उनलाई बाहिर हुत्याइदिएको थियो । धन्न उनको भाग्य बलियो रहेछ किनभने उनी माथिबाट जुन ठाउँमा खसे त्यहाँ परालका चाङैचाङ थिए, जसले उनको शरीरलाई कठोर भुइँमा बज्रिन दिएन र उनी बाँचे । त्यस दुर्घटनामा १७ जनाको मृत्यु भयो । त्यसको तीन वर्षपछि, सन् १९६६ मा, उनी यात्रा गरिरहेको बस सडकबाट चिप्लिई नदीमा खस्न पुग्यो । चारजना डुबेर मरे तर उनी जसो तसो पौडेर निस्कन सफल भए । सन् १९७० मा उनी आफ्नो कारमा कतै गइरहेका थिए । अचानक कारको इन्जिनमा आगो लागी त्यसका लप्काहरूले एयर कन्डिसनका प्वालहरूबाट भित्र छिरी उनको अनुहार र कपाल डढाए । कारबाट बाहिर निस्की भागेर केही पर पुग्नेबित्तिकै त्यसको पेट्रोल टङ्की पड्कियो । त्यहाँ पनि उनी बाँचे ।
सन् १९७३ मा उनी फेरि अर्को दुर्घटनामा परे । यसपालि पनि कार- दुर्घटना नै थियो । अचानक इन्जिनको फयूल पम्प फुटी सम्पूर्ण इन्जिन भरि मोबिल र पेट्रोलको मिश्रण छरियो । तातोले खटखट भएको इन्जिनमा तुरून्त आगो लागिहाल्यो । पेट्रोल टङ्की पड्किनु भन्दा पहिले नै भागेर उनले आफ्नो ज्यान जोगाए । यस्तो लाग्छ, उनको जीवन मृत्युको हकमा निकै लबस्तरो थियो । जति नै झम्टो हान्दा पनि यमराजका दूतहरूले उनलाई अँठ्याउन सकिरहेका थिएनन् । फेरि सन् १९९५ मा उनी जाग्रेब सहरमा सडकमा हिँडिरहेको वेला एउटा यात्रुबसले उनलाई पछाडिबाट मर्ने गरी दनक दिएर झन्नै सिध्यायो । त्यतिले नपुगेर १९९६ मा उनको कार र संयुक्त राष्ट्र सङ्घको एउटा ट्रककाबीच पहाडी बाटोको एउटा साँघुरो घुम्तीमा ठक्कर भयो । जसको प्रतिफलस्वरूप उनको कार सडकको रेलिङ् भत्काई भीरबाट हुर्रियो । भीरबाट खस्नुभन्दा पहिले ड्राइभर साइडको ढोका उछिट्टिएकाले उनी सिधै भीरमा खसे । तर उनको भाग्य यहाँ पनि बलियो भएर आयो । उनी माथिबाट खसेर सिधै भीरमा उम्रेको एउटा गतिलो झ्याँगमा खसे र त्यहीँ अड्किए । पछि उनको उद्धार गरियो । घोक्रामा समातिसकेको मनुवालाई फेरि छोड्नु परेकोमा यमराजका दूतहरू खिस्रिक्क पर्दै फर्किए ।
यी भाग्यमानी व्यक्तिले सन् २००२ मा, आफ्नो ७३औँ जन्मदिनका दिन, ९० लाख युरोको लट्री जिते । त्यस पैसाले उनले दुइटा नयाँ घर र एउटा महँगो बोट (आधुनिक नौका) किने । अत्यन्तै उदार हृदय भएका उनले बाँकी रकममध्ये अधिकंँश आफ्ना नातेदार र साथीभाइलाई बाँड्दै आफूचाहिँ मीतव्ययी जीवन बिताउने निर्णय गरे । जिन्दगीको खेल पनि अचम्मकै हुन्छ । जीवनभरि उनलाई यमराजका दूतहरूले लगारेको लगारेकै गरे । तैपनि उनको भाग्यले उनको साथ छोडेन । अन्ततोगत्वा उनले ९० लाखको लट्री जिते तर त्यो रकम सबैमा बाँडेर उनी पुनः आफ्नो पहिलेकै अवस्थामा आए । साँच्चै नै उनी मृत्युको हकमा भाग्यमानी र ९० लाख जितेर पनि त्यसको पूर्ण उपयोग नगर्ने अभागीमा दर्ता भए ।
अमेरिकाको फ्लोरिडा राज्यमा बसोबास गर्ने औरा डी नाम गरेकी महिलाको कथा पनि रोचक छ । उनले जिन्दगीभर धर्मनिष्टलेझैँ लगातार लट्रीका टिकट किनिरहिन् । भाग्यले उनलाई कहिल्यै साथ दिएन । तैपनि उनले लट्री किन्न छोडिनन् । अन्ततः उनको मृत्यु भएपछि भने उनको मृतभाग्यले उनलाई साथ दियो । मर्नुभन्दा केही दिनअघि उनले किनेको टिकटले ज्याकपट हात पार्यो । उनी त आफ्ना इच्छा- आकाङ्क्षाहरू आफैँसित लिएर गइहालिन्, उनका परिवारका सदस्यहरूलाई भने ठूलो मोज भयो ।
लट्रीको खेलमा देखिने एउटा चाखलाग्दो पक्ष लट्री जित्ने व्यक्तिको वरिपरि मँडराउने तथाकथित आफन्त तथा साथीहरूको अत्यधिक खुसी र अपेक्षा पनि हो । जीवनमा कहिल्यै सम्पर्कमा नरहेकाहरू अचानक एकदमै नजिक हुन आउँछन् र चाकडीमा लाग्छन् । अर्को पक्ष पैसाका लागि आफ्नै आमा- बाबुलाई पनि ठग्ने प्रयत्न गर्नु हो । यस्तै एक प्रसँग यहाँ जोड्नु उपयुक्त हुनेछ । कुरा हो क्यालिफोर्निया निवासी ७६ वर्षीया एटा मे उरकुहटको । उनी लट्री खेल्न भनेपछि हुरूक्कै हुन्थिन् । एकदिन उनले किनेको एउटा लट्रीको ज्याकपट उनलाई पर्यो, जसको रकम थियो ५१ मिलियन (५ करोड १० लाख) डलर । त्यो समाचार सुनेर एकछिन त उनको हंसले ठाउँ नै छोड्यो ।आफ्नो एकमात्र छोरालाई साथमा लिई उनी टिकट किनेको पसलमा गइन् । त्यहाँ पुगेर लट्रीको विजेताले टिकटमा सही गर्नुपर्ने भयो । अचानक छोराको मति बिग्रियो । उसले आमालाई एकातिर ठेलेर टिकटमा सही गरेर दियो । आमा हेरेकोहेर्यै भइन् । उसको भनाइ थियो- त्यो टिकट उसले आफ्नै पैसाले किनेको थियो । आमाले लट्री आयोगमा उजुरी गरिन् । पछि आधा- आधा गर्ने फैसला भयो । आमाचाहिँलाई यो कुरा पटक्कै चित्त बुझेको थिएन । उनले आधा पैसा लिएर अदालतमा छोराको विरुद्ध मुद्धा ठोकिन् । मुद्धा निकै लामो चल्यो र अन्ततोगत्वा उनले आधा पाएको रकममध्ये प्रायजसो सबै अदालतको खर्च र महँगो वकिलको फिस तिर्दैमा सकियो । उनले त्यत्रो रकमको लट्री जितेर पनि सुखको अनुभूति गर्न पाइनन् ।
भाग्यमानी अभागीको दर्जामा ७३ वर्षीय कार्ल एटवुड भन्ने व्यक्ति पनि पर्छन् । इन्डियाना राज्यको एलवुड भन्ने ठाउँमा बसोबास गर्ने कार्लले सन् २००४ मा एउटा लट्रीको टिकट किने । भाग्यवश ७३ हजार ४५० डलरको त्यो ज्याकपट उनलाई पर्यो । खबर सुनेको केही घन्टापछि उनी टिकट किनेको ग्रोसरी स्टोरतर्फ खानेकुरा किन्न जाँदैथिए अचानक पछाडिबाट एउटा ट्रकले हान्निँदै आएर ठक्कर दियो । अस्पताल पुर्याएको केही बेरमै उनको मृत्यु भयो ।
अर्का भाग्यमानी अभागी म्यासाचुसेट्सको बोस्टन सहर निवासी ३७ वर्षीय विलियम करी पनि हुन् । सन् १९९० को सेप्टेम्बर महिनामा उनले म्यासाचुसेट्स मेगाबक्स लट्रीको साढे तीन मिलियन (३० लाख ५० हजार) डलरको लट्री किने र जिते पनि । तर त्यो ज्याकपट जितेको दुई हप्तामैँ उनको हृदयगति बन्द भई मृत्यु भयो । अब माथिका व्यक्तिहरूलाई भाग्यमानी भन्ने कि अभागी भन्ने ? मेरो विचारमा ‘भाग्यमानी अभागी’ भन्नु नै उपयुक्त हुनेछ । उनीहरूले ठूलो धनराशि जिते त्यसैले भाग्यमानी, त्यो धनराशि उपभोग गर्न पाएनन्, त्यसैले अभागी ।
जिन्दगीभर लट्री परोस् भनेर प्रार्थना गर्नु अनि अन्ततोगत्वा परेपछि त्यसको उपभोग गर्नबाट वन्चित हुनु सायद मानिसको सृष्टिसँगै टाँसिएर आएको नियति हो । अस्ट्रेलियाका बिल मोर्गन भन्ने व्यक्तिले दुईदुईपल्ट मृत्युलाई लघारे, डरलाग्दो कार- दुर्घटनाबाट बाँचे । तर त्यसपछि उनी एकाएक कोमामा गए । उनी कोमामा रहेकै बखत उनले पहिले नै लिइराखेको लट्रीको ज्याकपट उनलाई पर्यो । त्यसको केही दिनपछि उनी कोमाबाट बिउँतिए र घर आई अर्को पनि लट्री किने । दुर्भाग्यवश उनको स्वास्थ्य फेरि खराब भयो र उनी पुनः अस्पताल भर्ना भए । उनी फेरि कोमामा गए । केही दिनपछि कोमाबाट बिउँतिँदा फेरि दोस्रो लट्री पनि उनकै नाममा परेको सुनेर बल्लबल्ल होसमा आएका उनी पुनः कोमामा झरे ! त्यसपछि उनी कहिल्यै बौरिएनन् र दुईदुईवटा लट्रीको अपार धन खर्च गर्न नपाई उनी परमधाम पुगे । बिचरा !
वेस्ट भर्जिनियाका ज्याक ह्विटेकर (उनी भर्खरै २०२० मा दिवङ्गत भए) को कथा पनि रमाइलै छ । लट्री परेर पनि चैनले बस्न नपाएको उनको दुखेसो छ । निर्माण- व्यवसायी उनले सन् २००४ मा ३१४ मिलियन (३१ करोड ४० लाख) डलरको पावरबल लट्री जिते । त्यो अमेरिकाको त्यसवेलाको सबैभन्दा ठूलो ज्याकपट थियो र एउटै व्यक्तिले सम्पूर्ण रकम जितेको पहिलो अवसर थियो । आयकर कट्टी गरी एकमुष्ट ११३.४ मिलियन हातमा लिएर उनी दङ्ग परे । तर चाँडै नै उनका दुर्दिनहरू आउनथाले । कैयौँले उनका बारेमा अफवाह फैलाए, कतिले मुद्धा ठोके, कतिले पैसा मागेर हत्तु बनाए । कसैमाथि पनि विश्वास गर्न नसक्ने अवस्थामा पुगे उनी । बेकारमा लट्री किनेछु भनेर उनले पछुतो गर्ने गरेको कुरा उनका साथीहरूले भन्थे ।
लट्री जितेपछि गतिलो रकम लिएर उनलाई उनकी पत्नीले छोडेर गइन् । लागुपदार्थ दुव्र्यसनी उनकी एउटी नातिनी थिइन्, जसको एउटा साथी उनकै घरमा आएर मर्न पुग्यो । तीन महिनापछि ती नातिनीले पनि उनलाई छोडेर गइन् । उनकी छोरी जिन्जर पनि २००९ मा क्यान्सरबाट मरिन् । सन् २०१६ मा भर्जिनियास्थित उनको घर आगलागीमा परी ध्वस्त भयो । बिस्तारै यी सब समस्याहरूले गर्दा उनी रक्सी र जुवाको लतमा फँस्दै जानथाले । उनको घर र कारमा प्रायजसो चोरी हुनथाल्यो । एउटा स्ट्रिप क्लबमा गएको वेला पार्किङ्स्थलमा राखेको उनको कारबाट चोरहरूले २ लाख ४२ हजार नगद र १ लाख बराबरको क्यासियर चेकले भरिएको उनको ब्रिफकेस चोरेर लगे । उनलाई दुईपल्ट मापसे गरी गाडी चलाएको अभियोगमा गिरफ्तार गरियो । त्यसैगरी उनले जुवा खेल्न जानेगरेको क्यासिनोका तीनजना महिला कर्मचारीले उनीमाथि यौनहिंसाको झुटो आरोप लगाउँदै मुद्धा ठोके ।
यसरी अकस्मात आकाशबाट झरेर आउने धन (विन्डफल) साँच्चै नै बिखालु हुने रहेछ भन्ने देखिन्छ । यस्तो धनले मानिसको दिनको चैन र रातको निद्रा हडप त गर्छ नै साथै वक्रदृष्टि भएका व्यक्तिहरूलाई गलत काम गर्न प्रोत्साहित पनि गर्दछ भन्ने कुराको पुष्टि गर्ने कैयौँ उदाहरण पाइन्छन् । ती सबै दृष्टान्तहरूको व्याख्या गर्न यहाँ स्थानको अभाव हुनेभएकाले केवल एउटाको मात्र चर्चा गरिन्छ । दुर्भाग्यवश यस दृष्टान्तको प्रमुख पात्र हाम्रै देशका एकजना युवक रहेका छन् ।
एक जना पङ्कज जोशी भन्ने नेपाली युवक सन् २००९ ताका अमेरिकाको युनिभर्सिटी अफ टेक्सासमा विद्यार्थी हुने गर्थे । उनी खाली समयमा टेक्सासकै ग्य्रान्ड प्रेरी भन्ने ठाउँको एक लक्की फुड स्टोरमा क्लर्कका रूपमा काम गर्थे । एकदिन एकजना विलिस विलिस भन्ने अमेरिकी ज्येष्ठ नागरिक त्यस स्टोरमा आफ्ना केही लट्री टिकट पर्याे कि परेन भनेर मेसिनद्वारा चेक गराउन आए । पङ्कजले भटाभट एकपछि अर्को गर्दै टिकट मेसिनमा हालेर हेरे । अचानक एउटा टिकटमा २ डलर र अर्को टिकटमा १० लाख डलरको ज्याकपट परेको देखे । त्यो देख्नेबित्तिकै उनको खुराफाती दिमागले फाड्दोल हान्यो । उनले विलिस विलिसलाई ‘तपाईंको एउटा २ डलरको मात्र चिट्ठा परेछ’ भनेर दुई डलर रकम नगद दिए । पङ्कजमाथि विश्वास गरी विलिस विलिस दुई डलर लिएर हिँडे । (त्यसवेलाको समयमा टिकट जाँच्ने मेसिन पसलको काउन्टर पछाडि हुने गथ्र्यो । त्यसपछि अर्को खालको मेसिन आयो जुन काउन्टर बाहिरै राखिन्थ्यो तर त्यसमा आफैँले चेक गर्दा परिणाम त देखिन्थ्यो तर रकम देखिँदैनथ्यो । अहिले त्यस मेसिनमा रकम पनि देखिन्छ ।
पङ्कजले अर्को दिन विलिस विलिसको टिकटको पछाडि आफूले हस्ताक्षर गरे अनि त्यो पुरस्कार लट्री आयोगबाट प्राप्त गरे। उनले आयकर कटाएर एकमुष्ट ७ लाख ५० हजार डलर लिएर त्यो रकम टेक्सासका बिभिन्न बैँकहरूमा खाता खोली जम्मा गरे । (अमेरिकामा लट्री ज्याकपटको भुक्तानी दुई किसिमले हुन्छ: १. एकमुष्ट जसमा सम्पूर्ण रकममा लाग्ने आयकर कटाएर बाँकी रहन आएको रकम एकपल्टमै सबै भुक्तानी र २. जीवनपर्यन्त एउटा निश्चित रकम आयकर कटाएर प्रत्येक महिना खातामा जम्मा हुने भुक्तानी) उनका सहकर्मीहरूले पङ्कजको व्यवहार र स्वभावमा परिवर्तन आएको अनुभव गरे । उनी पसलमा धेरै बेर बस्न छोडे । एकदुई दिनपछि देखि त उनी आउनै छोडे । अचानक लट्री विजेताको नम्बर टिभीमा उद्घोषण गरियो । विलिस विलिसले पनि त्यो घोषणा सुने । उनले त्यस लट्रीको टिकट नम्बर घरमा लेखेर राखेका थिए । किन हो उनलाई चेक गर्न मन लाग्यो र उनले दुवै नम्बर भिडाएर हेरे । दुवै नम्बर समान देख्नेबित्तिकै उनले सबै कुरा बुझिहाले । उनले तुरून्त लट्री आयोगलाई यस कुराको रिपोर्ट गरे । प्रहरीले तुरून्त खोजतलास सुरू गर्यो तर पङ्कज फेला परेनन् । त्यसवेलासम्ममा उनी नेपाल पुगिसकेका थिए । प्रहरीले पङ्कजका सबै बैङ्कहरूमा छापा मारी उनका सबै खाताहरूबाट र साथीभाइहरूबाट गरी करिब ४ लाख डलर विलिस विलिसलाई फिर्ता गर्न सफल भयो । बाँकी ३ लाख ५० हजार डलर पङ्कजले नेपाल पुर्याए वा अमेरिकामै छोडेर गए त्योचाहिँ रहस्य नै छ । यता प्रहरीले पङ्कजको खोजतलासी गर्दा उनी ब्याङ्ककसम्म पुगेको पत्ता लगायो तर त्यहाँबाट उनी नेपाल गए वा अर्केतिर गए त्यो थाहा हुन नसकेकोले टेक्सास प्रहरीले इन्टरपोललाई खबर गर्यो, जसले उनको नाममा रेड कर्नर नोटिस जारी गरेको छ । उनी अमेरिकामा ल्याइए २० वर्षसम्मको जेल सजाय हुनेछ । एक नेपाली नागरिकले गरेको यस गलत तथा आपराधिक कार्यबाहीले गर्दा अमेरिकामा विद्ध्योपार्जन गर्दै इमानदारीकासाथ काम गरिरहेका अन्य नेपालीहरूले ठूलो बेइज्जतीको अनुभव गरे ।
एकप्रकारले भन्नु हो भने लट्री खेल्नु एक किसिमको मात नै हो । ‘के थाहा, परिहाल्छ कि ?’ भन्ने सोचाइले मानिसलाई कस्तरी निचोर्छ भने ऊ चाहेर पनि त्यसको प्रतिरोध गर्न सक्दैन । त्यसैले ऊ खुसुक्क एउटा टिकट लिइहाल्छ । यस मामलामा यस पङ्क्तिकारकी अर्धाङ्गिनी पनि कम छैनन् । उनी खाँट्टी लट्री फ्यानचाहिँ होइनन् । यसो कहिलेकाहीँ किनि टोपल्छिन् । एकपल्ट उनले ५०० डलर जितिन पनि । मचाहिँ लट्री खेल्ने कामको विरोधी भएको हुनाले उनलाई रोक्ने प्रयत्न गर्छु, पैसाको बर्बादी नगर्न सल्लाह दिनखोज्छु । तर उनी सधैँ  मलाई आफ्नो एउटा मन्त्र सुनाएर चुप बनाउँछिन् । त्यो मन्त्र हो ‘पर्यो भने आनन्द, परेन भने मैले तिरेको पैसाले कसै न कसैको भलाई हुनेछ ।’ वास्तवमा उनको सोचाइ पनि ठीकै हो किनभने प्रत्येक लट्रीको ज्याकपट पर्दा त्यसको एउटा उल्लेखनीय हिस्सा राज्य सरकारको ढुकुटीमा करको रूपमा जान्छ, जसबाट सरकारले जनहितका कार्यक्रमहरू सञ्चालन गर्दछ। यस्ता जनहितका कार्यक्रमहरूमा शिक्षा, यातायात, ज्येष्ठ नागरिक सरसुविधा, गरिबीको रेखामुनि रहने ब्यक्तिहरूलाई आर्थिक एवं खाद्यजन्य सहायता आदि पर्दछन् ।


(हाल मेरिल्यान्ड, अमेरिका निवासी निरौला स्थापित आख्यानकार, पत्रकार हुन् )
[email protected]