मेरो गाँउको भूगोलमा
सन्तपुरको नाम सन्दकपुर बनेछ
म त्यही बाटो भएर
आजभन्दा अन्दाजी ५५ वर्षअघि हिँडेको छु
साधुसन्तहरूको झुन्डमा,
हिउँ टेकेर कस्तूरी मृग हेर्दैै ।
बदलिए छ मेरो गाउँ
जताततै तासजुवाजस्तै खेलहरू पुगेछन्
कोरिया र कतारको पसिना त
एकै गाँसमा निमिट्यान्न पार्ने
जमात पो बढेछ
मेरो घर- आँगनको छेउछाउको चोकमा
बेरोजगार जमातको बिगबिगी छ
आँखा झिमिक्क पार्दा नपार्दा
दिनलाई रात बनाएर चोर्नेको भीड छ
चाहे त्यो गाँउको खेताला होस्
वा झुटतन्त्रको खेतीवाला होस्
जे पायो जहाँ पायो
चोरी गर्नेकै समय छ
स्यालको सिङ र उनिउँ फुलेको भनेर देखाउने
नटवरलालहरूको जमात बढ्दो छ
आफ्नो कन्चो जोगाएर
अर्काको सर्वनाश गर्न पल्केका
हुइयाँहरूको बिगबिगी छ ।
नाम फेरेर मेरा गाउँमा
आफैँ मैमत्ता भएकाहरू
आफूलाई नेतामा स्वयं दर्ता गर्दै
ठग्न, छल्न र मोज गर्न मस्त छन् यी दिनमा
त्यसैले त मेरो गाउँको नाम
अब अपभ्रंशित छ- गणतन्त्रमा
मौजा मौजामा मोज छ
जताततै भोज छ सङ्घीयतामा
भुरेटाकुरेहरूको- यत्रतत्र वर्चस्व छ ।
(‘वत्स’ चर्चित कवि हुन् ।)
[email protected]