• २०८० जेठ २५ बिहीबार

बा, झुठ र प्रेम

प्रज्वल अधिकारी

प्रज्वल अधिकारी

बालाई यति बिघ्न कुराहरू
थाहा हुँदाहुँदै पनि
योचाहिँ थाहा भएन कि
बच्चाहरूले झुट बुझ्छन् ।

त्यसैले त बाले सधैँ सफा झुट बोलिरहे ।

मलाई स्कुलड्रेस किनेर ल्याएको दिन
मैले बाको कमिजमाथि प्रश्न गर्दा
बा भन्थे-
‘बाबू, यो कमिज फाटेको होइन नि !
यसका यति धेरै प्वालहरूबाट
धेरै हावा छिर्छ र
तिम्रो बालाई शीतल हुन्छ ।’

मेरालागि गोल्डस्टार जुत्ता ल्याइदिएपछि
बाले भने-
‘तिम्रो बालाई
पैतालामा काउकुती लाग्दा अति मजा लाग्छ
त्यसैले त म सधैँ खाली खुट्टा हिँड्छु ।’

अगेनो चिसो भएको दिन बा भन्थे-
‘कहिलेकाहीँ निराहार व्रत बस्यो भने
भगवान खुसी हुनुहुन्छ
र हामी सबै निरोगी हुन्छौँ ।’

मलाई खाटमा सुताएपछि
बा आफू भुइँमा सुत्थे र भन्थे-
‘तिम्रो बालाई
खाटमा लचकदार डन्लपमा सुत्यो भने
एकदम ढाड दुख्छ ।’

मलाई साइकल किनेर ल्याएको दिन
बाले भने-
‘मैले वर्षौंदेखि चढ्दै आएको
यो साइकल बिरामी परेको छ
त्यसैले म पैदल हिँडेको बाबु  !’

मेरा लागि खानेकुराहरू ल्याएर
बाले भने-
‘गुँदपाक, रसवरी, मीठाईहरूले
मलाई कत्ति पनि फाइदा गर्दैनन् ।’

मैले छिमेकीको नयाँ घर देखाउँदा
बा भन्थे-
‘यो हामी बस्दै आइरहेको घरमा
धेरै लच्छिन छ
त्यसैले मैले अर्को घर नबनाएको ।’

बा मेरो पेट भोको देख्न सक्दैनथे
र साहुको खेत अधियाँ गर्थे
तर रमाइलो झूट बोल्थे-
‘अरूको नै भए पनि
जग्गा जमिन बाँझो छोड्यो भने
अन्नमाता रिसाउँछिन् र
हामीलाई श्राप दिन्छिन् ।’

बालाई यतिबिघ्न कुराहरू
थाहा हुँदाहुँदै पनि
यो चाहिँ थाहा भएन कि
बच्चाहरूले झुट बुझ्छन् ।


(प्रज्वल चर्चित युवाकवि हुन् ।)
[email protected]