२७, वैशाख २०७९ काठमाडौँ
श्री लुनकरणदास- गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८औं वर्षप्रवेशको अवसरमा मंगलबार काठमाडौंको अग्रवाल सेवा केन्द्र भवनमा आयोजित समारोहका बीच तीन स्रष्टालाई सम्मान गरिएको हो ।
साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वतीसम्मान’ तेजेश्वरबाबु ग्वंगः र ‘नारायण गोपाल संगीतसम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो । सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन् ।
समारोहमा प्रा. डा. उषा ठाकूर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्तरुपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
साहित्यकला मन्दिरले स्थापनाको वर्ष देखिनै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । हालसम्म साहित्यकला मन्दिरले करिब १० दर्जन स्रष्टाहरुलाई सम्मान गरिसकेको छ ।
स्रष्टासम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्रा. डा. त्रिरत्न मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सह्रानीय काम गरिरहेको र यही कामका कारण साहित्यकलाको क्षेत्रमा यसले विशिष्ट स्थान बनाइसकेको बताए । उनले साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले स्रष्टाहरुलाई सम्मान गर्ने कामको सुरुवात २८ वर्ष अघिनै गरेको र अहिले यसले परम्पराको रुपमा निरन्तरता पाएकोमा खुशी व्यक्त गरे ।
साहित्यकला मन्दिरका अध्यक्ष तथा कवि तथा गीतकार बसन्त चौधरीले ‘स्रष्टासम्मान’को २८ औं वर्षको उत्सव मनाउन पाउँदा आफूलाई खुशी लागेको बताए । उनले सिर्जना मार्फत समाजका हरेकक्षेत्र प्रतिबिम्बित हुने उल्लेख गर्दै सिर्जना समाजलाई नजिकबाट नियाल्ने ऐना रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. उषा ठाकुरले बसन्त चौधरीले साहित्य तथा कला क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेकी थिइन् । साहित्यकला मन्दिरले प्रत्येक वर्ष स्रष्टासम्मान तथा विभिन्न कृतिहरु समेत प्रकाशन गर्दै आएकोमा बधाई दिंदै यस्तो कामले निरन्तरता पाउने अपेक्षा समेत व्यक्त गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बसन्त चौधरी फाउण्डेसनका उपाध्यक्ष मेघा चौधरीले अग्रजलाई आदर र नयाँलाई प्रोत्साहनगर्ने आफूहरुको परिवारको परम्परानै रहेको उल्लेखगर्दै आगामी दिनमा साहित्यकला क्षेत्रको उन्नयनमा अनवरत लागिरहने प्रतिबद्धता जनाइन् ।
समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पण समेत गरिएको थियो ।