गीतकार प्रकाश सुवेदीको शब्द सृजना, राज सागरको सङ्गीत/ स्वर, साहस शाक्यको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ्ग/ मास्टरिङ्गमा असारै लाग्यो दर्कियो पानी…. बोलको गीति भिडियो सृजना र सेरोफेरो युट्यूव च्यानल मार्फत सार्वजनिक भएको छ ।
कोही व्यक्ति घरगाउँ छोडेर जति टाढा जान्छ त्यतिनै आफ्नो परिवार, समाज र परिवेशको महत्व बढ्दै जान्छ । यस्तै विषयवस्तुमा समेटेर असारै लाग्यो दर्कियो पानी धर्कियो यो मन घरका जहान सम्झेर उतै फर्कियो यो मन.. बोलको गीत सृजना गरिएको हो ।
जब, चाड, पर्व र घरमा कामको चटारो पर्छ तब परदेशीलाई परिवार र घरको झनै चिन्ता बढ्दछ । असार नजिकिंदै गर्दा जतिजति पानी दर्किंदै जान्छ परदेशीको मन त्यति धर्किँदै जान्छ । उसका मनमा अनेक प्रश्नहरु उब्जिँदै जान् छन् । कतै पहिरो गएर घरबारीनै पो बगाउने पो हो कि ?सिमखेतको कुलो भत्कियो होला आफ्नो अनुपस्थितिमा कस्ले बनाईदिन्छ ? बुढा भएका आमाबुबा र काखे बच्चा सहितकी श्रीमतीलाई मेलापात र घरको कामधान्न कति गाह्रो भयो होला ? मेरा बाल्यकालका साथीहरु अहिले के गर्दै होलान् ? यस्तै यस्तै‘‘
प्रवासी माटो यो जीवनशैली रुच्दैन क्यै गरि
बुझाउँ भन्छु आफ्नै मन बुझ्दैन क्यै गरि
प्रवासी जीवन साच्चिकै कष्टकर छ न त्यहाँ कोही आफन्त हुन्छ न गाउँको जस्तो आफ्नोपन र आत्मियता नै । घर छोडेर जाने बेला ताते ताते गर्दै हात समाउँदै हिड्ने कान्छी छोरी पनि अब त ठूली भैसकी होला । अब घर जाँदा नचिन्ने पो हो कि ? भन्ने अनेक प्रश्न परदेशीको मनमा उब्जिन्छन् । परदेशीलाई परिवार मात्र हैन गाउँ बेँशी, बाल्यकाल, साथीभाइ, आफन्त लगाएत सिङ्गो परिवेशको यादले सताउँछ । साच्चै भन्दा परदेशीलाई आफ्नै सँग विरानो हुनुपरेको आभास हुन्छ ।
गीतकार स्वयं प्रकाश सुवेदीको प्रस्तुति रहेको गीतको भिडियो निर्माणमा निशान घिमेरेको सम्पादन र अच्युत रेग्मीको छायाङ्कन रहेको छ। स्टूडियो भर्सनमा बनेको भिडियोमा गायक राज सागर र गायिकाद्वय जीना रसाइली विश्वकर्मा र गृष्मा खड्कालाई देख्न पाइन्छ।