बुवा तपाईं भन्नुहुन्थ्यो–
‘ती चम्किरहेका तारालाई
आफ्नो लक्ष्य सम्झी अघि बढ्नू !’
आज मेरा सपनाहरू यही आकाशमा घुमिरहने
ती तारालाई नै सम्झिरहेछन्,
म चाहन्छु ती ताराहरु टिपेर
तपाईंले देखेका सपनाहरू सजाउन
विमान चढी विदेश पुगेको
साइँला काकाको एक्लो छोरो
फर्कने दिन गन्दै काका
आफ्ना दिनहरू घटाइरहेछन्
बुवाको सास गाँठो परेपछि मात्र आउँछ रे ऊ
काइँला काकाको डाक्टर–छोरा आज पनि सहरमै छ
ऊ सहरमा बिरामी निको पारी
घरमा पैसा पठाउँदैछ
यहाँ एक्लै उसका बिरामी बुवा
उपचार गर्न सकिरहेका छैनन्
छोरा आउने दिन गन्दै
आगनमा उम्रेको तुलसी चपाई
ओखती गरिरहेछन् ।
म तारा टिप्न खोज्दैछु
ती सेता बादलले मलाई रोकिरहेछन्
घरि त्यो चन्द्रमालाई छेकिरहेकाछन्
बुबा ! मलाई त्यो यानमा चढ्नु छ
जसले कहीँ नरोकी मलाई
ती तारासम्म पुर्याओस्,
तपाईंले देखेको सपना टिपेर ल्याउँछु
भलै मेरा सपना
ती सेता बादलमै अल्झिऊन्
मलाई जानु छैन त्यो देश बुबा
जहाँबाट मैले तपाईंलाई अलमल्याई
बाटो कुर्न लगाइरहूँ
बन्नु छैन डाक्टर
बिरामी बुवाभन्दा बिरामी पैसालाई माया गरूँ
यो यानमा चढ्नु छ,
जुन तपाईंको माया र आशीर्वादले उडोस्
सेवा र सद्भावले बनोस्
आगनमा रहेको तुलसीको बोटझैँ
श्रद्धेय रहोस्, प्रिय रहोस्
बरु भनोस्समाजले मलाई बेरोजगार
जे–जे भनेपनि छ स्वीकार ।
(जोशी सक्रिय कवि हुन्)
[email protected]