बिहानीको पहिलो प्रहरमा
फुत्केर आयो
एक झोक्का हावा
तिम्रो आलिङ्गनबाट
बिउँझायो चुम्बन गर्दै
मेरो निद्रालाई !
बिउँझे म सर्वाङ्ग
देखे प्रभातिपवनमा
तिम्रो आकृति
तिमी ठानेर वासन्ती बतासलाई नै
गरेँ बलियो आलिङ्गन
हाम्रो आलिङ्गनको मध्यविन्दुबाट
जन्मियो देदीप्यमान सूर्य !
सङ्गीतमय झङ्कार
निस्कियो स्वर्णिम किरणहरूबाट
तिम्रा हातका चुराहरुको जस्तै
पुलकित बन्यो मन
सूर्यमुखी फूलजस्तै !
घामफूलले लाली दलेर ओठमा
टलक्क टल्काएको तिम्रो उज्यालो निधारमा
चुम्बन गर्दै घामलेजस्तै
राखेर शिरमा तिलस्मी हात
लियाँै हामीले सहस्र कोटी
सूर्यको आशिष
तिम्रो इन्द्रधनुषी छातीबाट उठेको
सौम्य प्रेमको सोडसोपचार चढाएर
घुमेँ तुलसीको मठ
मनाएँ मनभित्रै
राधा–तुलसीको विवाहोत्सव
जोडेर तिम्रो अधरको किनारदेखि
मेरो अधरसम्मको झोलुङ्गेपुल
तारेर फूलपातीको लर्कन
रचाउन खोजेँ एकादशीको रासपर्व
सीमा नाघेर कालको
कविताजस्तै बनाउँदैछु
प्रेमको स्मारक,
भगाएर विरहका स्वरहरू
बजाउन खोज्दैछु प्रेमको बाँसुरी,
तिम्रै प्रेमको सुमधुर धुनमा
मयुरले जस्तै फिँजाउदै पङ्ख
नाच्ने सङ्कल्प गरेँ
तिमीसँग
प्राकृत जीवनको नृत्य !!
(घिमिरे चर्चित साहित्यकार तथा समाजसेवी हुन्।)
ghimirerd@rd