• २०८१ माघ २ बुधबार

देख्नु, बुझ्नु र लेख्नु !

डा. विष्णुविभु घिमिरे

डा. विष्णुविभु घिमिरे

देख्न त आँखा हुने सबैले देख्छन् तर देखेको कुरा बुझ्न, चिन्न र अनुभूति गर्न भने सबैले सक्तैनन् । जसको जति चेतना र अन्तर्दृष्टि शक्ति हुन्छ उसले उति नै बुझ्न, चिन्न र अनुभूति गर्न सक्छ । लेख्न त धेरैले लेख्छन् तर साँच्चिकै कतिले लेख्छन् ? त्यसमा कति भिजेर लेख्छन् ? कहाँसम्म गहिराइमा डुबुल्की मारेर लेख्छन् ? लेखाइको प्रस्तुति र बान्कीमा कति नयाँ र निजिपन प्रयोग गरेका छन् ? त्यसैमा कुनै पनि कृतिको सर्वोच्चता, उत्कृष्टता र बाँच्ने आयु भर पर्छ ।

लेख्नुको अन्त्य र देख्नुको सीमा सायद हुँदैन । लेख्नेले जति लेखेँ भने पनि देख्नेले जति देखेँ भने पनि यथार्थमा लेखिन बाँकी नै रहन्छ र देखिन पनि बाँकी नै रहन्छ । जस्तो चन्द्रमा, तारा, नदी, सूर्य, फूल, पृथ्वी, बादल, ऋतु, मौसम, आकाश, मानिस, सुन्दरी, प्रेम आदि–आदि । यस्तै यस्ता असङ्ख्य विषयवस्तुहरू छन्– जसलाई अनादिदेखि अहिलेसम्म निरन्तर हेर्दा पनि न सम्पूर्ण लेख्न सकिएको छ, न सम्पूर्ण देख्न सकिएको छ । ती सबैसबै त्यहाँदेखि यहाँसम्म सधैँसधैँ नयाँ लाग्छन् देख्नेका अनुभूतिमा, नित्य नवीननवीन लाग्छन् लेख्नेका लागि ।

मलाई लाग्छ हामी देख्नेहरूभित्र र ती देखाइहरूलाई लेख्नेहरूभित्र एउटा नजानिँदो अहंकार छ । त्यो हो– मैले देखेको पूरै देखेको हो, मैले लेखेको सम्पूर्ण लेखेको हो । प्रथमतः देखाइमा नै स्पष्ट नभई लेखाइमा लाग्छौँ भने कति सत्य लेख्छौँ, कति तथ्य खोतल्छौँ । सायद एउटा मीठो भ्रम लेख्छौँ र यही भ्रमको फेरोमा घुम्दाघुम्दै जीवनको यथार्थ सत्यलाई अलिकति पनि स्पर्श नगरी समाप्त हुन्छौँ ।

भनिन्छ पनि महान् ग्रन्थ लेख्नलाई विषयवस्तु पनि महान् नैं हुनुपर्छ, उपियाँमाथि महान् ग्रन्थ लेख्न सकिन्न तर यस्ता तुच्छ विषयवस्तुमाथि ग्रन्थ लेख्नेहरूको भने कमी छैन । यसरी सोच्दा कहिलेककहीँ त लाग्छ संसारमा यत्रो लेखिएर पनि वास्तवमा केही लेखिएन छ । निरन्तर, पटक–पटक आँखा तट्ट्याउञ्जेल हेर्दा पनि देख्नुपर्ने वास्तवमा केही देखिएन छ । लेख्नु एउटा लेख्य भ्रमजस्तो, देख्नु एउटा दृष्टि भ्रमजस्तो कस्तो–कस्तो !! जीवन भने देख्न र लेख्नबाट लुक्दै, भाग्दै एउटा कोलाहलपूर्ण भीडमा उभिएको छ । जसलाई देख्न, छुन, समाउन र बुझ्न झन्झन् कठिन हुँदै गएको छ ।

अहिलेसम्म हामी जीवनका बारेमा स्पष्ट भएका छैनौँ, जगतका बारेमा स्पष्ट छैनौँ र स्पष्ट छैनौँ आफू बाँचेको काल चेतनामा । तैपनि लेखिरह्यौँ, लेखिरहेछौँ र अनन्तसम्म सायद लेखिरहने छौँ । जीवन, जगत् र कालचेतना भएसम्म लेखिरहने छौँ । मानिसहरूलाई जीवन, जगत् र चेतनाबोध जहिलेदेखि भयो, त्यसबेलादेखि यतिबेलासम्म आइपुग्दा असङ्ख्य डङ्गुरका डङगुर लाखौँ लेखक, कविहरूले लेखिसक्दा पनि यो कस्तो अचम्म र विचित्रको अनुभवबोध भइरहेछ– अहिलेसम्म लेखेको त थोरै नै जस्तो लाग्छ । जीवनको विराटस्वरूप, जगतको विशाल, व्यापक रूप र कालचेतनाको सीमाहीन अनन्त सेरोफेरोभित्र आफ्नो अनुभूति, विचार र चेतना सामथ्र्यले जति समात्न सक्यो सायद हामीले त्यति नैं बुझ्यौँ, त्यति नैं देख्यौँ र त्यति नैं लेख्यौँ । जति बुझ्यौँ, जति देख्यौँ र जति लेख्यौँ– सबै अपूर्ण हुन् जान्दाजान्दै पनि आफूभित्रको अहंकारले भन्छ– मैले बुझेभन्दा पर सत्य छैंन । मैले देखेभन्दा उता जगत् छैन । मैले लेखेभन्दा त्यसबारेमा लेख्न बाँकी केही छंैन । धेरै कम लेखक मात्र यो लेखकीय अहंकारबाट मुक्त भई कालजयी अथवा युगस्रष्टाका रूपमा स्थापित हुनसक्छन् ।

हामी सायद लेख्छौँ, यस अर्थमा भनेको हुँ– सायद हामी लेख्छौँ मात्र । अक्षरहरू, शब्दहरू, वाक्यहरू– सायद हामी भाषा लेख्छौँ । भन्न त हामी भन्छौँ– हामी जीवन स्पष्ट पार्न लेख्छौँ, जगत् स्पष्ट पार्न लेख्छौँ । आफू बाँचेको आफ्नो समय अर्थात् कालचेतना स्पष्ट पार्न लेख्छौँ । स्पष्ट पार्न लेख्छौँ त भन्छौँ तर हामी लेख्नेहरू यसमा कति स्पष्ट छौँ ।

हामी जन्मन चाहेका थिएनौँ सायद, त्यति बेला जन्मनेबित्तिकै आफ्नी आमालाई आफूलाई जन्माएकोमा अस्वीकार गर्दै रोएका थियौँ । आज जसरी बाँचेका छौँ, यो बँचाइ परिवर्तन गर्न मन लाग्छ, तर सक्दैनौँ । हामी जसरी बाँचेका छौँ, यस्तो बाँच्न चाहेका छैनौँ तर बाँच्न बाध्य छौँ । मृत्यु कोही चाहँदैन तर एक दिन मर्नै पर्छ । हामी नचाहँदा नचाहँदै जन्म्यौँ, यसरी बाँच्न नचाहँदा नचाँहदै बाँचिरहेछौँ र आखिर हाम्रो चाहना विपरीत नैं मृत्युवरण गर्नुपर्छ ।

यसरी हामी जन्मँदै स्पष्ट छैनौँ, बाँच्नुमा पनि स्पष्ट छैनौँ र मर्नुमा पनि स्पष्ट छैनौँ । जीवनका महत्त्वपूर्ण कुरा जन्मनु, बाँच्नु र मर्नु यी तीन कुरा नैं आफ्नो इच्छा, चाहना र शक्तिभन्दा बाहिर, आफ्नो अधीनमा छैनन् भने अब वाँकी हामीसँग के छ त ? अहिलेसम्म यो प्रश्न उत्तरविहीन छ । यही प्रश्नको जवाफ खोज्ने प्रयत्नमा देख्ने अभ्यास, लेख्ने प्रण ग¥यौँ भने मात्र आफ्नो लेखनलाई, सिर्जनालाई एउटा खास उचाइसम्म पु¥याउन सक्छौँ र कालजयी कृतिहरू दिन सक्छौँ । अन्यथा घुमिफिरी रुम्जाटार ।