• २०८२ बैशाख ५ शुक्रबार

मृत्युलाई सच्याउन सकिँदैन

रमण घिमिरे

रमण घिमिरे

गाउँ चलायमान छ । किनभने गाउँमा चेतना पुगिसकेको छैन । गाउँले मास्क र सेनिटाइजरको नाम पनि सुनेको छैन । ‘कोभिड’ को नामसम्म फाट्टफुट्ट सुनेको छ । तर यसको सन्त्रासबाट पूरै अनभिज्ञ छ । त्यसैले गाउँ निविघ्न छ । गाउँ किन पनि चलायमान छ भने उसले दिनभरि पसिना नबगाई परिवारको मुखमा दुई छाक गाँस पुर्याउन मुस्किल हुन्छ । यो गाउँको बाध्यता हो ।
सहर पूरै सन्त्रासमा छ । पटक्कैसचेत छैन । यद्यपि सहरको पनि काम नगरी हातमुख जोड्नसक्ने सामथ्र्य छैन । तर यावत् जानकारी भएर पनि सहर खेलाँची गरिरहेको छ । मास्क र सामाजिक दूरीको चेतनाबाट अझै बेखबर छ । टोलहरूमा केही मानिस मास्क लगाएका भेटिन्छन्, धेरै त मास्क नै लगाउँदैनन् । तर लगाउनेहरू पनि मास्कप्रतिको शून्यचेतना र हेलचक्य्राइँले अधिकांशका मास्कहरू चिउँडोमा बेरिएका भेटिन्छन् । उनीहरूले प्रहरीको हप्कीदप्कीबाट जोगिन मास्क लगाइटोपलेका छन्, अरूका लागि । आफ्नो र आफूवरिपरिका जनको स्वास्थ्यरक्षाका लागि होइन । पूजाआजामा पुरेतले भनेपछि कुशसँग पानी समातेझैँ एउटा कर्मकाण्ड पूरा गरिरहेछन् । उनीहरू मुख जोडेर कोभिडकै गफ गरिरहेका हुन्छन् । उनीहरूलाई बिहान-बेलुका प्रसारित कोभिडसम्बन्धी हरेक समाचार कण्ठ हुन्छन् । उनीहरू दिउँसो र झम्के साँझ नपरून्जेल चोक र घुम्तीहरूमा तिनै समाचारमाथि विश्लेषण गरिरहेका हुन्छन् । तर उनीहरूको चिउँडोको मास्क तीन अङ्गुलमाथिको मुखसम्म पुग्नसकेकै हुँदैन । आफ्ना कुइनोले अरूको कु्इना नछोइएको हुँदैन । आफ्नो शरीर अरूसँग नठेसिई बस्नै सकेका हुँदैनन् ।
तरकारी पसलमा जाऊँ, त्यहीँ ठेलमठेल छ । खाद्यान्य पसलमा जाऊँ त्यहीँ घुइँचो छ । ब्याङ्क या मलहरूमा गार्डहरूलाई सामाजिक दूरी कायम गराउन हम्मेहम्मे भइरहेको छ । कोरोनाको महामारीभन्दा चिउँडोमा मास्क लगाएकाहरूको सर्वत्र बिगबिगी छ । कसैले कसैको सल्लाह सुन्दैन । यस्ता सल्लाहहरू सहरमा हावामा उडिरहेछन्, कोभिडको जोखिमलाई लत्याएर ।
हरेक बिहान एफएममा समाचार सुनिन्छ । अब कोभिडबाट मृत्यु हुनेको सङ्ख्याले हजारको आकडा छुन लागिसक्यो । फोन गर्दैपिच्छे नेपाल टेलिकमकी महिलाले सुमधुर स्वरमा गम्भीर सूचना सम्प्रेषण गर्छिन्- ‘कोरोना महामारीको सङ्क्रमणबाट आफू बँचौँ र अरूलाई पनि बचाऔँ ।’ तर बँचाउने कसले ? मानिस नै मानिसबाट सिकार भइरहेको छ । यतिखेर राजधानीको प्रदूषण केही कम भएको छ तर एउटा छिमेकीले दर्जनौँ छिमेकीहरूलाई कोभिडबाट प्रदूषित पारिरहेको छ ।
चेतना किनेर पाइँदैन । आफैँले आर्जन गर्ने कुरा हो यो । तर भएको चेतना पनि कोराना मिश्रित हावामा उडिरहेछ-सङ्क्रमित भएर, प्रत्युत्पादक भएर र विषाक्त भएर ।
टेलिकमको सन्देश त सधैँ सुनिरहेको राष्ट्रगानजस्तो भएको छ । सबैलाई कण्ठै छ, सुनिरहनुृपर्ने औचित्य छैन । सुनेर पनि यसलाई व्यवहारमा लागू गर्नुपर्ने कुनै औचित्य छैन । रेडियो, टेलिभिजन या आमसञ्चारले भट्ट्याइरहेछन्- ‘कोभिडबाट सावधान हुनूस्  ! मास्क अनिवार्य लगाउनूस् !’ तर समाचारमा मात्र सावधानी भइरहेको छ- मानिसको बानी-व्यवहार जस्ताको तस्तै छ । कहाँ अलमलिएको छ मानिसको चेतना  ?
सबैलाई हतारो छ । यो हतारो पसलहरूमा मात्र होइन, सडकबजारमा झन् बढी छ । सडकमा को पहिला ग्रिन सिग्नल पार गर्ने भन्ने होडबाजी चलेको छ । भीडलाई ठेल्दै सामान किन्न पहिला हुनेको पुरानो रोग गएकै छैन । हातमा ‘ट्राफिक नियमको पालना गरौँ’  भन्ने बोर्ड हातमा समातेर मूर्तिवत् घन्टौँ एकै ठाउँ उभिएका छन् ट्राफिक प्रहरी- भाइबहिनीहरू । तर नियमको कसैलाई बाल मतलब छैन । पाँच मिनेटको दूरी पार गर्न ६० किलोमिटर प्रतिघन्टामा सवारी हुँइक्याइन्छ । ढिलो चलाए बढीमा पाँच मिनेटको फरक पर्ला तर कसले यो कुरा बुझिदिने र कसले बुझाइदिने ? सडकमा अलिकति बायाँ छेउ खाली छोड्नु हुँदैन, त्यही चेपबाट तीव्र गतिमा बाइक हुँइक्याउँदै निस्किन्छ युगल जोडी । छपक्कै दुई शरीर एक भएर टाँसिएका हुन्छन् बाइकधारीहरू । बसको कन्डक्टर चिउँडोतिर मास्क सार्दै ख्वाक्क गर्छ र सडकमै थुक्छ अनि चिउँडोबाट मुखतिर मास्क नसारी कराउन थाल्छ- ‘लौ छिटोछिटो चड्नूस् ! रत्नपार्क, लगनखेल, बौद्ध, नारायणगोपाल चोक, ग्वार्को, कलङ्की !’ कहाँ छ कोरोनाको कहर ? कहाँ छ कोभिड महामारीको त्रास ! तर कोरोना अर्थात् कोभिड महामारीको सिकार हुनेको सङ्ख्या एक हजार छुन लागिसक्यो । टोल या गाउँबस्तीका मृत्यु हुनेको सङ्ख्याको त कुनै लेखाजोखै छैन ।
दिक्क भएर होला ट्राफिक प्रहरीहरूले पनि टिठी फुक्न छाडेका छन् अब त । सुतेकोलाई उठाउन सकिन्छ तर सुतेको स्वाङ गर्नेलाई उठाउन सकिँदैन भनिन्छ नि ! विचरा ट्राफिक प्रहरी पनि ती सुतेको स्वाङ गर्नेहरूलाई ब्यूँझाउन असमर्थ छन् । त्यसैले सिठी फुक्न छाडेका छन् । सिठी फुक्दा मुखको मास्क तल सार्नुपर्छ । यसले सङ्क्रमित हुने खतरा अझ प्रवल हुन्छ ।ट्राफिक पनि त मानिस नै हुन् । कुनै रोबोट त होइनन् । उनीहरूलाई पनि कोभिडको प्रकोपले गाँज्नसक्छ, गाँजिरहेको छ पनि । उनीहरूले जति प्रयास गर्दा पनि मानिस भन्ने यस ‘चेतनशील’ जीवात्माले यस महामारीमा पनि टेर्न छोडेपछि ट्राफिक प्रहरीले पनि आफ्नो ज्यान हत्केलामा राखेर मास्क हटाएर कति सिठी फुकिरहोस्  !
निर्भयी हुनु आफ्नो ठाउँमा छ । सचेतनायुक्त निर्भयले निश्चिय नै आत्मबल वृद्धि गराउँछ । तर जानीजानी खेलाँची गर्नु र अनुशासनहीन हुनु सामाजिक अपराध पनि हो । किनभने एकजना सङ्क्रमितको खेलाँचीले गर्दा उसको सम्पर्कमा आउने एक दर्जन मानिसमा त्यो सक्रमण सार्नसक्छ । र, उसैको खेलाँचीका कारण धेरैको मृत्यु हुनसक्छ । त्यसैले यतिवेला यस्तो खेलाँची पनि सामाजिक अपराध नै हो ।
मृत्यु हावामा डुलिरहेको छ । मृत्यु श्वास- प्रश्वासमा तरङ्गित भइरहेछ । मृत्य हातमा छ, मुखमा छ, आँखामा छ । सर्वत्र मृत्यु ओहोर- दोहोर गरिरहेछ । जुन हावामा हामी सास फेर्छौं, त्यो हावा नै विषाक्त भएको छ । अब हावामा प्राणवायु भनिने अक्सिजन सकिँदै र मृत्युवायु बढ्दै गएको अवस्था छ । तर मानिस पूर्ववत् त्यही हावामा मनमौजी भएर डुलिरहेको छ, निस्फिक्री ।
केही मान्यजनहरू अस्पतालमा छन् । उनीहरूलाई फोन गर्दा सीमातीत कष्ट भएको पीडा सुनाउँछन् । आफूले केही गर्नसक्ने अवस्था छैन । उनीहरू सकिनसकी मृत्युसँग लडिरहेछन् । उनीहरूको आर्तनाद सुनेर मुटु बाउँडिन्छ, हातखुट्टा फतक्क गल्छन् । चिकित्सकहरू दिन- रात नभनी उनीहरूको जीवनका लागि प्रयत्नरत छन् । चिकित्सकहरू स्वयम् कोभिडको आक्रमणबाट बितिरहेछन् । यो लडाइँ जितेर आएका चिकित्सकहरू भनिरहेछन्- ‘यसलाई सामान्य रुँघाखोकी ठानेर असावधानी नगर्नूस्, हामी स्वयम् मृत्युको मुखबाट फर्केर यो आग्रह गरिरहेछौँ ।’ म नाम जानेसम्मका भगवानहरूको नाम लिएर उनीहरूको जीवनका लागि भिख मागिरहेछु । दिनहुँ मागिरहन्छु । तर मानिस भन्ने जीव यति चाम्रो र जब्बर भएको छ- उसलाई यसको कुनै वास्तै छैन, ऊ पटक्कै सतर्क छैन । मृत्युको यस लीलालाई कसले बुझ्ने ? कसले कसरी बुझाउने ? चिकित्सकको अनुभवबाट पनि नसिक्ने यो पाषाण- हृदयी मानिस त अहिले पनि फुक्काफाल डगरडगर चहारिरहेकै छ । र, कोभिडलाई आमन्त्रण गरिरहेकै छ ।
आफ्ना एकदमै निकटजनहरूलाई कोभिड पोजेटिभ भएपछि मैले पनि कोभिड परीक्षण गराएँ । यसको रिजल्ट पर्खेर बसेको झन्डै ३० घन्टामा यसको त्रासले कैयौँपटक मृत्युबोध गरेँ मैले । त्यसवेला मैले मेरी श्रीमतीलाई सम्झिएँ । मैले सम्पर्क गरेका आफन्तजनलाई सम्झिएँ । अनि मैले सोचेँ- मलाई कथंकदाचित कोभिड- पोजेटिभ देखियो भने मेरी श्रीमती, मेरा आफन्तहरूलाई के भनेर क्षमायाचना गर्ने  ?  क्षमायाचना गरेर यसबाट मुक्त हुन सकिन्छ ? मलाई सङ्क्रमण भएर मैले अरूलाई यो सङ्क्रमण सारेको भए के मेरो क्षमायाचनाले उनीहरू कोभिडमुक्त हुनसक्थे ? मैले यी ३० घन्टामा कैयौँपटक आफू सँगसँगै आफन्तहरूको पनि मृत्युबोध गरेँ । धन्य ईश्वरले हात थापिदिए र म कोभिड- नेगेटिभ भएँ । एउटा ठूलो खड्गो पार गरेको अनुभूति गरेँ ।
तर जो अहिले पनि बेसारपानी, गुर्जो आदि खाएर हाच्छ्युँ गरेर कोभिडलाई उडाइदिन्छु भन्ने मानसिकतामा सलबलाइरहेका छन् । फेसबुक- ट्विटरमा केही आयुर्वेदिक विशेषज्ञ भनाउँदाहरूको ‘यो केही पनि होइन, डराउनु पर्दैन’ भनेर गलत सल्लाह मानेर संशयहीन भएका छन् । यो एकदमै गलत सल्लाह हो र एक किसिमले यस्ता दुष्प्रचारवादी प्रवृत्तिहरू पापी नै हुन् भन्छु म त । आयुर्वेदका सच्चा विज्ञहरूले कहिल्यै यसलाई महामारी होइन भनेका छैनन् । उनीहरूको उपचार पद्धति फरक होला तर उनीहरू पनि यसलाई असामान्य रोग नै भनिरहेछन् । तर मानिस त जहिले पनि सजिलो र छोटो बाटो नै खोज्छ। तर यो छोटो बाटोले यस महामारीमा कुनै गन्तव्यमा पुर्याउँदैन । पुर्याउँछ भने जीवनको अन्तिम गन्तव्यमा पुर्याउँछ- त्यो गन्तव्य हो मृत्यु ।
त्यसैले सबैलाई के बुझ्नुपर्छ भने अहिले यो छोटो र सरल बाटो हिँडेर जीवनको लामो यात्रा गर्न सम्भव नहुनसक्छ । राज्य यतिखेर सुतेको भए पनि उसले सम्प्रेषण गरेको स्वास्थ्य सुरक्षाका नियमहरूको पालना गरौँ । आफूलाई अनुशासनमा राखौँ । कसैले पनि मृत्युलाई सच्याउन सक्दैन । त्यसैले जीवन रहँदै आफूलाई सच्याउने प्रयत्न गरौँ । यतिखेर हरेको जीवन जोखिमपूर्ण यात्रामा छ ।
जीवनको मोह नहुने मानिस हुँदैन । आफ्नो जीवन सँगसँगै परत्रको जीवनरक्षाका लागि पनि सोच्ने वेला आएको छ । मानिसलाई आफ्ना बा-आमा, दिदीबहिनी, दाजुभाइ, श्रीमती, छोराछोरी, नातिपनाति सबैको माया हुन्छ र उनीहरूप्रति त्यत्तिकै दायित्व पनि हुन्छ । त्यसपछि छरछिमेक प्रतिको दायित्व, गाउँ, समाज हुँदै सम्पूर्ण देशवासीप्रतिको दायित्व पनि गाँसिदै जान्छ । सम्बन्ध भनेका एउटा मालाजस्तो न हो । गलामा झुन्डिउन्जेल त्यो गरिमामयी हुन्छ तर गलाबाट निकालेर चुँडाएपछि त्यसको अस्तित्व समाप्त हुन्छ । यो मानवीय स्वभाव, गुण, विशेषता हो । तर यी सामान्य अवस्थाका परिभाषा हुन् । अहिले त मित्रुसँग तर्किएर हिँडनुपर्ने समय आएको छ । कोरोना विश्वकै सबैभन्दा अविवेकी शत्रु भएको छ । त्यसैले अहिले शत्रुसँग जस्तै मानिससँग शारीरिक दूरता कायम गर्नुपर्ने अवस्था छ ।
र, दायित्वबोध हुने मानिस यति गैर जिम्मेवार र अनुत्तरदायी हुनै सक्तैन । तर विडम्बना यही भइरहेछ । मानिस गैरजिम्मेवार र अनुत्तरदायी भइरहेछ । चेतना भएर पनि भइरहेछ । चेतनालाई बिर्सेर पनि भइरहेछ । यो भनेको कोभिड- १९ का सन्दर्भमा सबैभन्दा घातक अवस्था हो ।
कतै हामी हाम्रै कारणले पीडित त भइरहेका छैनौ ? कतै हाम्रै कारणले स्वजन, छिमेकीहरू त प्रताडित भइरेका छैनन् ? कतै हाम्रै असावधानी अरूको मृत्युको कारण त भइरहेको छैन ? यति वेला राजादेखि रङ्कसम्म सबैले यसमाथि स्वमूल्याङ्कन गर्ने समय आएको छ । कृपया यस विषयमा आफ्नो चेतनालाई जागृत गराऔँ ।