• २०८१ कातिर्क २५ आइतबार

बारुदी समय र दसैँ

वासुदेव अधिकारी

वासुदेव अधिकारी

सानोमा
एक साल
दसैँँमा पानी परेर
म खूब रोएको थिएँ
बाले पिङ नहाल्दिँदा
म निरास भएको थिएँ

कलेज पढ्दा
केके काम परेर
म दसैँमा घर गइनँ
हजुरबा हजुरआमाले
बेस्वाद मान्नुभयो
बाआमा
खुब रुनुभयो
आँखाबाट आँसु झार्नुभयो
त्यति आँसु
बा भीरबाट लड्दा पनि आएन
आमाको हात
ढिकीको ओखलमा कुटिँदा पनि झरेन

गजब छ दसैँको महिमा ।

दसैँ-
शारदीय बाली
यो मुग्धता हो
प्रकृतिसँग
मुक्तता हो
हिलोबाट
पसिनाबाट
नियास्रोबाट

सबैलाई मनपर्छ
यसको जादु ।

दसैँमा
आकाश राम्रो कि धरती ?
पिङ नमच्चाई चाल पाइँदैन
शरदमा
हृदय खुल्छ कि पुष्पपत्र ?
विनाउन्मुक्त विचरण
केही भेउ पाइँदैन
गाउँ-सहर
देश-विदेश
परिवार-परिवेश
भोक-थकाइ
सबैसबै जोड्छ यसले

दसैँको खानपिन हो
नाना-छाना हो
यो भाकल हो
फूलपाती हो
पिङ हो
चङ्गाचेट हो
नवरात्रि हो
विजयोत्सव हो
आशीर्वाद बहने तुर्तुरे धारो हो

दसैँ उत्सव हो
ढोँग हो
भोग हो
ऋण हो
सबैसबै हो

प्रिय आफन्त,
बारुदी समयले
वित्यास कोरलेको क्षणमा
मनमनै आशीर्वाद थापूँ
बिच्छेदी गीत गाऊँ
अनेकताको नाटक गरी
सङ्क्रमणलाई जिल्लाराम पारूँ !!


(अधिकारी स्थापित साहित्यकार हुन्)
[email protected]