दोबाटोमा बसेर
पर्खिरहेको तिमीलाई देखेपछि
तर्सिएर घरभित्र पस्दै
धेरैपटक मैले पखालेकी हुँ
शरीरभरि लागेका डर र त्रासहरूलाई
अनि छर्किएर सुनपानीजस्तै
स्यानिटाइजर पटकपटक
सातो बोलाएकी हुँ आफ्नो ।
छली हौ, तिमी मायावी हौ
आउँदा चुनावअघिको
नेताजस्तै भएर आउँछौ
जब भित्र पस्छौ
चुनावपछिको नेता बन्छौ
घृणा छ मलाई
तिम्रो त्यस्तो राजनितीसँग
जहाँ दूध पिइरहेको बालकले
आमा गुमाउँदैछ
अस्ताउँदैछ विश्वका कैयौँ
छोराछोरीका शिरबाट आशीर्वादका
जूनताराहरू ।
यति वेला म हारिरहेछु
तिमी जितिरहेछौ
निरङ्कुुश तिमी
मभित्र पसेर
मलाई नै अङ्कुश लगाउँदैछौ
लामो सास फेर्न खोज्छु
तिमीलाई मन लागे
अक्सिजन घटाइदिन्छौ
मन नलागे बढाइदिन्छौ
जिब्रोमा बसेर स्वाद खोसिदिन्छौ
मेरो बास्नादार जिन्दगीको
गन्ध मेटाइ दिन्छौ
भन के गर्न खोज्दैछौ ?
तिमी सबको बिनाश चाहन्छौ ?
तर तिमी स्वयं पनि त
अविनाशी होइनौ
म तिम्रो बिनाशको
समय पर्खिरहेछु !
(पहाडी स्थापित कवि हुन)
[email protected]