समाचार

बाबा !
मलाई रङ्गसँग खेल्न बिछट्टै मन पर्छ
तर आज त्यही रङ्गसँग डर लाग्छ ।
त्यो रातो जामामा चिटिक्क भएको दिन,
भन्नु भाथ्यो नि,
कति राम्री देखिन्छे मेरी छोरी रातो लुगामा
मलाई अझै पनि रातो रङ्ग मन पर्छ,
सुहाउँछ पनि होला,
तर रातो लुगा नलाएको नै वर्षौ भयो, बाबा !
मलाई अरु रङ्ग भन्दा बढ्ता मन पर्छ रातो रङ्ग
आमाको गलाको रातो पोते
शरीरको त्यो रातो सारी
छिनछिन बज्ने हातका राता चुरा,
निधारको रातो टिका, ओठको रातो लाली,
अनि सिउँदोको रातो सिन्दुर ।
कति राम्री देखिन्थिन मेरी आमा यी पहिरनमा
लोभिन्थेँ म, यही पहिरनमा ।
समयले नेटो काट्दै गयो,
सँगै मेरो उमेरले पनि ।
फूलका कोपिलाबाट पत्रपत्र निस्के झैँ,
कुमारीबाट किशोरी भएँ
हिजो शरीरबाट रातो रङ्ग नबग्दासम्म,
चोखी थिएँ
तर रातो रङ्ग बगे सँगै, बिटुलो भएछु
होलीका ती सयौं रङ्ग मध्यको एक रङ्गले,
जीवन बदलियो मेरो
मर्दको हातको रङ्ग सिउँदोमा परेपछि,
जीवनको रुप नै फेरिने,
कस्तो अचम्म ?
सबै बाटो बन्द हुँदा,
त्यो एक बाटो हिड्नु बाध्यता बन्यो ।
ओठको मुस्कान कलिलैमा दबियों,
मुर्झाएको मुस्कान फिर्ता आउँदै गर्दा,
आउनु अगावै बिलिन भएर गयो
फुटाइयो राता चुरा,
पुछियो सिउँदोको सिन्दुर,
अनि पहिर्याइयो, निक्खर सेतो कपडा ।
रगतको टाटोले कपडाको रुप फेरे झैँ,
एक चुटकी सिन्दुरले मेरो जिन्दगी फेर्यो ।
हिजो वास्तविकतासँग डराएर भाग्ने,
हजुरकी छोरी, ठुली भइछे, बाबा !
सम्झौता गरेर बाँच्दै छे ।
क्षितिजपारीको दुनियाँबाट भए पनि,
आशीर्वाद दिनु ल !
सगुन पोखरेल