• २०८१ मंसिर १७ सोमबार

मन

डा. शान्तिमाया गिरी

डा. शान्तिमाया गिरी

सुखसयल र भोगविलासको झिलिमिलिमा लहसिएर
चमकदार जिन्दगीसँग अनुरक्त भई
मानव मूल्य र मानवतालाई किच्दै
सात्विक नियमको उल्लङघन गर्दै
निस्फिक्री गुडिरहेछ भौतिक मनको गाडी
अधोगतिको राजमार्गमा

ऐस आरामको जोखिमपूर्ण लक्ष्यलाई भेट्न
लोभी र अहम्भावीका कोसेलीहरू बोकेर
अन्योल र अज्ञानताको मित्रतालाई बलियो बनाउँदै
सिर्जनालाई विनास गर्न, सम्बन्धलाई विभाजन गर्न,
विश्वासमा सन्देह बढाउन
निरन्तर प्रयासरत छन् अनुशासनहीन मनहरू

व्यापक रूपमा चलिरहेको अनेकताको महामारीले
चिन्तित, रोगी र अवसादग्रस्त बनेको मनस्थितिलाई
खुसी, शान्ति र आरोग्यता दिलाउन
दौडधुप गर्ने क्रममा
सफलता र पतनको दोबाटोमा अलमल्ल पर्दैछ मन ।।३।।

मनका चञ्चलतासित लडाइँ र झगडा गर्दागर्दा
हिंसा, प्रतिहिंसा अनि आशान्तिमा पुगी
मनसितै सम्बन्ध बिग्रिएको मनलाई
नबाँडिएर नभाँडिएर ठिक ठाउँमा राख्न
मनसित मन नजिक हुने विधि खोज्दै
विचलित चञ्चल मनलाई
तह लगाउने उपायको खोजीमा, बल्ल
सत्सङ्ग र विवेकको शरण खोज्दैछ मन

सेकेन्ड, सेकेन्डमा रूप फेरिरहने मन
चेतनाको मालिक बन्ने प्रयासमा भ्रमित हुँदै गएपछि
घृणाको अन्त्य घृणाबाटै नहुने शाश्वत सत्य बुझेपछि
प्रेमको बाटोबाट अहिंसा र करूणाको द्वारमा पुग्न
आफैले आफनो सर्वनाश हुनबाट बँचाउन
अचेल त्यही उदण्ड मन
धारिलो जिब्रो,
धमकीदार बोली,
लोभी आँखा,
पापी मन,
अधर्मी कर्म, र
असभ्य व्यवहारको विरोधी बनी
सात्विकपनको जोडदार समर्थन गदैै हिँडिरहेछ


डा. शान्तिमाया गिरी
[email protected]