रक्सौलबाट मिथिला एक्सप्रेसको लगभग १६ घन्टाको सुस्त गतिको रेलयात्रापछिसात सय किमीको दूरी पार गरी कलकत्ता हावडा जक्सन आइपुग्दा बिहानको ४ बजिसकेको थियो ।
बिहानको मिर्मिरेमा विशालकाय दुई पिल्लरे हावडाको पुल हाम्रो आँखानजिकै लमतन्न सुतिरहेको थियो । तल बगिरहेको गङ्गा नदी सुसाएको आवाज हाम्रो कानमा नै गुन्जिरहेको आभास हुन्थ्यो । कलकत्ता सहर र हावडाको पुल मेरा लागि पानीपधेँरो जस्तै थियो । जीवनमा धेरैपल्ट कलकत्ताको यात्राको अवसर जुट्नु मेरा लागि नौलो कुरा थिएन । पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योतिबसुका पालादेखि ममता बेनर्जीसम्मको यो यात्रा निरन्तर चलिरहेकोछ ।
कुनै समयको भारतीय कम्युनिस्ट पार्टीहरूको गढ आज लगभग प्रायः समाप्त जस्तै भैसकेको छ ।
तर गरिबी र भिकारीहरू तथा पुराना भवन र गल्लीहरूले भने कहिल्यै पनि काँचुली फेर्न सकेकाछैनन् । निम्नवर्गीय मान्छेहरूको दयनीय अवस्था, मान्छेले नै तानेर दौडिने रिक्साहरूले प्रदर्शित गरिएको देखिन्थ्यो ।
कलकत्ता पुरानो ऐतिहासिक सहर हो । बङ्गालीहरूकै बाहुल्य रहेको यहाँको आफ्नै मौलिकपना देखिन्छ । एकसमयको भारतको राजधानी कलकत्तामा घुम्नका लागि हामीसँग लगभग १२ घन्टाको समय थियोे । हाम्रो अर्को रेलगाडी रातीको ८ बजे डुरुन्दो एक्सप्रेस समात्नु थियो ।
हाम्रो दिनभरिको घुम्ने कार्यक्रम एउटा जिप रिजर्भ गरेर सहज भयो ।
नजिकै रहेको दक्षिणेश्वर मातादेवीको दर्शनबाट हाम्रो बिहानको सुरुवात भयो । अनि नजिकै रहेको अर्को सर्वधर्म समन्वयको प्रतिनिधि रामाकृष्णमन्दिरको अवलोकनका साथै कलकत्ताको प्रसिद्ध भिक्टोरिया पार्क र खिर्तिपुरको बन्दरगाहमा तैरिरहेका विशालकाय जहाजहरूको मनोरम दृश्यावलोकनपछि हामी सियालद जक्सन आइपुग्दा दिउँसोको २ बजिसकेको थियो ।
बङ्गाल राज्यबाट उडिसा राज्यतर्फ दौडिन डुरुन्दो एक्सप्रेस हाम्रो स्वागतमा खडा थियो । हामी हाम्रो लगेज र नानीबाबुहरू लिएर वाताअनुकूलित डिब्बाभित्र पसिसकेका थियौँ । हाम्रो सुपरफास्ट दुरुन्दो एक्सप्रेसले पाँच सय ५० किमीको दूरी पारगर्न ८ घन्टा पनि लगाएन । सफा र सुन्दर वातनुकूलित डिब्बाभित्र सुन्दर र शान्त वातावरण थियो । हाम्रा बाबुनानीहरूले वातावरणलाई एक प्रकारको रौनकता थपिदिएका थिए । बङ्गाली र उडियाहरूको बाहुल्य देखिन्थ्यो । रातीको ९ बजिसकेको थियो । हाम्रो रेलगाडी एकतमासले दौडिरहेको थियो । बाहिर अँध्यारो निष्पट्ट केही देखिँदैन थियो ।
हाम्रो बी- १ बुगीभित्र भने एकदम रमाइलो वातावरण थियो । रातीको डिनरमा तातो भेजिटेबल सुपर र स्न्याक्सले हाम्रो स्वागत हँुदैथियो । वेटरहरू यताउता दौडिरहेका थिए । लाग्दथ्यो हामी कुनै राम्रो वाताअनुकूलित होटेलमा बसिरहेका छौँ । सफा सेता तन्ना, तकिया र कम्बल बिछ्याइएको एकमाथि एक तीन लहर सिटहरू दुईतर्फ थिए । हाम्रो ११ वटा सिटअनुसार हाम्रो सुविधाका भेजडिनर सेट हाम्रा अगाडि आइसकेका थिए । रातको १० बजिरहेको थियो । लामो यात्राको थकान र निन्द्राले हामी सबै नानीबाबुलाई खाना खुवाइ आफूले पनि खाइवरी मस्त निदायौँ । बिहानको ४ चार बज्दानबज्दै हाम्रो सुपरफास्टले उडिसा राज्यको पुरी जक्सन पुराइसकेको थियो ।
एक सालपहिले यही उडिसा राज्यबाट सुरु भएको हुतुहुतुले हाम्रो नेपालमा ठूलो आँँधीबेहरी लिएर आएको थियो र ठूलो जनधनको क्षति पुर्याएको सम्झना हामीलाई ताजै थियो । भगवान् श्रीजगन्नाथको कृपा दृष्टि यसठाँउमा देख्न सकिन्छ ।
भगवान् श्रीकृष्ण,बहिनी सुभद्रा र दाइ बलरामको विग्रह मूर्ति यस मन्दिरभित्रको मुख्य आकर्षण रहेको छ ।
श्री जगथन्नाथ मन्दिरका किंवदन्तिहरू धेरै छन् । यहाँ पकाएको महाप्रसाद– जो एकप्रकारको खिचडी हुन्छ यसको महत्त्व धेरैरहेको छ । जेजस्तो भएपनि मनले चोखो मानेर खानुपर्ने र यहाँ छुवाछूत र भेदभावपूर्ण व्यवहार कसैले कसैलाई गर्न नहुने भनाइ रहेको छ।
कलाकौशल र पुरातात्त्विक महत्त्वले भरिपूर्ण मन्दिरको भित्र दर्शन गरेर फर्कनु एउटा महाभारतको युद्ध जितेर आएकोजस्तो महसुस हुनेरहेछ ।हामीले हाम्रो यात्राको दुई दिन मन्दिर र समुद्रमा उर्लेर आएका छालहरूसँग रमाएर बितायौँ ।
बङ्गालको खाडीमा विशाल समुद्रका छालहरू डरलाग्दोसँग उर्लिएर आउँदा एक प्रकारको रमाइलो र मनभित्र कताकता चिसो पस्दोरहेछ ।
उडिसामा घुम्नका लागि धेरै पर्यटकीय स्थलहरू भए तापनि हाम्रो गन्तव्यस्थल अलि टाढै रहेको र यो हाम्रो यात्राको ट्रान्जिटस्थल मात्र भएकाले हामी हाम्रो अर्को लामो रेलयात्राको तयारीमा जुट्न लागेका थियौँ । यहाँबाट झन्डै एक हजार तीन सय किमीको यात्रा तय गर्न बाँकी नै थियो । २० तारिखको मध्य १२ बजे हामीले तिरुपति एक्सप्रेस समात्नु थियो ।
चिन्नजियर स्वामीजीको जियरमठको आत्मीय आथित्य–सत्कारमा हामी रमाइरहेका थियौँ । भारतभरि फैलिएको जियरमठले दर्शनार्थी र तीर्थयात्रीहरूका लागि निःशुल्क आवास र भोजनको व्यवस्थापन गर्दैआएको देखिन्छ ।
श्री चिन्नजियर स्वामीजीप्रति सबैको अगाध आस्था र विश्वास रहिआएको देखिन्छ । हामीले पनि महन्त श्री १००८ इन्दिरारमन रामानुजदासप्रति आत्मीय आतिथ्यको आभार व्यक्त गर्दै आफ्नु गन्तव्य तिर रवाना भयौ !
पुरी,उडिसा २०७२ बैशाख ७ का दिन तिरुपति एक्स्प्रेस रेल नं. १७४७९ १२ः३० बजे पुरी जक्सनमा खडा थियो । हामी हाम्रो समयभन्दा अगाडि नै पिल्लेट फार्म नं. ४ मा पुगिसकेका थियौँ । एक महिना अगाडि हेटौँडामा बुकिङ् गरेको सिट हाम्रो बोगी नं. एस- ३ लहरै हाम्रै नाममा सुरक्षित थिए आजको यो इन्टरनेटको दुनियाँले यो सब सहजै भएको थियो ।
हामी सबैजना आ- आफ्नो सिटमा सहजरूपमा बसिसकेका थियौँ । रेलले सिट्टी फुक्दै आफ्नो रफ्तार तेजगर्न सुरु गरिसकेको थियो । रेलको छुकछुक आवाजसँगै परपर नरिवलका रुखहरू दौडिरहेका भान हुन्थ्यो । समथर फाँटहरू, खेतीयोग्य जमिनहरू प्रशस्त देखिन्थे । दिउँसोको समय थियो । वैशाख महिनाको मध्यान्न बाहिर घाम चर्को लागिरहेको थियो । गर्मी एकदम बढिरहेको महसुस हुन्थ्यो । हाम्रो रेलको शयनकक्षका डिब्बामा हाम्रा बाबुनानीहरू रमाएर खेलिरहेका थिए । उडियाहरू आफ्नै भाषामा गफमा मस्त देखिन्थे । हिन्दी भाषा बोलेको कत्ति पनि सुनिँदैनथियो । उनीहरूको बोलिचाली र व्यवहार हेर्दा विहार र उत्तरप्रदेशका छिमेकी भाइहरूभन्दा धेरै सिधा र सरल देखिन्थे ।
द्रूत गतिमा दौडिरहेको हाम्रो रेल समुद्री झिल, सानासाना पहाडका थुम्काहरू पारगर्दै आन्ध प्रदेशको सीमातिर आइपुग्न थालिसकेको थियो । सानासाना रेल्वे स्टेसनमा मान्छेहरूको चढ्ने र उत्रने क्रम चलिरहेको थियो । हामीले थाहा नै नपाईकन अब आन्धप्रदेशका तेलुगुहरूको जमघट बढदैगएको थियो । उनीहरूको भाषा हामी नबुझ्ने, हाम्रो भाषा उनीहरू नबुझ्ने । यस्तोमा इसारा पनि त एउटा विश्वभाषा हुँदोरहेछ । भारतीयहरू भए तापनि उनीहरू राष्ट्रिय भाषाप्रति उदासीन र प्रान्तीय भाषाप्रति बढी आकर्षक र प्रखर देखिन्थे ।
हाम्रो यात्राका सहयात्रीहरू धेरै आए अनि गए तर हाम्रो यात्राको निरन्तरता चलिरहेको थियो । गन्तव्य अझै धेरै टाढा थियो । घाम अस्ताएर रात परिसकेको थियो । बाहिरको दृश्य देखिँदैन थियो । चकमन्न अध्याँरोमा हाम्रो रेल एकोहोरो सिट्टी फुकेर दौडिरहेको थियो । रेलभित्र पनि अब बिस्तारै सबै शान्त हुँदैगएको थियो । हाम्रो डिब्बामा सबैलाई गहिरो निन्द्राले सुताएको थियो । म भने अलि चनाखो निन्द्रा सुतेर उठ्दा बिहान भइसकेको थियो । विशाखापटनम् हुँदै हामी विजयवाडातिर आइपुग्न लागेका रहेछौँ । अझै पूरा बिहान र दिनभरि पट्यारलाग्दो यात्रा गर्न बाँकी नै थियो ।
हाम्रो रेल समुद्री झिल, पोखरी, नरिबल र केराघारी हुँदै एकतमासले दौडिरहेको थियो । निरन्तरको लामो यात्रा भएतापनि केटाकेटीहरूले माहौललाई घरकै वातावरण बनाइदिएकाले हाम्रो यो यात्रा एकदम रमाइलोसँग व्यतीत भइरहेको थियो । नेल्लुर हुँदै पुरीबाट एक हजार तीन सय किमीको लामो रेलयात्रा पार गरेर एक रात, दुई दिनमा हामी हाम्रो गन्तव्य तिरुपति आइपुग्दा बेलुकीको ६ बजिरहेको थियो ।
हामी तिरुपति जक्सनमा ओर्लिएर पुनः एउटा जिप रिजर्भ गरी तिरुमल्लाको साँघुरो घुमौरो तर सुरक्षित बाटो हुँदै अघि बढ्यौँ । कडा चेकजाँचपछि हाम्रो जिप यता नेपालको जस्तै पहाडी बाटो हुँदै २५ किमी टाढा रहेको अति सुन्दर तिरुमल्ला पहाडमा पुग्दा रात झमक्क परिसकेको थियो । सफा र सुन्दर बाटोमा कतै कुनै गुड्खा र चुरोटको ठुटा भेटिँदैन थिए । होटेल र रेस्टुराँहरू मदिरा र मासरहित थिए । ठाउँठाउँमा निःशुल्क भोजन र आवासको व्यवस्था पनि थियो । चौतर्फी घुम्न बालाजी मन्दिरले आफ्नै निःशुल्क सुन्दर बसको व्यवस्था मिलाएको देखिन्थ्यो । एउटा स्वर्गजस्तै आनन्द र सुन्दर स्थानको अनुभूति भइरहेको थियो । टाढैबाट तिरुपति बालाजीको स्वर्ण मन्दिरको झिलिमिलीले धपक्क बलिरहेको देखिन्थ्यो । विश्वको नै सबैभन्दा धनी मन्दिर भनेर चिनिने र सबै हिन्दू धर्मावलम्बीहरूको अगाध आस्थाको केन्द्रविन्दु रहेको बालाजी बैङ्केटेस बिष्णु भगवान्को अवतार मानिन्छ ।
आन्धप्रदेशको विन्ध्याचल पर्वतमालामा सानो उपत्यकाजस्तै रहेको पहाड तिरुमल्लामा बालाजी मन्दिरले गरेको सेवा र विकासको उत्कृष्ट नमुना हेर्न सकिन्छ । चिल्ला सफा र सुन्दर सडकहरू, मान्छे हिँड्ने सुरक्षित पेटी, निःशुल्क घुमिरहने बसहरू थिए भने निःशुल्क भोजन र आवासको व्यवस्था पनि देखिन्थ्यो । धारामा बगिरहने अविरल पानी, चौबीसघन्टा विद्युत आपूर्ति भैरहेको थियो । परपर पहाडमा एयर पावरको पङ्खाहरू घुमिरहेका देखिन्थे । यस्तो सुन्दर भूभागमा रहेको बालाजी श्रीनिवास भगवान्को दर्शन गर्न चौबीसै घन्टा लाखौँ भक्तजनहरूको घुइँचो देखिन्थ्यो ।
हामी बिहान १० बजे दर्शनका लागि प्रवेश गरेर बेलुका छ बजे दर्शन सकेर फर्किएका थियौँ । दर्शन गर्ने व्यवस्था सुव्यवस्थित थियो । भित्र नै बस्ने र खाने व्यवस्थासहितको आरामदायी हलहरू थिए र पुनःप्रवेशका लागि कम्प्युटराइज अत्याधुनिक व्यवस्था थियो । हामी हाम्रो स्थान सुरक्षित गर्न फेस रिडिङ् गरेर बायोमेट्रिक कार्ड बनाएर लाइनबाट बाहिर आयौँ । बाहिरी घुमेर फेरि निश्चित समयभित्र पुनः प्रवेश गर्दा हाम्रो दर्शनको लाइनअगाडि सरिसकेको थियो । हामीले धेरै प्रतीक्षा गर्नु परेन । लगभग पाँच घन्टाको निरन्तर लाइन र कडा सुरक्षाजाँचपछि हामीहरूश्री बेङ्कटे्स बालाजीको सामु पुगिसकेका थियौँ । स्वर्णनिर्मित मन्दिरको ढोकाबाट पत्थरको मूर्तिमा विराजमान भगवान्लाई एक पलकको दर्शन गरी फर्कंदा मनमा आनन्दको अनुभूति हुँदोरहेछ ।
संसारमा सबैको आ- आफ्नो धर्म, आस्था र विश्वास रहिआएको छ । यस्तै अद्भुत आस्था र विश्वास यहाँ देख्न सकिने रहेछ । चौबीसै घन्टा चहलपहल भैरहने तिरुमल्ला हिल एउटा सुन्दर र सुरक्षित स्थान हो । तिरुमल्ला विन्ध्याचल पर्वतमा दुई दिन पूरा बस्दा पनि मन भरिएन ।
नेपालमा ठूलो विनाशकारी भूकम्प गएको दुःखद खबर हामीलाई भर्खरै प्राप्त भएको थियो । मन सारै अत्यास र त्रसित भैरहेको थियो । विभिन्न मिडियामार्फत् हामी समाचार सुन्ने, बुझ्ने काम गरिरहेका थियौँ । नेपालको फोन अवरुद्ध भएको अवस्था थियो । जति सकिन्छ छिटो नेपाल फर्किन मन आतुर थियो ।
हाम्रो चेन्नाइ गोरखपुर एक्स्प्रेसले हामीलाई घरफर्कनको लागि बोलाइसकेको थियो । तमिलनाडु राज्यको चेन्नाइ सहर पुग्न बाँकी नै थियो अझै ।
(हेटौडा निवासी पौडेल विगत तीन दशकदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् )
[email protected]