• २०८१ भाद्र २७ बिहीबार

न्यायको शङ्खघोष

लक्ष्मीकुमारी घिमिरे

लक्ष्मीकुमारी घिमिरे

मञ्च सिङ्गारिएको थियो । स्वागतका लागि माला खादा तयार थिए । सम्माननीय व्यक्तित्वहरूको आतिथ्यले मञ्चको अझ गरिमा बढाएको थियो । विशेष गरी समाजमा कोही नभएका अनाथ बालबालिकाहरूका लागि आफ्नो ममता, प्रेम दिएर उनीहरूको जीवन सक्षम र सबल बनाउन सक्दो योगदान दिएका र आफ्नो जीवनको अमुल्य समय पनि खर्चिएका समाजसेवीहरूलाई आज सम्मान गरिँदै थियो । उनलाई पनि सम्मान ग्रहण गर्न आमन्त्रित गरिएको थियो । उनको गाडी समयमै आएर रोकियो उनलाई सम्मानका साथ गाडीबाट ओह्रालियो । उनी घाँटी भरि माला थाप्दै, हात जोड्दै, झुक्दै सभामाझ आइपुगिन् । सभाका साथसाथै वरिपरि झुम्मिएको भिडबाट गडड तालीको वर्षा भयो । कार्यक्रम सुचारू भयो । एक-एक जना गरि आमन्त्रित सबै समाजसेवी बोल्दै गए । जब उनको पालो आयो ।उनी बोल्न लागिन् । उनको गजवको ब्यक्तित्व, धारा प्रवाहसँग बोल्ने शैलीबाट अतिथिहरूका साथै वरिपरिको भिड पनि मन्त्रमुग्ध भयो । यस्तैमा त्यही मञ्चकै वरिपरि खुल्ला ठाउँमा सानो नाङ्लो पसल राखेर बसेकी २० वर्ष जति की सपना उनको भाषण सुनिरहेकी थिई । नजिकै हातमा तितौरा चाटिरहेकी सानी बच्ची ढुङ्गा माथि टालाटुलीको ओछ्यान लगाएर मैला गुडियाहरूलाई बडो प्रेमले सुताउँदै थिई । ती महिलाको भाषणले सपनाको मन असाध्यै छोयो । अनाथ बालबालिकाहरूको भविष्य कसरी उज्ज्वल बनाउने भन्ने बारेमा उनी निकै बेर घतलाग्दो तरिकाले बोलिन् । आफु त्यस्तै अनाथ बालबालिकाको असल अभिभावक बन्न सफल भएर नै आज सम्मानको पात्र बन्न पाउँदा धेरै खुसी लागेको कुरा व्यक्त गर्दै उनी मञ्चबाट विदा भइन् । उनको असल विचार र वचन सुनेर सपनाले आफ्नो विगत सम्झन पुगी ।
देशभरि प्राकृतिक विपत्ति परेको थियो । घरहरू भत्किएका थिए । कोही मरेका थिए । कोही अङ्गभङ्ग भएर बाँचेका थिए । कसैका परिवार नै सखाप भएका थिए । कोहीकोही बालबच्चा मात्रै बाँचेका थिए । कतै बुढाबुढी मात्र बचेका थिए । कोही चेप्पिरहेका थिए । यस्तै दयनीय, कारूणिक र दर्दनाक अवस्थालाई झेल्दै बाँचेकाहरूका लागि त यो प्राकृतिक विपत्तिमात्र नभई महाविपत्ति आइलागेको थियो । हो यस्तै सबै परिवार नै गुमाएर ऊ एक्लै बाँचेकी थिई । न उसका कोही आफन्त बाँचेका थिएन कोही आफ्ना । दिनभरि ऐलानी जग्गामा बनेको माटाको भत्किएको घर र त्यही घरभित्र पुरिएका आफन्त र परिवारलाई हेरेर ऊ रोइरही । केहीदिन पछि परिवार, आफन्तहरू झिकिए र जलाइए तर ऊ यो संसारमा नितान्त एक्ली भई । एकदिन साँझसाँझ पर्न लागेको थियो । उसले कहिले काहीँ मात्र गाउँमा देखेका मानिसका साथमा थप दुई जना नौला पुरूष र महिला ऊ भएनेर नै आए । ती मानिसहरूले के के कुरा गरे सबै कुरा त उसले बुझिन तर एउटा कुरा उसले के बुझी भने अब उसलाई सहारा दिएर कसैले सहर लैजाँदै छ ।
ऊ खुसी भई । सहर आएपछि नौलो रहन सहन र परिवेशमा भिज्न उसलाई केही समय लाग्यो । ठूलो कम्पाउण्ड भएको घर, ठूला डरै लाग्दा भुक्ने कुकुरहरू, दुईतिन जना आफू भन्दा ठूला दिदीहरू ऊ दङ्ग परी । बिस्तारै काम सिकी । सफासुग्घर हुन सिकी । आफूलाई ल्याउने पराजिता दिदीसँगै बस्न पाएर ऊ खुसी थिई । आफू बस्ने घरको केही पर अर्को घरमा दिदी कै संरक्षणमा बसेका साना केटाकेटीहरूलाइ हेर्न दिदी सधैं जान्थिन् । कहिले काहीँ सामान बोक्दै ऊ पनि जान्थी । दिदी त्यहाँ बस्ने सहयोगीहरूलाई काम अहराई पराई गरेर फर्किदा ऊ पनि सँगै फर्किन्थी । अरू ठुला दिदीहरू चाहिँ प्रायः बाहिर निस्की रहन्थे । कहिले काहीँ दुई- तीन दिननै ठूला दिदीहरू नआउँदा ऊ आफूलाई एक्लो महसुस गर्थी र बेलुका कहिले हुन्छ र पराजिता दिदी आउँछिन् भनेर प्रतीक्षामा बस्थी । एकदिनको कुरा हो ठूला दिदीहरू घरमा कोही थिएनन् । घरमा ऊ एक्लै थिई । साँझ पर्दै थियो खाना बनाई, छोपछाप पारी र आफ्नो कोठामा गएर सुती । रात निकै छिप्पिए पछि गेटमा पराजिता दिदीको गाडीको आवाज सुनेर गेट खोल्न गई लर्बराउँदै भुइँमा टेकिएका दुई जोडी खुट्टाहरूलाई उसले थेग्दै गेट भित्र छिराई ।यस अघि पनि थुप्रै पटक उसले मद्होस शरीर र लर्बराएका खुट्टाहरूलाई आफ्नो काँधको सहारामा घरभित्र ल्याएकी थिई । पराजिता दिदीले खाना नखाने भनेपछि आफूले खाई र सुत्न गई । उसलाई निद्रा परेकै थिएन । पल्लो कोठामा खस्याक खुसुक कुरा गरेको सुनी । बिच बिचमा अहिले होइन, अहिले होइन ऊ नयाँ हो, ऊ नयाँ हो भन्ने कुरा पनि सुनी । तर उसले कुरा केही बुझिन । निदाउने चेष्ठा गरि रही । उसको आँखा के झकाउन लागेका थिए ऊ माथि कुनै एक मानव आकृति आएर ग्वाम्ल्याङ्ग खनियो । उसका कलिला दुधे ओठहरू रित्तिए । पूर्ण आकृति लिँदै गरेका कलिला संवेदनशील अंगहरू कति ठाउँमा चिमोटिए, टोकिए । सृष्टिको एउटा सुन्दर कलिलो फूल फक्रिनु अघिनै विक्षिप्त अवस्थामा झरिसकेको थियो । ऊ बेदनामा निकै बेर छटपटाई । उसकोे छटपटाहट बुझ्ने र सुन्ने यो जगत मा कोही थिएन । निकै समय पछि उसको होस खुल्यो । बाहिर अन्धकार थियो । आकाशमा जुनतारा चम्किरहेका थिए तर उसको मन र जीवनमा ग्रहण लागेको थियो । सकि नसकी ऊ उठी । भित्ता समाउँदै समाउँदै गेटसम्म पुगी । उसले चारैतिर फर्केर हेरी । उसलाई लाग्यो सारा संसार मद्होसीमा निदाईरहेको छ । चिच्याएर कराउँदा पनि उसको आवाज सुन्ने कोही छैन । ऊ थुचुक्क त्यहीँ बसी । आज खै किन हो त्यस्ता भुक्ने कुकुरहरू पनि भुक्न सकिरहेका थिएनन् । केबल झोक्राएर उसको समिपमा उभिरहेका थिए । उसलाई आज मानिसले भन्दा पशुले उसको वेदना बुझेझैँ लाग्यो । पशु माथि धेरै भरोसा लाग्यो । तर ऊ सहाराहीन गरिब, दुःखी र केही पहुँच नभएकी एक्लीले के नै पो गर्न सक्थी र ? त्यसैले कुकुरलाई सुम्सुम्याउँदै निरिह ऊ विस्तारै लुसुक्क बाहिर निस्की । त्यस पछाडिका दुःख र पीडा सम्झेर सानी छोरीको कपाल सुम्सुम्याउँदै अहिले पो उसले धेरै आँसु झारी ।
उसलाई एक पटक ती असल समाजसेवीलाई भेट्ने अत्यन्त तीव्र अभिलाषा जाग्यो । ऊ त्यत्रो ठूलो भीड छिचोल्दै मञ्चमा उक्ली जब नजिकै गएर नियाली ऊ छक्क परी । अनाथ बालबालिकाको विषयमा मुक्तकण्ठले भाषण गर्ने ती महिला उसकै पराजिता दिदी थिइन् । उसको छेउमा बस्ने उनकै साथी बनी आएको त्यो पुरूष ब्यक्तित्व उसको अस्मिता लुट्ने व्यक्ति थियो । उसले तिनीहरूलाई हेरि रही । थुप्रै प्रश्न बोकेका उसका आँखासँग आज पराजिताले आफ्ना आँखा जुधाउन सकिनन् । उनी केवल सजायको प्रतिक्षामा बसे झैँ उभि रहिन् । तिनीहरूलाई देख्नासाथ उसको शरीरमा छुट्टै प्रवाहमा रक्तसञ्चार हुनथाल्यो । आज उसलाई कसैको डर लागेन ऊ काली बनी, रणचण्डी बनी । सफा र सभ्य पहिचान बनाई त्यस भित्र लुकाएको कुरूप व्यक्तित्वको नजिक जब ऊ पुगी अचानक उसका हातहरू जोडजोडले त्यस मानिसको गालामा बर्सिन पुगे जबसम्म ऊ थाकिन । सभा स्तब्ध भयो । केही क्षण स्तब्ध सभामाझ बाट एकजना भद्र व्यक्ति उठेर जोडजोडले ताली बजाए । एक, दुई, तीन हुँदै हजारौँ तालिहरू थपिँदै गए । तालीको ठुलो ठुलो आवाज गुञ्जिँदै गयो । निकै टाढा टाढासम्म । अनन्त क्षितिजसम्म । अन्याय र अत्याचारको विरूद्ध न्यायको शङ्खघोष गर्न सफल ऊ आकाशतिर फर्किएर जोडजोड्ले चिच्याई । सत्य अझै मरेको छैन । मानवताअझै मरेको छैन ।


लक्ष्मीकुमारी घिमिरे
[email protected]