• २०८१ असोज २८ सोमबार

ओछ्यान

पवित्रा अधिकारी

पवित्रा अधिकारी

अब पर्खनु कसलाई पो थियो र ? पर्खनुपर्ने त्यो मृत्युपनि कति पर छ अन्दाज पो कसरी गर्नू ? साँच्नु भनेको बुढेसकाललाई त्यही पैसो न हो, यौवन साँच्न सकिँदो रहेनछ । भट्टीपसल्नी सुन्तलीको मनले धेरै दिनदेखि यस्तै कुराहरू सोचिरहेको थियो । जब आफ्नो भट्टीपसलतिर आउने ग्राहकको लर्को अरू युवतीको भट्टीतिर एकाएक धाउन थालेपछि आफूलाई सम्झाउँदै भन्थी ऊ- ‘आफ्नो यौवनको कुवा सुकेपछि प्यासिएकाहरू नदीतिरै डुबुल्की मार्न गए । चित्त पो के दुखाउनू  ?’ तापनि ऊभित्र एउटा क्षीण आशा फेरि पलाउँथ्यो अनि सुन्तली त्यही आसेत्यान्द्रोमा जेलिएर परपरसम्म आँखा बिछ्याउँथी ।
त्यो ग्राहक आगमनको आशा मात्र बाफिँदै क्षितिजमा उराठलाग्दो किरिङमिरिङका धूमिल थोप्लाहरू बनेर उठ्थे र अनायास फुट्थे पनि । सायद ऊ निकै डराएकी हुन्थी त्यो भयानक शून्यतासित । दिनहरू भने यसैगरी बितिरहेका थिए । गर्मीमा तानो बाफ र ठन्डीमा तुषारोहरू स्पर्श गर्न आउँथे उसको चर्मका छिद्रहरूमा ।
खै केकेले रूझिरहने सुन्तलीले अब आफूलाई निकै सुख्खा महसुस गरी । ऐनाअगाडि उभिँदा झोलिएको शरीरमा सोहोरिँदै गएको कठोर अनुहारले आफैँलाई जिस्क्याइरहेझैँ लाग्थ्यो । सायद त्यसैले ऊ शृङ्गार र ऐनाबाट बिस्तारै टाढिँदै थिई । क्रमशः कोलाहल शान्त भएको त्यो भट्टीपसलको मौनताले भने ऊभित्र निरन्तर चीत्कार गरिरहेकै थियो । कैयौँलाई रक्सी र यौवनको स्वादमा फसाएर कमाएको पैसा अब निष्प्राणझैँ लाग्नथाल्यो । अनि कतिका चरित्र मरेका, कतिका सपना र कतिका सम्पत्ति पोखिएर ढुसी परिरहेको त्यो भट्टीपसलको शून्य कुइनेटोले उसको ढल्कँदै गरेको उमेरलाई एकतमास खिसी गरिरहेझैँ थियो ।
समयको यस्तै नियतिमा दिनदिनै मन बेचैन हुँदै गइरहेकी एक्ली भट्टीपसल्नीको त्यस मनोदशाले अब जीवनको मोड बदल्ने निर्णय गर्यो । जब सम्पूर्ण जवानी पोखिएको त्यो भट्टीपसलबाट झोला बोकेर सुन्तली सधैँका लागि बाहिर निक्ली । उसका आँखाबाट निकैबेर ताता आँसुहरू झरे । रक्सी, रक्स्याहा र यौवनरसलाई त्यही प्रत्येक आँसुको थोपाभित्र महसुस गरिरही उसले । जुन आँसु लालीविहीन फुस्रो गालाबाट तलतल झर्दै थियो ।
भट्टीवरिपरि सुकेका पातहरू असरल्ल झरिरहेका थिए । ती नाङ्गा रूखहरू भने पालुवा पलाउने तयारीमा थिए । तर आफूभित्रको यौवनको हरियाली क्रमशः मुर्झाउँदै गयो । सायद आफूबाट झर्दैगएको त्यो जवानी पनि फेरि पालुवाझैँ पलाउँथ्यो भने म भट्टी रसमानै पटकपटक डुबिरहेकी हुन्थेँ होला । यस्तै सोच्दै रूझेको आफ्नो परेली उठाउँदै सुन्तली अब एकाएक मुस्कुराई । कैयौँ पुरूषको यौनरसले भिजेकी सुन्तलीलाई अब भित्रैदेखि पखालिनु थियो । त्यसैले आफ्नो पूर्ण यौवन पोखिएको त्यो गाउँ सदाका लागि छाडेर ऊ धर्मकर्म गर्न भनी हिँडी । भोगको त्यो रसिलो रछ्यानको ओसबाट निक्लँदैगरेकी एउटी अधबैँसे त्यस महिलालाई निष्प्राण हुँदैगएको त्यो भट्टीपसलले पनि निकै परसम्म हेरिरह्यो ।
केही वर्षदेखि त्यस घाटनजिकैको आश्रममा रामनामी ओढेर बसेकी प्रौढ महिला अरू कोही नभएर उही सुन्तली थिई । तुलसीको माला लगाएकी उसको निधारभरि चन्दन थियो । आफ्नो त्यस अतीतलाई खुसुक्क थन्क्याएकी सुन्तली अब अरू साधुजस्तै देखिनथालेकी थिई । आश्रमको दैलोछेउ कहिले बत्ती कातेर त कहिले माला जपेर बसिरहने सुन्तलीलाई त्यस घाटतिर ओरालो लाग्ने लासहरूको पर्वाह भने क्रमशः हराउँदै गइरहेको थियो । तर पनि कहिलेकाहीँ ती लासहरूमाथि छरिएको रातो सिन्दुरका रङहरूलाई भने ऊ निकै भावुक भएर हेरिरहन्थी र सम्झन्थी अतीतको त्यो तातो ओछ्यान । त्यो रसिलो जवानीमा कैयौँ पुरूषका शब्दहरू फुसफुसाउँथे उसको गालाछेउ । त्यस्तै रातो सिन्दुरले उसको सिउँदो रङ्याउने सपना देखाउँथे र हराउँथे क्रमशः ।
नित्यझैँ त्यो दिन पनि एउटा लास अघि लगाएर एक हुल मलामीहरू त्यही बाटो हुँदै नदीतिर झर्दैथिए । तर त्यो लास घाटमा पुर्याईसक्दा पनि मलामीको लर्को भने रोकिएको थिएन । किनभने त्यो लास सायद कुनै विशेष मान्छेकै थियो । त्यसैले होला त्यस लासको चर्चा मलामीको हुलमा निकै सलबलाइरहेको थियो । सुन्तलीले त्यस भीडबाट के सुन्न भ्याएकी थिई कुन्नि ऊ अनायास त्यो मलामीको लर्को छिचोल्दै घाटतिर कुदी । उसको पछाडिपछाडि भने तिनै शब्दहरू कुदिरहे । भट्टीपसल्नीसित कैयौँ रात बिताएका ती व्यक्ति पहिले रक्स्याहा र कुलती थिए । पछि तिनै व्यक्ति ठूला सन्त बने अनि कैयौँ चेलाका प्रिय गुरू ।
हो यिनै शब्दहरूले ती पाइलाहरूलाई घाटतिर घचेटिरहेका थिए । जिउने अभ्यास सकेर भर्खरै निदाएको थियो ऊ। सबैले उसलाई लास भने तर सुन्तलीका आँखाले जीवन्त देख्यो उसलाई । वर्षौंपहिले आफ्नो अँगालोबाट हराएको सबैभन्दा प्रिय ग्राहक आज चिताको ओछ्यानमा मस्त निदाएको थियो। अतीतको आँखीझ्यालबाट ऊसँग आत्मिक सम्बन्धको त्यो क्षण चिहाइरहेकी सुन्तलीका आँखाबाट अब अविरल आँसु झरिरहेका थिए । त्यो मलामीको भीडमा कहिले ती सन्तको उच्च साधनाको चर्चा हुन्थ्यो त कहिले त्यही भट्टीपसल्नी र रक्सीका कुराहरू पटकपटक दोहोरिन्थे । यसरी ती सन्तको परिचयभित्र आफू अमूर्त नायिका भई जीवित रहेको महसुस गरिरहेकी थिई सुन्तली पनि ।
चिताको ओछ्यानमा पल्टिएको त्यो सन्तभन्दा रक्सीले मात्तिएर आफ्नै काखमा लुटपुटिएको वर्षौंपहिलेको त्यो सन्ते प्यारो थियो सुन्तलीका लागि । ऊ त्यही सन्ते मगर थियो, जो सुँगुरका पाठाहरू बोकेर ल्याउँथ्यो अनि हरपल भट्टीमय भएर सुन्तलीसितै रमाउँथ्यो । रक्सीको लतले थला परेको सन्ते एकदिन बेहोस भई अस्पताल पुग्यो तर फेरि गाउँ फर्किएन। त्यही सन्ते भेट्न सहरसम्म पुगेकी सुन्तलीले सन्तेलाई कहिल्यै फेला पारिन । यसरी सबैभन्दा प्रिय ग्राहकको आभावमा मन खल्लो भए पनि शरीर र भट्टीपसल भने सधैँ स्वादिलो बनाइरही सुन्तलीले ।
वषौँदेखि न्यास्रिएकी सुन्तलीले चित्ताछेउ पुगेर सुस्तरी भनी- ‘मेरो सन्ते !’ त्यस सन्तेको निर्दोष तेजिलो अनुहारले शान्तसँग भनिरहेको थियो- ‘सुन्तली तँ पनि आइस् !’ मानौँ प्रश्न गरेझैँ । त्यस चिताको ओछ्यानमा ऊ एक्लै सुतेको थियो । अतीतको त्यस ओछ्यानमा त सुन्तली ऊसितै सुतेकी थिई । न्यास्रिएकी सुन्तलीले मनमनै भनी-‘अलि पर सर् न सन्ते ! तेरोछेउमा सुत्नु छ मलाई पनि ।’
फूलमालाले पुरिएको सन्तेको चिताको एकछेउ अलिकति पन्छाउँदै लुसुक्क उसलाई अँगाल्नुझैँ भएको थियो सुन्तलीलाई । तर चिताको आगोमा प्रज्वलित हुँदैगएको मौन सन्तेले भनिरहेझैँ थियो- ‘त्यस ओछ्यान र यस ओछ्यानमा नितान्त फरक छ सुन्तली !’ अतीतले लपक्क भिजेकी सुन्तलीको आँखामा पानी भरिँदा चितामा तातो हुर्किंदै आगाको लप्कासँगै पग्लदै सन्ते अब अमूर्त हुँदैगयो । छेवैकी नदी चितामा दन्किरहेको त्यस आगाको छायाँलाई आफूभित्र आकार दिँदै जलमग्न भएर बगिरहेकी थिई । सुन्तलीका आँखाबाट झरेका मोटा आँसुका थोपाहरूमा पनि त्यस सन्तेको चिताको छायाँमा अट्न खोज्दैथियो तर त्यो पनि पानी हुँदा मात्र बग्नुथियो । जीवनरूपी वृक्षबाट चोइटिएर मात्र अब कोइला बन्दै गरेको सन्तेको त्यस चिताछेउबाट एक अलिखित नायिका सुन्तली घाटको सिँढी चढ्दै बिस्तारै आश्रमतिर उकालो लागिरही । त्यहाँ जतिजति मलामीहरू थपिँदै थिए, सन्तेको साधुत्वसँगै भट्टीपसल्नीको चर्चा पनि उत्तिकै चुलिँदै थियो ।
आश्रमछेउ पुगेर सुन्तलीले तल घाटतिर फर्किएर हेरी- त्यो सन्तेको चिताबाट एक मुस्लो धुँवा आफूतिर आइरहेको देखी र लामो श्वास तान्दै आँखा चिम्ली अनि ती धूँवाहरू सुन्तलीको सर्वाङ्ग छोएर वरिपरि घुमिरहे । घुमिरहे ।


(पौडेल विगत एक दशकदेखि सिर्जनाक्षेत्रमा सक्रिय स्रष्टा हुन्।)
[email protected]