• २०८१ असोज २४ बिहीबार

मान्छे अर्थात् पेहेली भित्रको पहेली

प्रकाशमणि दाहाल

प्रकाशमणि दाहाल

मानिसजस्तो देखिँन मैले अरू केही संसारमा ।
दिव्य छ मुहार जनावर होइन अनौठो संस्कारमा ।।

यस गीतको अगिल्लो पङ्क्तिचैँ कतै पढेजस्तो लाग्छ, त्यसो त यो पनि मेरै पुनर्निर्माण हो । तर यसको आसय भने मेरा मनमा अब्सेस भएर बस्याबस्यै भयो र परिणाम यस्तो भयो, एउटा बेग्लै घोत्ल्याइँ ।
हो, जनावर भन्न मन लाग्दैन तर जनावर त जनावरै हो ऊ विज्ञानद्वारा प्रमाणित जब उसको आधारभूत प्रकृति र प्रवृत्ति जनावरकै हुन्छ- ‘आहार, निद्रा, भय, मैथुन’ अथवा ‘काम, क्रोध, लोभ, मोह’ शासित जीवन । तर सिद्धान्तत जे भएपनि वा नभएपनि व्यवहारमा चाहिँ भाषा- भङ्गिमा, वस्त्राभूषण, आवासीय बसोबास, बनाए–पकाएको भोजन, आम्नेसाम्ने कामक्रीडा, खटाएका खेतालामार्फत बनाएका हतियारद्वारा गरिने लडाइँ, सान- सङ्ग्रह- समूहका निमित्त लड्ने मुख्य उद्देश्य, हाँस्ने- रुने र सबैभन्दा ठूलोचैँ बहानाबाजी वा स्वाङ- रिसले आगो भएपनि सौम्यताको, भोकमा पनि अघाएको, सम्झिएर पनि बिर्सिएको, अभावमा पनि प्रचूरताको, ब्यूँझैँ भएर पनि निदाएको आदि वा तिनीहरूको विपरीत दर्शाउने स्वाङ पार्नसक्ने मान्छे जनावरै भएरपनि जनावरजस्तो लाग्दैन ऊ, (जनावर मान्न मन लाग्दैन मलाई आफूलाई पनि) । अझ मान्छेलाई ईश्वरको उत्कृष्टतम सिर्जनाअझ अवतार नै भनिन्छ यद्यपि उसका विरुद्धमा पनि थोरै छैनन् आक्रोशहरू ।त्यसैले यसलाई बरु अनौठो नै भन्नु ठीक हुन्छ अझ जोडसाथ ‘कस्तो विचित्रको जनावर, विलक्षण, आश्चर्यजनक, रहस्यमय भन्नु ठीक होला । स्रष्टाको एउटा उच्चकोटीको प्रहेलिका अझ पहेलीभित्रको पहेली नै भन्नुजस्तो- वास्तविक नाम (वा ?)नर, मनु, मनुज, मनुवा, मनुष्य, मानव, मानिस, मान्छेआदि भनिने यो विशेष जनावर !’
साँच्चै प्रहेलिका नै हो मान्छे जो यहाँ लुटेराबाट कसैको उद्धार गर्छ भने त्यहाँ कसैलाई लुटिरहेको हुनसक्छ अथवा यहाँ कसैलाई मार्न तयार भएको मान्छे त्यहाँ कसैलाई बचाउन ज्यान दिइरहेको हुनसक्छ ।
को भन्न सक्छ र विश्वासपूर्वक माछेका बारेमा जो आफ्नै अपहरण गराएर बाबुबाट फिरौती असुल गराउने प्रबन्ध मिलाउँछ । आफैँ उक्साउँछे आफूलाई प्रेम गर्न र एकैछिनमा गुहार भन्दै जबरजस्ती गरेको आरोपमा कुटाउँछे, पकडाउँछे ।
भित्र र बाहिरको भिन्नताकहिल्यै निश्चित हुँदैन मान्छेको । बाहिर छुच्चो देखिएर भित्र असीम जाती वा त्यसको विपरीत हुन एकदम स्वाभाविक छ ऊ ।
उसको सबभन्दा मुख्य विशेषता हो आफैँलाई नचिन्नु । बलियो मान्छे दुब्लोदेखि लत्रिरहेको र उच्चपठितलाई अद्र्धपठित वा अपठितले हाँकिरहेको हुनु आम देखिन्छ समाजमा । करोडपतिको नाम गरिबदास हुनसक्छ र अर्काको भरिया भएर बाँचेको मान्छेको चैँ धनबहादुर । व्यवहारमा पनि त्यस्तै धनसम्पन्न व्यक्ति चुइँपट्टा हुनसक्छ भने साधारण मान्छे उदार । उसको स्थिति र व्यवहारमा आकाश जमिनको फरक भैरहेको हुनसक्छ । तब त भनिन्छ नि अरूलाई चिन्ने विद्वान्, आफूलाई चिन्ने ज्ञानी ।
अचम्म लाग्छ मान्छेका बारेमा सम्झिँदा । नकारात्मकतावादी (nihilist) पनि भनेर चिनिने फ्रेडरिक नित्सेका विचारमा ‘मान्छे नै त्यस्तो एकमात्र प्राणी हो जो आफू जे हो त्यसलाई अस्वीकार गर्छ ।’ अर्थात् आफू जे हो, जस्तो छ त्यो उसलाई भएन, हुँदैन । त्यससँग ऊ सन्तुष्ट छैन । उसलाई अन्य कुनै चाहिन्छ र आजीवन लडिरहन्छ त्यस अप्राप्तव्यका निमित्त आफैँलाई छक्याएर भित्रभित्रै अनवरत अर्कैअर्कै बहाना पारेर ! हो, यो हामी सबैको यथार्थ हो, अत्यन्त सामान्य यथार्थ । हरेक मान्छे मनमनमा आफूलाई अर्को कुनैजस्तो भएको वा भएकोजस्तो नभएको कल्पना गरिरहेकोे हुन्छ, अचेतनमा लुकाएर । लवाइखवाइमा, साज शृङ्गारमा, चालढालमा कति सचेतनमै आफूले खोजेजस्ताको अनुकरण गरिरहेका पनि देखिन्छन्, देखिन्छौँ जसलाई आइडोलाइजेसननै भनिन्छ । बालकले त यसो गर्नु स्वाभाविकमात्र नभएर राम्रो नै मानिन्छ तर जति ठूलो हुँदैगयो त्यति यो लुकाइने कुराभित्र पर्दैजान्छ । जब मन एउटा अनन्त द्वन्दमा फँस्छः भएको मन नपर्ने मन परेको नपाइने । यही मानवप्रकृतिलाई त बुद्धले दुखका चार कारणमध्ये एउटा मानेका छन् । तर यो यथार्थ यति सामान्य हुन्छ,यस्तो हुन्छ भन्ने ठहराउन पनि मुस्किल लाग्छ,खासमा मान्छे यो खुलै स्वीकार गर्न बिलकुल नचाहने हुँदा,जस्तो सेक्सपियरभन्छन्: A fool thinks himself to be wise, but a wise man knows himself to be a fool. क्या घतिलोगरी पुष्टि भएको छ यो यथार्थ यहाँ ! मूर्खलाई बुद्धिमान देखिनुपर्या छ अर्थात् उसलाई आफू मूर्ख भएको यथार्थ लुकाउनुपरेको छ भने विद्वान् आफूलाई विद्वान् मान्न सकिरहेको छैन ! गरिबलाई नकली सुनका भएपनि गहना लाएर धनी देखिनुपर्या छ भने धनीलाई भएकोले पुगिरहेको हुँदैन अथवा चढिरहेको हुन्छ सामान्य देखिने आदर्शको भूत ।
यो एउटा मानसिक रोगको सीमाहीन तन्किने यथार्थ हो । तब त कामचलाउसम्म अङ्ग्रेजी जानेको नेतालाई अन्तर्राष्ट्रिय फोरममा मान्छे हँसाएर भएपनि अङ्ग्रेजीमै भाषण गर्नुपर्छ तर साँच्चै जान्नेचैँ आफूलाई राम्ररी नजान्ने भनेर कति अवसर उम्काइरहेको हुन्छ, जसरी फूल नपार्ने कुखुरी फूल पार्ने पोथीसँग झगडा गरीगरी ओथारा बस्नेगर्छे भने फूल लवालीचैँ उपायहीन भएर भौँतार्रिरहेकी हुन्छे ।
यो यति अभिन्न मानवीय (कि जैविक ?) स्वभाव हो जुन व्यवहारमा फ्राइडियन भाषाको छद्मता (disguise) श्रेष्ठत्व वा सुन्दरीकरण (sublimation) भएर छ्यासछ्यास्ती निस्किरहेको हुन्छ । खासगरी यो दुई किसिमले मनग्गे निस्किने गरेको पाइन्छः निन्दा, विरोध र आक्रमणसम्मका नकारात्मक र प्रशंसा, बढिबढाइ र पक्षपैरवीसम्मका सकारात्मक व्यवहारका रूपमा । काली- कालो, कम रूपवती- रूपवान् वा हैसियतमा निम्न महिला- पुरुषले गोरी- गोरो, रूपवती- रूपवान् वा हैसियतवालाको ईष्र्या, विरोध वा चाकडी र चेपारे पार्ने कुरा हरघरको यथार्थ हो । यही सत्य तन्किएर राजनैतिक र सामाजिक सीमासम्म पुगेर सार्वजिनिक घोचपेच, बाझोजुझोदेखि लडाइँ- झगडासम्म पुग्नेगरेको कुरा पनि सामान्य यथार्थमै हराइरहेको हुन्छ, जसका कारण टन्किएको घाउ बोकिबोकी हिँडेजस्तै समाज कहीँ सतहमुनि र कहीँ कुनै बहानाको त्यान्द्रो समातेर सतहमाथि नै तनाव, असहयोग र द्वन्द्व बोकेर अनेक सानाठूला टुटफुट हुँदै गुज्रिने काम भैरहेको हुन्छ ।
त्यसो त यस्तो पूर्वाग्रही अति निन्दा वा दुराग्रही अति प्रशंसा दुवै गलत हुन् । कारण, संसारमा को सर्वगुण सम्पन्न हुन्छ र  ! को सर्वसन्तुष्ट हुन्छ र ! कम्तीमा सन्तुलित अर्थात् तटस्थ मात्रै पनि हुन्छ र कोही  ?
हो, मान्छे सारै जटिल प्राणी हो जो यसै आधारभूत यथार्थका कारण दोहोरो जीवन बाँचिरहेको हुन्छः एउटा जे देखाउँछ र अर्को जे लुकाउँछ । विचरालाई सधैँ धामा परिरहेको हुन्छ भएको देखिएला कि भनेर र नभएको नदेखिएला कि भनेर ! यहाँ जीवशास्त्री डेस्मोन्ड मोरिसद्वारा न्याकिड एइपको परिचयमा व्यक्त भनाइ ‘विश्वमा एकसय त्रियानब्बे स्तनधारी जीव छन्, जसमध्ये एकसय बयानब्बेको शरीर रौँले ढाकेको हुन्छ । एकमात्र अपवाद हो नाङ्गे ढेडू जसलाई ऊ आफैँले बुद्धिमान् खडा बाँदर homo sapiens नाम दिएको छ । यो अत्यन्त असाधारण र सफल प्रजाति आफ्ना समयको बढी भाग आफ्नो बृहत्तर उद्देश्य के होला भन्ने सोच्नमा र बाँकी भाग आफ्नो यथार्थ लुकाउनमा बिताउँछ । ऊ आफ्नो मस्तिष्क सबै सजाति (ढेडू- बाँदर) को भन्दा ठूलो भएकोमा गर्व गर्छ भने यौनाङ्ग पनि ठूलो भएको कुराचैँ चलाखीसाथ ज्याङ्गो गुरिल्लाका थाप्लामा हालेर लुकाउनु भन्छ । यस भीडभरि समूहमा बस्ने अत्यन्त जिज्ञासु र अत्यन्त बतौरे ढेडूका बारेमा विचार गर्न अबेर भैसकेको छ’ अत्यन्त प्रासङ्गिक लाग्छ ।
साँच्चै दोहोरो, कति किसिमले त तेहेरो र अझ बढी प्रणालीमा बाँच्ने भएकैले मान्छेलाई कहिल्यै यथार्थमा सम्पूर्ण चिन्न सकिँदैन । जस्तो तलका दुई उद्धरण हेरौँ :
‘मान्छेभन्दा सरल जीव
कहिले लाग्छ-
केही छैन संसारमा
कहिले लाग्छ-
योभन्दा जटिल प्राणी
अर्को छैन यो भूमण्डलमा ।
त्यसैले
कहिले चिनेँ भनेको मान्छे
चिन्नै सकेको हुन्न म
अनि
जटिल लागेको मान्छे
सजिलै चिनेजस्तो लाग्छ मलाई
त्यसैले मान्छे मेरा लागि
भ्रमै छ अझसम्म  !’
– रमण घिमिरे

हो, भ्रमै छ मान्छे रमणजीका लागि मात्र नभएर हरेक एकअर्काका लागि । तब त हरेक मान्छेका नजरमा भिन्नाभिन्नै छ मान्छे । कसैका नजरमा राक्षस छ मान्छे त कसैका नजरमा देवता, कसैका नजरमा हिंस्रक जनावर त कसैका नजरमा निरीह पाठो । यो अर्को निक्र्योल :

‘…जनावरहरू कहाँ मासिए र
जनावरका नङ्ग्राहरू त अब
जङ्गली महलमा बस्ने मानिसका अन्तरालमा
विनामल- पानी सप्रिँदैगएको छ
जङगल छैन भन्छन्
तर जताततै जङ्गलैजङ्गल छ ।
मानिसदेखि होसियार !
– पोषण पाण्डे, मानिसदेखि होसियार, ‘अक्षरङ्ग’ ।

मान्छेको सायद सबैभन्दा ठूलो विशेषता भनौँ वा कमजोरी, यही मुख्य लाग्छ, भएको नराम्रो वा कम राम्रो (उसले त्यस्तो ठानेको) लुकाउने र नभएको देखाउने । अनि सायद सबैभन्दा ठूलो आश्चर्यचैँ यस प्रवृत्तिलाई सामान्यरूपमा लिने र त्यो सबै मान्छेमा हुने सत्य । अर्थात् मान्छे हो भने ऊ केही त्यही हो जो देखिन्छ र बढीचैँ त्यो हो जो देखिँदैन र वास्तवमा के हो भन्नेचैँ देखिएपछि मात्रै थाहा हुन्छ तर त्यो पनि हो र होइनको वादविवादमा विवादित भैहाल्छ । कारण, ऊ कुनै वेला पनि परिवर्तित हुनसक्तछ र यो सब प्रक्रिया अन्तत सामान्य लागिहाल्छ वा सामान्य भएर गैहाल्छ ।
उहिले चौबीस वर्षको हुँदा पच्चीस सालमा काठमाडौ आएर जागिरखाने सिलसिलामा अन्तर्वार्ताको दिन लुगा लगाएर डेराबाट हिँड्नलाग्दा सहउम्मेद्वार साथीले कपाल झारेर मेरा निधारको बालखैमा लागेका खत छोपिदिए जसलाई लुकाउने सोच कहिल्यै आएको थिएन । मैले ‘के लुकाउनुपर्यो यार भएको कुुरा ?’ भन्नासाथ उनको जे उत्तर आयो त्यसले मलाई धेरैबेर झनझनाइदियो । उनले भने- ‘हामी सबैको यहाँ भित्र केके छ भन्ने सबैलाई थाहा छ । लुगाभित्र पनि र छालाभित्र पनि । तर के थाहा छ भन्दैमा त्यत्तिकै हिँड्ने ?’ समय, स्थानका कारण पनि कुनै विवाद गरिएन । एकवर्षपछि घरबिदामा आएका वेला एकजना इष्टमित्रका घरमा खाना खानुपर्ने भयो । मैले भनेँ- ‘तपाईंहरू आफ्नो निष्ठामा बस्नुभएका मान्छे । म परदेशमा जुत्ता लगाइलगाई होटेलहोटेल खाँदैहिँडेको मान्छे, मलाई यहाँ बाहिरै खाना ल्याइदिनोस् ।’ मेरा बाभन्दा पाका बूढाले कुरा झरिनसकी थर्काइहाले- ‘तपाईंले कहाँकहाँ केके खानुभयो, केके गर्नुभयो हामीले देख्याछैन, देख्नु पनि छैन । तपाईंलाई सोध्या पनि छैन । समय, परिस्थितिअनुसार गर्ने हो । यहाँ आएर खुरुक्क त्यो पिरामा बसेर खानुहोस् ।’ यहाँ पनि मैले विवाद गरिनँ । अझ मलाई लाग्यो मान्छे ढाँटिनै चाहँदा रहेछन् । अथवा मान्छेको जीवनका यति पत्रैपत्र हुन्छन्, हुँदैजान्छन्, जुन न देखेर साध्य हुँदोरहेछ न देखाएर नै  !
त्यसैताका काठमाडौँमा एउटा साथीको एउटी मजहवीँसँग आन्द्रो गाँसियो । उनीहरूको डेटिङ्चल्दैथियो । तर एकदिन डेरामा अलिक ढिलो पनि आयो मुड पनि बिगारेर । कुराको क्रममा उसले भन्यो- ‘यार, आज हाम्रो हुने दिन थियो तर मैले नै बिगारेँ ।’ अर्को साथीले उत्सुक भएर सोध्यो- ‘कसरी ?’ उसले हस्रक्क परेर भन्यो- ‘यार, सबै कुरा ठीकसँग जाँदैथियो, वेला भएपछि मैले कुरा नलुकाउनु नै उचित होला ठानेर ‘मेरो विवाहचैँ भएको छ है’ भनेको त ओहो, ऊ त आगो भै र एक झापट हानिहाली ।’ हामीले किन भन्नैनपाई उसैले थप्यो- ‘र भनी- ‘मैले सोधेको थियो ???’ अनि तुरुन्तै भनी- ‘गैहाल्नोस् तपाईं’ र म पनि आइहालेँ ।’
यस घटनाले पनि मलाई लाग्यो संसारमा सबै कुरा बताउन, देखाउनका निमित्त हुँदैनन्, न थाहा पाउनका लागि नै हुन्छन् ।
मैले २।३ वर्षपछि नै त्यो जागिर छोडेँ र मोरङमा मास्टरी गर्ने दौरान आफ्नै मातहतका एक शास्त्री शिक्षकले भनेको आज पनि सम्झिन्छु- ‘सर तपाईं यत्रो पढेलेखेर पनि सारै सोझो हुनुहुँदोरहेछ । यस्तै हो भने तपाईंलाई टिक्न मुस्किल हुन्छ ।’ अनि एउटा संस्कृत श्लोकसहित थपेका थिए- ‘मान्छेले सबैलाई सबैथोक भन्ने होइन । कुन, कहाँ कहिले, कति, कसरी, कसलाई बताउने, देखाउने भन्ने कुरा गलत होइन,कार्य कुशलता हो !’
सदाचारी, निर्लोभी र करुणासिक्त ठानिएका र मानिएका ठूला धार्मिक व्यक्ति, नेता, समाजसेवी आदिनिकै ठूला आर्थिक हिनामिना वा यौनदुराचार वा निर्मम यातना वा हत्याजस्ता अपराधमा मुछिएको कुरा प्रकाशमा आइरहन्छन्, अचेल झन् बढी नै । कति त पकडाउ, अदालती कारबाइमा पनि पर्छन् । धेरैलाई आश्चर्य लाग्छ भने अरू कति धेरैचैँ होइन होला, शत्रुको चाल होला आदि भन्ने सोचमा पनि पर्छन् । त्यस्तै प्रचार पनि हुन्छ । त्यस्ता अपराध गरेको सार्वजनिक जानकारीकै मान्छे छाती फुकाएर हिँडिरहेका पनि हुन्छन् । केही पकडाउ परेपनि अदालतबाट सफाइ पाएर घाँटीले नथामुन्जेल मालाको भारी बोकेर सिँदुर जात्रा गर्दै नगरपरिक्रमा गर्छन् । यथार्थ कुन सत्य कुन असत्य भन्ने अनिर्णयको अन्योलमा परिणत हुन्छ र समयक्रममा एउटा समान्य घटनाका रूपमा आउँछ- जान्छ ।
साँच्चै, कुन साँचो हो कुन होइन भन्ने दोधारमै, वादविवादमै कुरा पुरानो भएर अर्कोअर्को नयाँ र झन् आश्चर्यलाग्दा कुरा हुँदै अगिल्लोलाई छोप्तै गैरहेका हुन्छन् र यसो गर्दागर्दै जिन्दगी नै बाइबाई हुने दिन आउँदोरहेछ, एउटाको, अर्काको, अर्काको.. यही मात्र सत्य र अरू सबै झुट्टा हो भने झैँ ।
केही विश्वप्रसिद्ध विद्वान्का निम्न भनाइमा पुन एकपल्ट विचार गरौँ :

Human has a good enough memory to be a successful liar.-Abraham Lincoln.

Man is the only creature who refuses to be what he is.-Albert Camus.

Man is not what he thinks he is, he is what he hides.- Andre Malraux.

यी तीनवटै भनाइको सारांश एउटै छ:  मान्छे जे देखिन्छ, देखाउँछ त्यो होइन र हो त्यो जे सफलतापूर्वक लुकाएको हुन्छ ।

यो त हैरानी पार्ने कुरा हुँदै हो तर everyday matter भनेजस्तो अति सामान्य । तर यो अति समान्य हुन्छ, कारण यो सबैको सत्य हो- ढाँट्नेको पनि, ढाँटिनेको पनि, देख्नेको पनि देखिनेको पनि । यहाँ भर्तृहरिसम्बन्धी प्रचलित एउटा किंवदन्तिको सम्झना हुन्छ:  उनलाई कुनै सिद्धले सदा जवान रहने फल दिए अरे, जुन उनले आफ्नी रानीलाई दिए अरे । रानीले त्यो फल आफ्नो प्रेमीलाई दिइन् अरे । उसले आफ्नी प्रेमिकालाई दियो अरे र उसले चैँ त्यो फल उसको प्रेमी, अर्थात् भर्तृहरिलाई नै दिई अरे ! अब भन्नोस् को कति बफादार वा कम बफादार-बढी बफादार वा सम्पूर्ण बेइमान ?
मान्छेका बारेमा मनस्तरङ्गिणीमा केही रोचक यथार्थ सङ्कलित छन् जुन यहाँ सान्दर्भिक हुनुपर्ने: ‘मानिस चैतन्ययुक्त वा आत्मचेतयुक्त हुन्छ । फलस्वरूप ऊ संवेदनायुक्त हुन्छ जो हाँस्न, रुन, मनोरन्जन- ख्यालठट्टा गर्न, लाज मान्न, पश्चात्ताप गर्न र अझ मुख्य कुरा भाषा प्रयोग गर्न, कल्पना गर्न, साधारण र कलात्मक वस्तु सिर्जिन, गणित- विज्ञानको प्रयोग गर्न, आर्थिक- सामाजिक वा राजनैतिक सङ्गठन- व्यवस्थापन गर्न, ढाँट्न, ठग्न र आपसमा विग्रह पार्न, विग्रह टार्न आदि पनि जान्दछ । ..ऊ मुलत भ्रम, विस्मृति, आलस्य, ईष्र्या, आवेग, भूलचुक, स्वार्थ, अवसरवादलगायत पाशविक कमजोरीले जन्मजात ग्रस्त हुन्छ । मानवीय ज्ञान र गुणले त्यसलाई जति वशमा राख्नसक्छ त्यति नै उसको मानवीयता हो ।…’
तर संसारको सर्वोच्च प्राणी मान्छे नै हो भन्ने कुरा जति निर्विवाद छ, त्यति नै निविर्वाद छ उसको देवत्व र राक्षसत्व पनि । पुराण, इतिहास र जनश्रुति मान्छेका अनपत्यारिला क्रुरता, करुणा, बहादुरी, सहनशीलता, सिर्जनशीलता आदिका कहानीले खचाखच भरिएका छन् । धर्म, कलाकौशल, सहर, सभ्यता, शिक्षा- संस्कार- सरकार- कानुन मान्छेकै रचना हुन् भने नरबलि, सतीप्रथा, दासप्रथालगायत महासंहारक युद्धहरू पनि उसकै खातामा जान्छन् । नरबलि, सतीप्रथा आदि अब छैनन् पनि भनिएला जो औपचारिक त छैनन् तर विभिन्न जात- वाद- रङ- राष्ट्रियता आदिका नाममा र मान्छेमाथि मान्छेका कहिल्यै नभरिने लोभ, मोह, विलासका अवसरजनित विभिन्न किसिमका खुला र छद्म अन्याय, शोक, भोक र रोग तथा बलात्कार, हत्या, लुट, ठगीका लोमहर्षक घटनाले एक्काइसौँ शताब्दीको उच्च पठित र सचेत संसार उस्तै आक्रान्त छ । बालिका सम्झना विश्वकर्माको घटना अत्यन्त ताजा छ निर्मला पन्त आदिको बिर्सिएपनि ।
आफ्ना चिरअसन्तुष्ट चाहना, जीवनको क्षणभङ्गुरताजन्य भय र हतारो, बारुलाले चिलेर जथाभावी कुदेका गाईगोरुका बथानजस्तै जथाभावी भैरहेको मानवसमुदाय, कहिल्यै बुझेर बुझिनसकिने ब्रह्माण्डीयगतिक्रम र ज्ञानको अपूर्णताका कारणले गर्दा लाग्छ, मान्छे आफैँ हराएको छ बाटो भुलेको यात्रीजस्तै।
यसमा उसको दाहोरो–तेहेरो रहने मनस्थितिका कारण आफैँ सँगका सङ्घर्षर बाहिरी समाजसँगको सामञ्जस्य स्थापित र व्यवस्थित गर्न नसकेर ऊ क्षतविक्षत हुन्जेल पीडित भएको छ । कुनै पनि खाले मठ- महन्त वा ध्वजापताका, कुनै पनि खाले वाद- विचार- व्यवस्था वा वाक्छलमै मात्र खुट्टो घुमाइरहेका तिनका अगुवा-अभियन्ता, अनेक खाले वैज्ञानिक- मनोवैज्ञानिक- चिकित्सावैज्ञानिकलगायत कुनै उपाय काम लागिरहेका छैनन् ।
सायद सेट गरिदिएको टाइमबमजस्तै अनवरत स्वचालित रहने उसको मनले उसलाई बहुरूपी बनाइदिन्छ । एकपल्ट अपराधमा फँस्न पुगेकाले ब्ल्याकमेल भैरहेको अथवा ब्ल्याकमेल हुने भयले अनेक रूप धारणगर्दै भागिरहेको मान्छेजस्तै लाग्छ उसको अनवरत दौड । चाहनाको अन्त्यहीन तनाव, यथार्थको सर्वव्यापक दवाब, भविष्यबोधको निरन्तर खबदारी तथा आफ्ना क्षमताको सीमा र आदतको कसावका बीच ढुङ्ग्रामा परेको मुसो वा पिञ्जडामा परेको पन्छीझैँ उसको मन रातदिन के गर्ने र के नगर्ने, कसरी गर्ने र कसरी नगर्ने, कसको भर पर्ने र कसको नपर्ने चौतर्फी अन्योलबीच भुटभुटिइरहनु सायद मान्छे हुनुको सबैभन्दा ठूलो नियति हो र उसको असली पहिचान । यस यथार्थलाई आफ्ना नियन्त्रणमा लिनु उसको प्रमुख चुनौती हो । तब त भनिन्छ- जसले आफूलाई जित्छ उसैले जित्छ संसार । तर कहिले सकिरहेको छ र उसले जित्न आफूलाई  ? सकेको भए त यो निबन्धको आवश्यकतै नहुँदो हो वा अर्कै स्वरको हुँदो हो । कि यही हो सात्र्रले man is to be invented everyday भन्नुको तात्पर्य  ?
यस्तो स्थितिमा लाग्छ उसलाई भत्र्सनाभन्दा बढी उत्साह, आलोचनाभन्दा बढी बुझाइ र अनपत्यारभन्दा बढी विश्वासको वातावरणर सबैभन्दा बढीचैँ ठगाठगी नभएर इमानको भरोसा चाहिएको छ हरेक एक र अर्कामा । कहाँ पाइन्छ त्यस्तो केही थाहा छ कसैलाई ?

आँखोँ देखे मौन मुख सहा कहा नजाए
लेख विधाताका लिखा कौन किसे समझा ?
(बी.आर. चोपडाको हिन्दी सिरियल महाभारत)


(दाहाल चर्चित साहित्यकार हुन्)
[email protected]