• २०८१ माघ २७ आइतबार

जान्नु, चिन्नु र बुझ्नु !

डा. विष्णुविभु घिमिरे

डा. विष्णुविभु घिमिरे

मानव लीला अपरम्पार छ । यो दुनियाँमा कसैले सम्पूर्ण जान्दछु, बुझ्दछु र चिन्दछु भन्छ भने त्यो अति साधारण सीमित सिमानाभित्र मात्र हो, कुवाभित्रको भ्यागुते अनुभूति मात्र हो । अन्यथा यो कसैको अहंपना अथवा एउटा मीठो भ्रम मात्रै हो । यो दुनियाँ भ्रम पार्नेहरूकै लागि हो । जसले जति भ्रम पार्न सक्छ त्यो त्यति नैै व्यक्तित्वशाली–ठूलो मान्छेका रूपमा स्थापित हुन्छ । यस अर्थमा भ्रम एउटा कला हो, सबै कलाकार हुँदैनन्, सबैले उक्तिकै भ्रम पार्न सक्तैनन्, सबै आफू बाँच्ने क्रममा धेर–थोर भ्रम सिर्जना त गर्छन्, तर धेरै थोरैले मात्र मलाई लाग्छ–आफूले सिर्जना गरेका भ्रम स्थायी बनाएर जोगाउन सक्छन् । ती जोगाउने ठूला मान्छे भइरहन्छन्, बाँकी सर्वसाधारणमै गनिन्छन् । त्यसै भनेको होइन रैछ ‘जगत् मिथ्या’ ।
के जगत् झुटैझुटो र बेइमानैबेइमानहरूले भरिएको छ त ? शिष्ट, सभ्य र मानवीय भावनाका पुजारी भन्न रूचाउने आजका मानवजातिलाई यति ठूलो अभियोग झुन्ड्याउन मिल्छ र ? अर्कोतिर युद्ध, अशान्ति, असुरक्षा– सेना, पुलिस, अदालत आदिको वृद्धि हेर्दा, अहिलेसम्म पनि राजनैतिक व्यवस्थाको स्थापना भइनसकेको अवस्था हेर्दा, जन्मदेखि मरूञ्जेलनिरन्तर अन्यौलैअन्यौलको भुवँरीमा बाँच्न विवश मानवजातिलाई हेर्दा–वास्तविक सत्य के हो त ? उत्तरशून्य प्रश्नहरूको चाङ बोकेर सृष्टिदेखि अहिलेसम्म मानिस निरन्तर यात्रा गरिरहेछ । सयौँ झुटहरूको पहरा नाँघेर हामीले कति सत्यलाई छुन सक्यौँ । हज्जारौँ छल, कपट र षड्यन्त्रका पर्खाल पार गरेर हामीले कति विश्वासलाई छुन सक्यौँ । यस्ता प्रश्नहरूको जवाफ कसले, कहाँ दिने ? दिए पनि सपाट, स्वच्छ, सीधा–साँचो कसले बोल्ने ? यस वेला अन्तरआत्मादेखि बोल्नुपर्छ । आत्मैदेखि बोल्ने अभ्यासमा हामी कति पारङ्गत छौं ? चुनौती छ, अप्ठ्यारो छ । आफ्नै हात आफ्नै छातीमा राखेर एकपल्ट उत्तर खोज्नुहोस्–सत्–विवेकको नाउँमा, नीतिधर्मको नाममा, जीवन जीविकाको वाध्यतामा–राजनीतिको खालमा तपाईले कति घात र कति अन्तरघात गर्नुभयो ?
जान्नु, कति जान्नु ? जान्नु यति नैं हो वस् जान्नु र जानिराख्नु–जान्नुको कुनै सिमाना छैन । बुझ्नु, कति बुझ्नु ? जति बुझ्नु, निरन्तर बुझिरहनु–बुझ्नुको कुनै अन्त्य छैन । चिन्नु, कहाँसम्म चिन्नु ? ओल्टाइपल्टाइ, कतै न कतै छुटेकै छ । जति चिन्छु भन्नेलाई पनि चिन्नुले झुक्याएकै छ । साँच्चि चिनिसकेको भन्दा चिन्न बाँकी कति धेरै, कति धेरै…।
जान्नु, चिन्नु र बुझ्नु–विश्वका यावत शिक्षालय, विश्वविद्यालय यही तीन शब्दमा केन्द्रित छन् । सृष्टिदेखि आजसम्मको मानव–विकास क्रममा मलाई लाग्छ–मानिसले निरन्तर जान्नु, चिन्नु, बुझ्नुमै आफ्नो सारा प्रयत्न खर्च गर्यो । जति खर्च गर्यो उपलब्धि केही त निश्चय भयो–केही जान्यो, केही चिन्यो र केही बुझ्यो । केही मात्र केही…बाँकी धेरै बाँकी ।
जान्नलाई हामी रात–दिन अध्ययन गर्छौं, चिन्तन, मनन र विचार–विमर्श गर्छौं । बुझ्नका निम्ति हामी त्यति नै आतुर छौँ । गाँठिएका सयौँ गाँठाहरू फुकाउँछौं–जति फुकाउँछौ त्यति नै गुजुल्टो पर्दैजान्छ, यही गुजुल्टोमा गुजुल्टिएर पत्तै नपाई जीवन सक्छौँ । रह्यो चिन्ने कुरा, कसलाई हामी कतिसम्म चिन्न सक्छौँ ? जब कसैसँग परिचय हुन्छ, हामी साथसाथ हिँड्न खोज्छौँ, एकअर्कामा माया, ममता र आत्मीयता पोख्न थाल्छौँ । नाता, आत्मीयता, ममता र कर्तव्यको दिगो क्रम बसिसकेपछि पनि जीवनयात्रामा कताकता अविश्वास, ईष्र्या र आशङ्काले मानिसभित्र ठाउँ बनाएकै हुँदोरहेछ । एकदिन यस्तो दिन आउनेछ–तपाईंकाबारेमा जुन आफन्त या मित्र हिजोसम्म तपाईभित्र गुणैगुण देख्थ्यो, आज उही दोषैदोष मात्र देख्छ र भन्छ–मैले फलानालाई बल्ल चिनेँ । ९० वर्षको बाबु आफ्नो ७० वर्षको छोरासँग वादविवाद पर्दा भन्छ–‘तँलाई बल्ल आज चिनेँ, तँ त शकुनि रहिछस् ।’ आफ्नै काखमा हुर्किएको, आफ्नै संरक्षण र माया–ममतामा किशोर, जवान हुँदै वृद्ध अवस्थातिर ढल्किसकेको आफ्नै छोरालाई ७० वर्षसम्म नचिन्ने बाबु कस्तो होला ? तर आश्चर्य मान्नु पर्दैन–वास्तवमा चिन्ने प्रक्रियाले अहिलेसम्म अर्थात् मानवसभ्यताका पाषाण युगदेखि अत्याधुनिक वर्तमानसम्म उत्तिकै झुक्याएको छ ।
जान्नका लागि जति मिहिनेत गर्छौं, बुझ्नका लागि जति आतुर हुन्छौँर चिन्नका लागि जति जिज्ञासा एवं आत्मीयता प्रदर्शन गर्छौैं के त्यसलाई हामी समुचित उपयोगमा ल्याउँछौै ? जानेका कुरा कति व्यवहारमा उतार्छौं । बुझेको तथ्यलाई विवेकपूर्वक कतिसम्म प्रयोगमा ल्याउँछौँ र चिनजानलाई औपचारिक कृत्रिमताबाट मुक्त भै कतिसम्म अनौपचारिक यथार्थमा उतार्न सक्छौँ? जीवनको सफलता–असफलता, बाँच्नुको सार्थकता–निरर्थकता यसैमा भर पर्छ । मानव–व्यक्तित्वको प्रतिष्ठा यही आधारमा व्यापक र सङ्कुचित हुनपुग्छ । रात–दिन एकनास अध्ययनरत रहेर पनि जान्नु, मात्र जान्नुकै अर्थमा मात्र खुम्चिरह्यो भने, बुझ्नु मात्रै बुझ्नकै लागि बुझ्नु भयो र चिनजान–पहिचान पनि खालि एउटा औपचारिक कृत्रिमताभित्र मात्रै सीमित रह्यो भने–‘जान्नु,चिन्नु र बुझ्नु’ को अर्थ अब के रह्यो ?