‘मम्मी, बाबु स्कुलबाट आयो ?’ छोरीले सोधी ।
‘अहँ आएको छैन ।’ म जबाफ दिन्छु ।
‘ए, आउँदै होला । हजुर नै रिसिभ गरिदिइस्योस् । अनि स्कुलबाट आएपछि सेनिटाइजरले हात पुछिदिइस्योस्, जाडो छ, लुगा भिजाउला ।’ उसले भनी ।
मैले भनेँ- ‘छोरी म उसका लागि जाउलो बनाउँदै छु । गाजर, शुद्ध गाईको घ्यू र अदुवा हालेर ।’
उसले फेरि भनी- ‘अँऽ ऽ ऊ जाउलो खान मन गर्दैन । मेरो कोठामा मफिन छ अनि किड चीज छ । त्यही दिइस्योस् अनि केक पनि अर्डर गरिदिइस्योस् है ! भोलि उसको बर्थ डे स्कुलमा मनाउनु पर्छ रे । बिहान केक लिएर जानुपर्छ, घरमा नै डेलिभरी गरिदिन्छन् । म केक पसलको फोन नम्बर र कति पाउन्ड अनि कुन फ्लेवर भनेर मेसेज गरिदिन्छु । अहिले नै फोन गरिदिइस्योस् है ! नत्र ढिला हुन्छ । आज मेरो इमरजेन्सी मिटिङ् छ । बेलुका ढिलो हुन्छ होला, हजुर नै सुताइस्योस् है मम्मी बाबुलाई ।’
छोरीले यी कुरा यति हतारमा भनी कि मानौँ उसको समयको ट्रेन स्टेसनबाट छुटिसकेको छ अनि उसलाई समाउन हम्मेहम्मे परेको छ ।
मलाई लागेकोथ्यो छोरीले सोध्ली- ‘मम्मी आज काम सघाउने बिन्दा आई कि आइन ? किनकि भोलि बेलुका बाबुको बर्थ डे पार्टी भव्य गर्नुछ ।’
अहँ सोध्दै सोधिन ।
मलाई लागेकोथ्यो छोरीले सोध्ली- ‘मम्मी तपाईंको आंँखा पोलिराखेको छ भनिसिन्थ्यो, कस्तो छ ?’
अहँ छोरीले पटक्कै सोधीखोजी गरिन ।
मेरो आंँखा पोलेको निकै दिन भइसकेको थियो । जाडो महिनामा ग्यास हिटरमा बसेपछि प्रायः मेरो आंँखा यसरी नै पोल्ने गर्दछ । तर कसैलाई अस्पताल लैजाने फुर्सद छैन, भनौंँ चासो छैन । किनकि घरको काम मेरा आँखाले होइनन्, हातखुट्टाले गर्छन् । छोरीको व्यस्त्ता यस्तै हो । ज्वाइँ विदेशमा छन् । श्रीमान् बिहान खाना खाएदेखि हराउनु हुन्छ । कहाँ जानु हुन्छ, पत्तो हुँदैन । यो काम गर्ने भनेर कुनै व्यवसायको टुङ्गो नभएपछि थाहा नहुँदो रहेछ । उहाँ अलराउन्डर हुनुहुन्छ । वडा कार्यालयको सचिवदेखि मन्त्रालयको सचिवसम्म सेटिङ् मिलाउन खप्पिस हुनुहुन्छ । देशभर हुने ठेक्कापट्टादेखि नक्कली लाइसेन्स, नक्कली सर्टिफिकेटको मिलेमतो सबैको सेटिङ् गर्न सिद्धहस्त हुनुहुन्छ । उहाँ कहाँ जानुहुन्छ ? न सोध्नेले सोधेर साध्य हुन्थ्यो, न त बताउनेले बताएर साध्य हुन्थ्यो । यी सबै कुरा पनि उहाँले मानिसहरूसँग मोबाइलमा कुरा गर्दा थाहा पाएकी मात्र हुँ मैले । एउटा असल र आदर्श गुणले भरिएकी पत्नीको भारले मेरा धेरै उत्सुकता, चाहना र विचारहरू थिचिएका हुन्छन् । श्रीमान्को इच्छाको बाटोमा कुनै काँडा नपरोस् भनेर म सधैँ चिन्त्ति रहन्छु । तसर्थ कहिल्यैै यस्ता प्रश्नहरूका काँडाहरूले उहाँलाई बिझाउने इच्छा नै गर्दिनँ म । कहिलेकाहीँ उहाँ आफैँले कुनै कुरा गरिहाल्नुभयो भने म सुनिरहन्छु मात्र । के, किन, कसरी, कहाँ र कहिले भन्ने शब्दहरू मेरा मस्तिष्कका शब्दकोशबाट हराइसकेका छन् ।
आँखा पोल्ने र बिझाउने गरेको निकै दिन भइसक्यो । साधारण घरेलु औषधीले पटक्कै छोएको छैन । आँखा पोलेको दिनदेखि म मेरी आमालाई सम्झिरहेकी छु । आमा पनि यसरी नै आँखा पोल्यो भन्नुहुन्थ्यो । मलाई आमाको कति माया लाग्थ्यो ? त्यो त कुनै जोखेर, तौलेर देखाउने कुरो नै थिएन । बस् भित्री हृदयको ढुकढुकीमा बाँचेको थियो त्यो माया । त्यो नाप्ने त अहिलेसम्म कुनै यन्त्र नै बनेको छैन । बनेको भए म नापेर देखाउँथेँ हुँला । गाउँको घर, आजभन्दा चालीस वर्षअघिको कुरो हो । त्यो वेलाको रहनसहन, समाज नै अर्को थियो । आजको जस्तो खाना पकाउनलाई, माइक्रोओभन, ग्यास, हिटर, स्टोभ केही बनेका थिएनन् । दाउराको चुल्होमा खाना पकाउँदा आमा आँखा पोल्यो भनिरहनु हुन्थ्यो । त्यसैले म आफैँ खाना पकाउँदथेँ । आमा भन्नु हुन्थ्यो- ‘तंँ, चैतमा जम्मेको मान्छेको दाउरा छोयो कि बल्छ । ल तँ नै पका ।’
वास्तवमा म आगो बाल्दा सानासाना दाउरा टाँड पारेर बाल्दथेँ । त्यसैले आगो सजिलै बल्दथ्यो । यसरी आगो बाल्ने विशेष टेकनिक म प्रयोग गर्दथेँ । तर बर्खामा पानीले आधा भिजेका दाउरा बाल्नुपर्दा मेरो उपायले कुनैै काम गर्दैनथ्यो । म चैतमा जन्मेकोलाई पनि हम्मेहम्मे पर्दथ्यो । आमाप्रतिको मेरो स्नेह कति थियो कति, कुनै विषादी नहालेको अग्र्यानिक तरकारीजस्तो स्वादिष्ट र स्वास्थ्यवर्धक । तर अहिलेका छोराछोरीमा त्यो स्नेह, त्यो हार्दिकता, त्यो आत्मीयता खोइ ? खै कहाँबाट आयो यस्तो प्रदूषित हावा ? उनीहरूले आमाको ममता के हो ? सामीप्य के हो ? महत्तव के हो ? बुझनै सकेनन् । खै आमाप्रति उनीहरूको संवेदनशीलता ? छोराछोरी हरदम मोबाइलमा भिडिरहेका हुन्छन् कि ल्यापटप कि त टीभीमा ।
म आमासँग बसेर सुखदुःखका लामालामा गफ गर्दथेँ । अझ विवाह भएपछि आमासँगको मेरो आत्मीयता, हार्दिकता र सामीपताले कहिले बिरानो हुन परेन । मैले छोरी पाउँदा आमा हामीलाई हामी पाउँदाको संस्मरण यसरी सुनाउनु हुन्थ्यो ।
उहाँ भन्नुहुन्थ्यो- ‘तिमीहरूको पालामा अस्पताल आयो, औषधी आयो । तिमीहरू कति भाग्यमानी ! हाम्रा पालामा केही थिएन । कसरी दुःखले छोराछोरी पायौँ अनि हुर्कायौँ । औषधी- पानी केही थिएन ।’ यसो भन्नुहुँदा आमाको आँखाभरि आँसु हुन्थ्यो अनि गला अवरुद्ध हुन्थ्यो । हुन पनि हो, आमाको पालामा डाक्टर, औषधी, अस्पताल भन्ने नै थिएन । आमाले दुई छोरीमुनिको दुई छोरा गुमाउनुभएको थियो । अस्पताल भएकोभए गुमाउनु हुन्थेन होला । म जेठी छोरी थिएँ । दुई छोरा खेर गएपछि बुबाले छोरा पाउनका लागि भनेर अर्की स्वास्नी ल्याउनुभएको थियो । तर तिनले पनि छोरी नै पाइछन् । बुबाको हातमा खासै कमाइ थिएन । किसानी पेसा भएको हुनाले कान्छी स्वास्नीलाई खेतबारी, घरघन्दामा खट्न सकस भयो । उनले घर धान्न सकिनन् अनि छोरी लिएर माइत हिँडिछन् । त्यसवेलाको सिमसिमे सम्झनाले अहिले पनि मलाई भिजाउने गर्दछ ।
कान्छी स्वास्नी ल्याएपछि बुबा हाम्रो घर आउनुहुन्नथ्यो । आमा र हामीसँग राम्ररी बोल्नुहुन्नथ्यो । आमालाई कति ठूलो पीडा हुन्थ्यो होला त्यो वेला । बिहान उठेर ओछ्यान मिलाउँदा जहिले म उहाँको सिरानी भिजेको पाउँथेँ । तर उहाँले आफू विचलित भएको र तनावमा भएको कहिल्यै देखाउनु भएन । आमाको यही संयमता र धैर्यले नै होला सौताले छोरी पाएर पनि घरमा टिकिरहन सकिनन् । कान्छी स्वास्नीले घर छोडेर हिँडेपछि लाचार भई बुबा हाम्रै घरमा बस्न थाल्नुभयो । त्यसपछि सबै कुरा सामान्य हुँदैगयो । आमाले तेस्रोचोटि छोरा पाउनुभयो । ‘एउटा छोरा के छोरा एउटा आँखा के आँखो’ भन्ने उखान घरिघरि घरमा चर्चा हुनथाल्यो । आमाले फेरि भाइ पाउने हुनुभयो । आमाले कसरी कहाँबाट भाइ पाउनुहुन्छ भन्ने कौतुहल बालमस्तिष्कमा जागिरहन्थ्यो । आमालाई बेथा लागेपछि सुत्केरी गराउन कोठामा राखिएको थियो । चार- पाँचजना गाउँका महिला र एकजना नाम चलेकी गाउँकी सुडुनी आमै भित्र कोठामा थिए । ती आमै बिँडी खुब खान्थिन् । मेरो मस्तिष्कमा ती बाल्यकालीन चित्र अहिले पनि चलचित्र बनेर घुमिरहन्छ । हामी केटाकेटी र लोग्नेमान्छेलाई भित्र छिर्न दिइएको थिएन । भित्र मधुरो प्रकाशमा मसिनो हल्ला सुनिन्थ्यो । सबैजनाको मुखबाट कारुणिक र मायालु शब्दहरू निस्केका हुन्थे । तर शब्दचाहिँ प्रस्ट बुझिँदैनथ्यो । मलाई आमाको यो अवस्था देखेर निकै पीडा भएको थियो । म चिन्त्ति र भावुक भएकी थिएँ । जब बाहिर च्याँऽ ऽ च्याँ ऽ गरेको गरेको आवाज सुनियो- म खुसीले बुरुक्क उफ्रिएँ । आमाले भाइ पाउनुभएको थियो । यो समाचार कोठा, घरआँगन हुँदै गाउँभरि फैलियो । यो समाचार फैलाउनेमा म नै पहिलो स्रोत थिएँ ।
आमाको अति धेरै माया गर्ने र घर- व्यवहार पनि मनग्य गर्नेहुनाले मैले एउटी सुशील, ज्ञानी र अनुशासित छोरीको तक्मा पाइसकेकी थिएँ । त्यो तक्मा मेरा लागि भिक्टोरिया क्रसभन्दा महत्तवपूर्ण थियो । मेरा लागि यो ठूलो गर्वको कुरा पनि थियो । पछि म हुँर्कदै गएपछि त्यस तक्माको भारले थिचिएर होला आमाबुबाको इच्छाविपरीत कुनै पाइला चाल्न नसक्ने भएकी थिएँ । आमाले बोलेको एक वाक्य नै मेरा लागि नजिर बन्दथ्यो ।
तर मेरी छोरी ! मेरी छोरीलाई त्यो एक वचन नजिर बन्नु त कहाँ हो समुद्रमा मिसाइएको एक थोपा पानीसरह हुन्छ । मैले उसलाई पाउँदा र उसले छोरा पाउँदा समयले ठूलो कोल्टे फेरिसकेको छ । उसले त पाउँदा नर्मल डेलिभरी नै नगर्ने भनेर पहिल्यै सिजरियन सेक्सनका लागि नाम दर्ता गराइसकेकी थिई । मैले सामान्य अस्पतालमा उसलाई नर्मल डेलिभरी गराएकी थिएँ । धेरै कुरा आमाले सिकाउनुभएको थियो । अझ आमाले नै दुई महिनासम्म सुत्केरी स्याहारेर मलाई स्वस्थ बनाउनुभएको थियो । आमा भन्नुहुन्थ्यो- ‘आइमाईमान्छेको शरीर तन्दुरुस्त भएन भने लोग्नेले हेलाँ गर्छन् । लोग्नेले हेलाँ गरे घरका सबैले हेलाँ गर्छन् । म यति हट्टाकट्टा नभएको भए तिम्रा बाउले दुइटी तीनोटी ल्याइसक्थे । म निरोगी भएर घर- व्यवहार, खेतबारी सबै धान्न सक्ने भएकीले ल्याउन सकेनन् ।’
मेरी छोरीले अनलाइनबाट नै सिजरियन सेक्सनका बारेमा सबै कुरा थाहा पाइसकेकी थिई । सुत्केरी हुँदा माइतमा स्याहार पुग्छ भनेर छोराको न्वारान सकेर माइत आएकी थिई । मैले मेरी आमाले सुत्केरी हुँदा अपनाउनुभएका सबै विधि अपनाउने प्रयास गरेँ । तर उसले त हरदम अनलाइनका निर्देशिका अपनाउँदै गई । सुत्केरीमा खानुपर्ने मैले जानेका सबै विधि डेट एक्स्पाएर भएका औषधीजस्ता भए । हाम्रो समाजमा ’सुत्केरीलाई तातो, बेहुलीलाई रातो’ भन्ने चलन छ । त्यो उखान नै उसले निष्क्रिय बनाई दिई । सर्वप्रथम उसले बच्चालाई स्तनपान गराउन नै मानिनँ ।
उसले भनी- ‘म एक महिनादेखि ‘जब’ मा जान्छु । मैले दूध खुवाए मलाई गाह्रो हुन्छ । मेरो जिउ पनि बिग्रन्छ । म डब्बाको दूध नै खुवाउँछु ।’
उसका लागि तात्तातो सुप, ज्वानोको झोल, आगो ताप्नु आदि त दन्त्यकथाजस्तो भयो । उसको विचार, इच्छा र चाहनामा मैले सम्झौता गर्नुको विकल्प थिएन ।
उसलाई सुत्केरी स्याहार गरुन्जेल मलाई झल्झली मेरी आमाले मलाई स्याहार गरेको सम्झना आइरह्यो । मेरी आमा कसरी मलाई तात्तातो ज्वानोको झोल, कुखुराको मासु र चाम्रे तयार पारेर ल्याइदिनुहुन्थ्यो । पहाडी जडिबुटीबाट तयार हुने ठूलो ओखती भन्ने पकाएर खुवाउनु हुन्थ्यो । कोठाभित्र तगारीमा कोइला बालेर दिनको दुईपल्ट सुँडेनीलाई तेल लगाउन लाउनुहुन्थ्यो ।
नातिनीलाई दिनभर घाममा सुताउनुहुन्थ्यो । उहाँ भन्नुुहुन्थ्यो- ‘मेरी नातिनी राम्री छे । मान्छेले आँखा लाउँछन् । अँगेनाको कालो टीका लगाइदेऊ ।’ उहाँ बोक्सी भूतप्रेतदेखि डर मानिरहनुहुन्थ्यो । अब ती सब कुरा एकादेशका कथा भइसके । ती कुराहरू अहिलेका पुस्ताले अनुकरण गर्न त कहाँ हो कहाँ ? सुन्न पनि चाहँदैनन् ।
ओहो ! छोरीले केक अर्डर गर्नु भनेकी छे । भुसुक्क बिर्सेछु । आजकल किन हो । धेरै कुरा बिर्सन थालेकी छु । सायद उमेरले पनि होला ।
‘हेलो ! अँ सिन्डरेला केक सप हो ?’
‘……………………….’
‘मलाई चक्लेट फ्लेबरमा पाँच पाउन्डको केक भोलि घरमा डेलिभरी गरिदिनुपर्छ ।’
‘…………………………’
‘ए ! हो हो अँ रेडरोज भिलेजमा घर नं. ५२० हो । बिहान ८ बजे ।’
‘……………………….’
‘ओके हुन्छ ल ल ।’
ओहो ! धन्न सम्झेछु नत्र छोरी रिसाएर उधुम पार्थी । अस्ति बाबुको अनलाइन सपिङ् रिसिभ गरिनँ भनेर कस्तो रिसाएकी थिई । श्रीमान् साथमा छैनन् । उसलाई पनि जागिरको टेन्सन छ । थप छोराको भार पनि छ । आमाको मन हो यसै पनि चित्त बुझाउने गर्दछु ।
अँ, आज किन हो म आमाको सम्झनामा अति नै अल्झिरहेकी छु । मेरो सौभाग्य नै भन्नुपर्छ । माइतनजिकै घर भएकोले मैले आमाको मायाबाट टाढिनु परेको थिएन । छोराछोरी पनि मावल जाने भनेपछि भ्यागुता उफ्रेझैँ बुरुक्कबुरुक्क उफ्रन्थे । बिदाको समयमा प्रायः मावलमा नै बिताउँदथे । तर समयले मेरो यो खुसीलाई धेरै दिन जीवित रहन दिएन । मेरो खुसीको बोटलाई जरैदेखि उखेलेर फ्याँकिदियो । मेरा श्रीमान् ठेक्कामा मुद्दा परेपछि तराईको गाउँको घरमा बस्न नै मान्नुभएन । मुद्दा जिते पनि उहाँले काठमाडौँ जाने रहरलाई नै अन्तिम फैसला बनाउनुभयो । काठमाडौँमा राम्रोसँग बाँच्न सक्ने अवस्था बनाएपछि हामी परिवार सबैलाई लिएर आउनुभयो । आएको दुई- तीन वर्ष हामीले डेरामा बसेर दुःख गर्यौ पछि उहाँले कोलिनीमा राम्रो घर किन्नुभयो । बङ्गलासँगै गाडी र मलाई मनग्य गरगहना जोडिदिनुभयो । दुई छोरी र एक छोराको लालनपालन र सामाजिक प्रतिष्ठाको ख्याल गर्दागर्दै समय बितेको थाहा नै पाइनछु । माइत जान धेरैचोटि कोसिस गरेँ । मुस्किलले दुईपल्ट जान पाएकी थिएँ । त्यो पनि थोरै दिनका लागि ।
एकदिन आमाको चोला उठेको खबर आयो । यो खबरले मलाई स्तब्ध बनायो र विचलित पनि ।
मेरी आमा यस संसारमा हुनुहुन्थेन । अब फोनमा वेलावेलामा सुनिने आमाको आवाज यस ब्रह्माण्डबाट हराएयो । म धेरै दिनसम्म आमाको माया र सम्झनाले तड्पिरहेँ । तर यो संसारको रीत नै थियो । बाँच्नका लागि विगतका धेरै कुरा बिर्सिनु पर्दाेरहेछ ।
आमा भन्नुहुन्थ्यो- ‘यो संसार उधी माया हो छोरी । हामीले पनि तिमीहरूका लागि बाउआमा बिर्सियौँ । तिमीहरूले पनि हामीलाई बिर्सियौ । तिमीहरूका छोराछोरीले पनि तिमीहरूलाई बिर्सन्छन् ।’
आमाको कुरा सही थियो । व्यवहारले भावना, इच्छा, संवेदना सबैलाई निमोठनामठ पारेर यथार्थको आगोमा रोटी बनाई पकाउँदोरहेछ । हाम्रो जीवनभोगाइले त्यही यथार्थको रोटी समयसँग चबाउँदै बाँच्दोरहेछ । मेरो जीवनको व्यवहारले पनि आमाको बिछोडको पीडालाई खल्र्यापखुर्लुप निलिदियो । आमाको देहान्तपछि मलाई संसार नै शून्यझैँ लाग्न थाल्यो । मलाई एक्लो महसुस हुनथाल्यो । आफ्नै छायाँ हराएझैँ लाग्यो । मनमा अनेकौँ तिर्सनाका ज्वारभाटाले आफैँलाई पछारेजस्तो हुनथाल्यो तर पनि मैले आफूलाई संयमित बनाउँदै लगेँ । छोराछोरीको रेखदेख, घर- व्यवहार अनि पूजापाठमा आफूलाई व्यस्त राख्नथालेँ । नाति, नातिनीका मायामा आफूलाई भुलाउँदै लागेँ ।
दिनभरको थकानले जब रातमा म ओछ्यानमा पल्टन पुग्छु, तब मलाई कति आनन्द लाग्छ । लाग्छ, यो ओछ्यान मेरा लागि स्वर्ग नै हो । लाग्छ, म अर्काे संसारमा पुगेकी छु । दिनभरको तनाव, थकान सबैलाई बिर्सिएर बेग्लै संसारमा पुगेको क्षण अति आनन्ददायी लाग्दछ । दिनभरको थकान ओछ्यानमा बिसाउँदा यति आनन्द हुन्छ भने जीवनको भारी नै आर्यघाटमा विसाउँदा कति आनन्द हुँदो हो म कहिलेकाहीँ त्यो विश्रामको कल्पना गर्ने गर्दछु । यो स्वार्थी, धोखेवाज र नौटङ्कीले भरिएको संसारबाट टाढा अर्कै संसारमा पुग्दाको क्षण कस्तो हुँदो हो र ? आफ्नो सबै बल, बैँस, शक्ति, खुसीहरू लुटाई रित्तो भइसकेको रूखझैँ ढल्नुपर्ने यो कस्तो बिडम्बना हो जीवनको ? मलाई कहिलेकाहीँ यस जीवनदेखि नै वितृष्णा लाग्दछ । जीवनले नै विश्राम लिएपछि त पीर, चिन्ता, सन्ताप, हतार, इच्छा, खुसी केही नहुँदो होला !
केही दिनदेखि बेलुकीको मेरो आनन्दमयी समयलाई पीडाको ठूलै क्षेप्यास्त्रले तहसनहस पारेको छ । मेरो स्वर्गजस्तो समयलाई छटपटी, चिन्ता र अनिद्राले आक्रान्त पारेको छ । कुरो के भयो भने कान्छी छोरीको नातिको बर्थ डे आउँदैथियो । घरमा कसले के दिने, कसले के किनिदिने भन्ने चर्चा चल्नथाल्यो । श्रीमान्ले भन्नुभयो- ‘म नातिलाई रिमोटवाला कार किनिदिन्छु ।’
मलाई पनि के किनिदिऊँ भन्ने लागेको थियो । मैले भनेँ- ‘म बाबुलाई राम्रो साइकल किनिदिन्छु ।’ मैले यसो भन्दा छोराछोरी दुवै खितखिताएर हाँस्नथाले ।
मैले भनेँ- ‘तिमीहरू किन हाँसेका ?’ छोरीले भनी– ‘मम्मी पनि कस्तो हँसाउनुहुन्छ । हजुरसँग कहाँ पैसा हुन्छ र किनिदिनुहुन्छ ? हजुरलाई बाबाले नै सबै किनिदिनुपर्छ । आफू त महादेव कसले देला वर ?’
मैले भनेँ- ‘मसँग पनि पैसा हुन्छ नि ! के सोचेका छौ तिमीहरूले !’
छोराले भन्यो– ‘हाउ फन्नी यु आर मम ! तपाईसँग के छ र पैसाको तागत देखाउनुहुन्छ ?’
मलाई झनक्क रिस उठ्यो र भनेँ- ‘तिमीहरूले के सोचेका छौ ? मेरो केही हैसियत छैन । म पनि त केही हुँ ।’
छोराले भन्यो- ‘मम्मी, हजुरको हैसियत त ऊ त्यो डाँगीको जत्तिकै छ । डाँगी पनि घर भुकेर बस्छ अनि रेखदेख गर्छ । हजुरको पनि त्योभन्दा परको कुन रोल छ र ?’
बाह्र कक्षा पढ्ने छोराले यसो भनेपछि दुवै दिदीभाइ गिज्याउँदै हाँस्नथाले ।
छोरीले भनी– ‘छोड यार ममको तुलना डाँगीसँग किन गरेको ? अहिले डाँगीले थाहा पायो भने स्न्याक्स नै खाँदैन अनि तँलाई टेन्सन हुन्छ ।’
मेरो आँखाबाट बरबर आँसु खस्न थाले । छोरा त छोरा हो ऊ छोरामान्छे जन्मजात निष्ठुर र निर्दयी हुन्छन् । तर छोरीले त मेरो महत्त्व र हैसियत बुझ्नुपर्ने हो नि ! मैले उसको छोरालाई रातभर नसुतीनसुती दूध खुवाएर कसरी हुर्काएकी छु ! छोरी त आखिर एउटी आमा पनि त हो नि ! उनीहरूको कुराले मेरो छाती चरक्क फुटेर खुनको आँसु बग्नथाल्यो । मैले मन थाम्न सकिनँ । वातावरण एकछिन स्तब्ध भयो । सन्नाटा छायो ।
छोरीले के सोची कुन्नि मलाई फकाउँदै भन्न थाली- ‘मम्मी किन यति पिन्चे भैस्सिएको । हामीले मजाक गरेका हौँ । डन्ट बी सिरियस मम ।’
तर वचनको गोली बन्दुकको गोलीभन्दा पीडादायक हुन्छ भन्ने कुरा उनीहरूले पटक्कै बुझेनन् । जुन गोलीले छातीमा निको नहुने घाउ बनाएर रगताम्य बनाइसकेको थियो मलाई ।
श्रीमान् सँगै हुनुहुन्थ्यो । मैले सोचेकी थिएँ श्रीमान्ले भन्नुहुनेछ- ‘म पैसा दिन्छु, किनिदेऊ न’ अथवा ‘हेर तिमी किन यसरी मन दुखाउँछौँ ? यी छोराछोरी आलाकाँचा छन् । तिमीले नातिलाई उपहार किन किनिदिनुपर्यो ? तिमीले यस घरमा यति ठूलो सुख- शान्ति दिएकी छौँ । यो सब सृष्टि तिम्रै हो । यी छोराछोरी, यो घर, मेरा इष्टमित्र, आफन्त, परपाहुना यी सब तिमीले हामीलाई दिएको उपहार त हो नि ! घर भनेको बालुवा- सिमेन्टले बनेको चार पर्खाल होइन । घर भनेको सुख- शान्ति सिर्जना गर्ने एउटा मन्दिर हो । त्यो मन्दिरको देवी तिमी नै हौ ।’
अहँ, श्रीमानले पटक्कै भन्नुभएन । यदि उहाँले यसो भन्नुभएको भए मेरा जाडोले कठ्याङ्ग्रिएको मायाको छातीलाई न्यानो बर्को हुनसक्थ्यो । तर उहाँले पटक्कै भन्नुभएन । बुबाले छोराछोरीलाई यस्ता संस्कार, नीतिनियम, अनुशासन, संवेदनाका कुरा नसिकाए छोराछोरीले कसरी सिक्छन् र ? बुबाले उनीहरूलाई आमाको माया, त्याग, योगदानको पाठ नसिकाएसम्म उनीहरू कसरी बुझ्छन् र ?
हो, उनीहरूलाई बुबाले नै घर किनिदिनुभएको छ । बुबाले नै गाडी किनिदिनुभएको छ । बुबाले नै मोबाइल, ल्यापटप किनिदिनुभएको छ । बुबाले किनिदिनुभएको सबै कुराको अस्त्तिव छ तर मैले गरेको योगदानको त कुनै अस्त्तिव नै छैन । मैले उनीहरूलाई जन्माएको, रातभर नसुती हुर्काएको, आफ्नो सारा दुःख भुलेर उनीहरूको खुसीसँग साटेको खै कुन कुरा अस्तित्वमा छ र ? ती अस्तित्व न त बैङ्क एकाउन्टमा, न त घरको कुनै भित्तामा लेखिएको छ । तर उनीहरूको बुबाको अस्तित्व त जताततै लेखिएको छ । घरको भित्तादेखि उनीहरूको स्कुल, कलेजको सर्टिफिकेट, नागरिकता, गाडीको ब्लुबुक, पासपोर्ट, घरको धनीपुर्जा सबैमा उनीहरूको बुबाको मात्रै नाम छ । म कहिलेकाहीँ आफैँले आफ्नो नाम बिर्सेकी हुन्छु । मेरो नाम त मम्मी, हजुरमम्मी, भाउजू, माइज्यू, काकी, दिदी आदिमा सीमित छन् । अनि छोराछोरी किन तुलना नगरून् त मलाई घरको कुकुरसँग ?
हुन त मलाई मेरी काकाकी छोरी सुभद्राले वेलावेलामा भन्नेगर्थी- ‘दिदी आफ्नो पेवा- पुथुरो जोगाएर राख्नुपर्छ । भोलि के हुन्छ थाहा हुन्न ?’ तर म जहिले पनि उसको कुरालाई नकार्दथेँ । ‘श्रीमानले सबै व्यवहार धानेका छन् । मलाई किन चाहियो र पेवा र पुथुरो ? आफ्नै खासै कमाइ नहुँदा मेरो पेवा यति भनेर राख्न पनि भएन नि !’ यसरी उसलाई जवाफ फर्काउँदथे ।
त्यो वेला अझ मलाई पेवा- पुथुरोको कुनै आवश्यकता नै थिएन । छोराछोरीको खुसीलाई नै जीवनको अमूल्य सम्पत्ति ठान्दथेँ । त्यो वेला छोराछोरी सानै थिए । जेठी छोरी ज्ञानी थिई । पढाइमा अब्बल थिई । मास्टर्समा उसले गोल्डमेडल पाउँदा म यति धेरै खुसी थिएँ कि मसँग कुवेरको भन्दा धेरै सम्पत्ति छ र इन्द्रको भन्दा बढी सुख मैले भोगेकी छु जस्तो लाग्दथ्यो । त्यस्तै माइली छोरी पनि पढाइमा अब्बल थिई । उसले वेलामा नै बैङ्कमा राम्रो जागिर पाएकी थिई । दुवै छोरीको राम्रो घरानमा विवाह भएको थियो ।
छोरा सानैदेखि पुलपुलिएको हुनाले जिद्दी र घमन्डी थियो । उसलाई बुबाको राम्रो रेखदेखको कमी थियो । उसका पालामा फेसबुक र युट्युबको चलन आइसकेको हुनाले पढाइमा कमजोर हुँदैगएको थियो ।
एकदिन खाना खाने टेबलमा उनीहरूलाई लक्षित गर्दै मैले भनेकीथिएँ- ‘हैन तिमीहरू रामायण, महाभारत, पिञ्जडाको सुगा, मुनामदन पढ्दैनौ ? खै कहिल्यै पढेको देख्दिनँ ।’
छोराले भनेकोथ्यो- ‘मामु हजुर पनि उहिलेका कुरा गरिसिन्छ । कहाँ यो बोर्ङिङ स्कुलको पढाइमा मुनामदन र पिञ्जडाको सुगा भनिसिन्छ ।’
उसले फेरि भनेकोथ्यो- ‘अँ मामु क्या एउटा कुरा भनुँ ! सरले मलाई हिजो रामायण कसले लेखेको हो भन्नुभयो । मैले कसले भनेँ सुनिस्यो त, मैले हजुरआमाले भनेँ । सबैजना हाँसे ।’
मैले भनेकीथिएँ- ‘किन हजुरआमाले भनेको नि ?’
उसले भनेकोथियो- ‘हजुरआमा रामायण पढिराखिसिन्थ्यो अनि हजुरआमाले भनेँ ।’
उसको कुराले खाने टेबलमा हाँसोको फोहरा छुटेको थियो । यसरी छोराछोरीको खुसीको चास्नीमा म आफ्ना सम्पूर्ण पीडालाई डुबाएर खुसीको नयाँ परिकार बनाएर स्वाद र सन्तुष्टिले पेट भर्ने गर्दथेँ । उनीहरूलाई मीठामीठा परिकार खुवाउँदा उनीहरूले मानेको आनन्दमा म आफ्नो खुसी फुलिरहेको देख्थेँ । त्यही फुलेको खुसी टिपेर म जीवनको सप्तरङ्गी इन्द्रेणीमा रमाउने गर्दथेँ । यो नै मेरो जीवनको आयाम बनेको थियो ।
तर अहिले समयले कसरी कोल्टे फेरेको छ । लाग्छ उनीहरूलाई मेरोभन्दा मोबाइल, टीभी, ल्यापटप, गाडी र जुपिटरको आवश्यकता छ । मेरो बेलुकाको आनन्दमयी समयलाई अपहरण गरेर लैजाने घटना त्यही थियो ।
भोलि नातिको बर्थ डे छ । छोरी बिहान नाति लिएर स्कुल जान्छे । म छोरीलाई बाबुको चिरञ्जीवी पाठ पढाउन मन्दिरमा जान्छु भनेर जानेछु । अनि दिउँसो ब्लड बैङ्क गएर आफ्नो ब्लड बेचेर पैसा लिनेछु अनि नातिलाई भनेजस्तो साइकल किनिदिने छु ।
०००
दिउँसो सोचेजस्तै गरी मैले छोरीसँग मन्दिर जान्छु भनी बिदा मागेँ । बेलुका घरमा बर्थ डेको भव्य पार्टी थियो । छोरीले ‘जान पर्दैन’ भन्दैथिई । मैले मानिनँ । दिउँसो मन्दिरमा चिरञ्जीवी पाठ पढाएर म ब्लड बैङ्क पुगेँ । त्यहाँका मान्छेले मलाई बाबुलाई साइकल किन्नेजति पैसा दिए । मेरो प्रेसर लो भएको छ ‘रिक्स हुन्छ’ भन्दैथिए । मैले मानिनँ । मेरो ब्लड ‘डोनर ब्लड’ भएको हुनाले पहिला पनि यसरी एक दुईपटक उनीहरूले सजिलै लिएर पैसा दिएका थिए ।
नातिलाई सानो राम्रो साइकल लिएर घर आएँ म । घर आउँदा मलाई रिँगटा लागेजस्तो भइरहेको थियो । पार्टीको व्यस्तताले होला छोराछोरीले केही भनेनन् । पार्टीको जिम्मा क्याटरिङ्लाई दिएको हुनाले मैले खासै काम गर्नुनपर्ने भयो । क्याटरिङ्को सबै खर्च विदेशबाट ज्वाइँले नै व्यहोर्ने हुनुभएको थियो । मैले खानपिनको काम हेर्न नपरे पनि नातिको पूरै ख्याल राख्नुपर्ने भयो । बिस्तारै घरमा कोलोनीका सबै छरछिमेकी आए । केक काटियो । ठूलो स्वरमा उफर घन्काइएको थियो । अङ्ग्रेजी गीत र सङ्गीतले जाडोको माहौललाई तताउँदै लगेको थियो । कोही ह्विस्की, वाइन खाइरहेका थिए । मलाई बस्न गाह्रो भइरहेको थियो । रेस्ट गर्छु भनेर म पाहुना र श्रीमान्सँग बिदा मागेर कोठामा आएँ ।
मेरो आँखाअगाडि अँध्यारो छाउनथाल्यो । मैले कसैलाई बोलाइनँ । म भुक्लुक्क ओछ्यानमा ढलेँ । म आमालाई भेट्न जाँदैथिएँ ।
मैले सोचेँ- ‘भोलि मेरो घरअगाडि मानिसहरू भेला हुनेछन् । मेरो फोटोमा माला लगाइएको हुनेछ ।’
उनीहरू भन्नेछन्- ‘नातिलाई आफ्नो आयु थपिदिएर हजुरआमा स्वर्गे भइन् । उनी कति जाती र असल थिइन् ।’ त्यस्तै छोराछोरी र श्रीमान् जन्मदेखिको बल लगाएर मेरो प्रशंसा गर्नेछन् ।
छोरीले भन्ने छे- ‘मेरी आमा कति जाती होइसिन्थ्यो ! यस्ती आमा त भाग्यले मात्र पाइन्छ । उहाँले मेरो छोरालाई कस्तो राम्रोसँग हरेविचार गरिदिइस्येको थियो । नातिका लागि, हाम्रो खुसीका लागि आफूलाई हर्टएट्याक भएको पनि थाहा पाउनुभएन ।’
छोराले भन्ने छ- ‘मेरी आमा यो संसारमा कहीँ पनि नभएकी होइसिन्थ्यो । उहाँले मलाई कसरी लुकाइलुकाई मोबाइल रिचार्ज गर्ने पैसा दिइसिन्थ्यो । उहाँ मनकी र धनकी नै धनी होइसिन्थ्यो ।’
श्रीमान् भन्नु हुनेछ- ‘उनी साहै्र लच्छिनकी थिइन् । साँच्चै देवी सीताजस्तै थिइन् । यो घर, यो परिवार, मेरा यी इष्टमित्र सबै उनले दिएको उपहार हो । उनले नै यो माया र प्रेरणाले भरिएको मन्दिर मलाई उपहार दिएकी थिइन् । उनी त यो मन्दिरमा बस्ने साक्षात् देवी थिइन् । हामी सबैलाई छोडेर गइन् । कति निष्ठूरी रहिछिन् ।’
छोराछोरी- श्रीमान् तेह्र दिनसम्म झोक्राएर बस्ने छन् । अनि पन्ध्रौँ दिनको दिन श्रीमान्ले नयाँ तरुणी दुलही बाजागाजाका साथ भित्र्याउनु हुनेछ । त्यसपछि मेरा फोटाहरू र मेरा सम्झनाका प्रत्येक बस्तुहरू कहिल्यै नखोलिने बाकसमा बन्द गरेर राखिएका हुनेछन् ।
(दाहाल स्थापित कथाकार हुन्)
[email protected]