• २०८१ बैशाख ७ शुक्रबार

आफ्नो आङको भैँसी नहेर

लक्ष्मण नेवटिया

लक्ष्मण नेवटिया

हेर, हेर ताकेर हेर
अरूको पर्दा च्यातेर हेर
यसलाई हेर, उसलाई हेर
के गर्दैछ- मज्जाले हेर
पावरको चस्मा चढाई हेर
सबैको सबथोक केलाई हेर
तर आफू छु कस्तो ?
कहिल्यै नहेर !

अरूका आङको जुम्रा हेर,
आफ्नो आङको भैँसी नहेर !

दूरबिन लगाएर अकाश हेर
रोएको आफ्नो भुइँ नहेर !
विदेश घुमेर उन्नति हेर
देशमा के गर्ने, कहिल्यै नहेर !
छिमेकीको घरको झिल्का हेर
आफ्नो लुगाको आगो नहेर
अरूको नियत, नियति हेर
आफ्नो विकृति,कहिल्यै नहेर
अरूको कस्तो छ प्रकृति हेर
आफ्नो कस्तो छ प्रवृत्ति, नहेर !

अरूको आङको जुम्रा हेर,
आफ्नो आङको भैँसी नहेर !

हेर, आँखा गाडेर हेर
एक- अर्कालाई लडाएर हेर
चुगली लगाई भिडाई हेर
छिमेकीकी स्वास्नी
कता लागी, हेर
उसकी छोरी भागेकी हेर
तर आफ्नीलाई कहिले नहेर !

नाटक हेर, सिनेमा हेर
सेल्फी खिचाउने कथा हेर
तर घरमा चलेको व्यथा नहेर !

अरूको आङको जुम्रा हेर,
आफ्नो आङको भैँसी नहेर !

अरूलाई भन्न ऐना हेर
तर आफ्नो मुहार कहिल्यै नहेर !
साथीको बिग्रेको स्वभाव हेर
स्वभाव बिगार्ने अभाव नहेर
घरका लागि मखमल हेर
आफन्तको सिद्धिएको चामल नहेर
आफ्ना लागि पोको हेर
सडकको बालक भोको नहेर
अरूको गल्ती नियालेर हेर
मौका पर्खँदै लुकेर हेर !

हेर हेर निर्निमेष हेर
हेरे हेर मात्तेर हेर !
हेर हेर ताकेर हेर
अरूको पर्दा च्यातेर हेर !

अरूको आङको जुम्रा हेर,
आफ्नो आङको भैँसी नहेर।


(विराटनगरनिवासी नेवटिया स्थापित कवि हुन्)
[email protected]