• २०८१ भाद्र २६ बुधबार

चरिसो फूल

सीता तुम्खेवा

सीता तुम्खेवा

आमाको वेदना बुझ्न
आफैँ आमा बन्नुपर्ने रहेछ नाना
बल्ल बुझ्दैछु-
घरिघरि किन धाउँथ्यौ तिमी दुम्सी पहरा
कहिलेकाहीँ बिहानीको झुल्के घाम
र साँझको पहेँली घाममा
दुम्सी पहरा र हाङ्नामे भिरमा गुञ्जिने
एकै नासे आवाज
गोठसम्म आइपुग्थे- इयाँ  ! इयाँ  !
मलाई लाग्थ्यो-
भोकाए होला कि ?
म पुग्थेँ भीर नजिकै
आइपुग्थ्यौ तिमी पनि
हेर्दै ओडारको कोक्रोतिर
रुन्थ्यौ बेस्सरी र हुन्थ्यौ बेहोस ।
भीरमाथिको चरिसो फूलबारी वरपर
कुनै भर्खरै निदाए जस्ता
कुनै भर्खरै गिद्धले लुछे जस्ता
कुनै कङ्कालमात्रै बाँकी हुन्थे
कोपिलामै झरेका फूलहरू
आ-आफ्नै कोक्रामा ।

मुन्दुम भन्थ्यो-
‘नटिप्नू चरिसो,
उनीहरू खेल्ने फूलबारी हो
तर म टिपेर सिउँरिन्थेँ चुल्ठोमा
आज-
जङ्गलभित्र ढुङ्गाको सिरक ओडेर
सुतिरहेको मेरो छोरा
ब्युँझिएर निसास्सियो कि- लागिरहन्छ
आमा ! आमा !
मलाई नै पुकारिरहेको छ कि- लागिरहन्छ ।

सत्य,
आमा भन्नु त धरती रहेछ
जो सृष्टि गरि रहन्छिन्न्
जितेर पनि आफ्नै मृत्यु
आज आफैँले बुझेँ नाना
आमाको वेदना बुझ्न त
आफैँ आमा बन्नुपर्ने रहेछ ।

कवि सीता तुम्खेवाको यस कविता ‘राष्ट्रिय कविता महोत्सव- २०७९’मा तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।


सीता तुम्खेवा, भक्तपुर