समाचार

मकवानपुर ।
मकवानपुरका साहित्यकार डीबी बर्तौलाको मुक्तकसङ्ग्रह ‘उज्यालोका बाछिटा’को हेटौंडामा विमोचन गरिएको छ । शनिबार साहित्य संगम मकवानपुरको आयोजनामा बर्तौलाको मुक्तकसङ्ग्रह विमोचनसँगै परिचर्चा गरिएको हो ।
संगमको ३४८ औं नियमित साहित्य सन्ध्यामा उनकोको तेस्रो मुक्तकसङ्ग्रहको विमोचन गरिएको हो । यसअघि पन्जाबको पिंगलवाडा अमृतसरमा अन्तर्राष्ट्रिय लघुकथा सम्मेलनमा भाग लिन जाँदा यात्राकै क्रममा रेलमा उक्त कृति विमोचन गरिएको थियो ।
कृति विमोचन कार्यक्रमा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष तथा साहित्य संगम मकवानपुरका अध्यक्ष बर्तौलाले ‘उज्यालोका बाछिटा’बाट ३ वटा मुक्त वाचन गरेका थिए । १०८ पृष्ठको मुक्तक संग्रहमा ९२ वटा मुक्तक सामवेश छन् । यसअघि २०७५ सालमा बर्तौलाको पहिलो मुक्तकसङ्ग्रह ‘आगतको आँगनी’ र दोस्रो मुक्तकसङ्ग्रह ‘पसिनाको आभा’ २०७८ सालमा प्रकाशित छ ।
हेटौंडा- २, स्थित मकवानपुर बहुमुखी क्यापसका उपप्राध्यापक घनश्याम घिमिरेले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए भने आयुष्मा भण्डारीले पाठकीय टिप्पणी गरिन् । साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालको अध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा विमोचन कार्यक्रम भएको हो ।