• २०८१ फागुन १ बिहीबार

आवरण

प्रेमप्रकाश मल्ल

प्रेमप्रकाश मल्ल

एमएड गर्दैथिएँ । भाषासाहित्यमा केही नयाँ काम गर्नुपर्छ भन्ने भावना पनि मनभरि छँदैथियो । त्यसैमा पनि हेम सरले एउटा नयाँ काम सुझाइदिनुभयो । दैलेख क्षेत्र नं. १ को स्थाननाम शब्दकोश तयार पार्नुपर्ने । कति साथीहरूले त ५० पूर्णाङ्कको थेसिसका लागि के त्यति दुःख गर्नु पनि नभनेका होइनन् । तर पनि गुरुको सल्लाहले म हौसिएँ ।
प्रस्ताव पास भएपछि भने मलाई आफ्नै गाउँको सेरोफेरोबाट कामको थालनी गर्न मन लाग्यो । पाङ्कोट, विजयकोट, सेर्माकोट, पोखरीपाटा, चौखुडा, पराजुल, बाउनचौर, गोरुजुरे, कोटाफेर, बन्दुगाडे, साइँलीलोटेजस्ता आफूले जानेका केही नाउँहरू टिपेँ । सधैँ हामीले उच्चारण गरिरहने यति सजिला नामहरूको पनि अर्थ लेखिहाल्न भने आएन । फेरि कनिकुथी लेखिहाले पनि नबुझेरै लेख्नुको त के नै अर्थ हुन्छ र ! त्यसैले लेख्नुभन्दा पहिले केही कुरा त बुझ्नुपर्यो नि ! सोचेँ, यस्ता कुरा केही जान्ने मान्छे हुनुहुन्छ मास्टर बाजे; उहाँसँगै जान्छु । समय मिलाएर गएँ । म पुग्दा उहाँ महाभारतको मोटो किताब पढ्दै हुनुहुन्थ्यो । मैले अभिवादन गरेपछि बाजेको ध्यान पढाइबाट मतिर मोडियो-
‘काँबाट आयौ बाबु ?’
‘एउटा झन्झट लगाऊँ कि भनेर बाजे !’
‘के हो र त्यस्तो, भन्दैनौ । मैले सक्नेभए केको झन्झट !’
त्यसपछि मैले भूमिका नबाँधेरै भनेँ- ‘बाजे, मैले यसपालि नेपालीमा एमएड गर्दैछु । ५० पूर्णाङ्ककोशोधपत्रमा मैले स्थाननाम शब्दकोश निर्माण गर्ने काम रोजेको छु । मलाई त आफ्नै ठाउँका नाउँहरूबारे पनि केही मेलोमेसो आएन ।’
केही समय त्यसै विषयमा गफगाफ भएपछि उहाँले सोध्नुभयो- ‘त्यसो भए अहिले कुन- कुन शब्दबारे जान्नुपर्ने लौ भन त ?’
मैले माथि उल्लिखित शब्दहरू दोहो¥याएँ । उहाँ केही समय मौन बस्नुभयो र भन्नुभयो- ‘हेर बाबु ! ठाउँका नाउँहरू भूगोलको विशेषता, धर्मसंस्कृति, जातजाति, विशेष घटना, इतिहास आदि थुप्रै आधारमा राखिएका हुन्छन् । तिनका बारेमा जान्न सक्नु पनि ठूलै महत्त्वको कुरा हो । यस्ता कति कुरा हामीले अघिल्ला पुस्तासँग लिननसक्दा हाम्रा कैयन् इतिहासहरू सकिएर गए । यहाँका ढुङ्गाका पुराना देवल, खम्बा, धारा, लेखोट आदिका आधारमा पनि हाम्रो इतिहास कति महत्त्वपूर्ण छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ । समय छ भने पहिला म सानो कथाबाट सुरु गर्छु, जुन तिमीले भनेका शब्दहरूमध्ये बन्दुगाडे र साइँलीलोटेसँग सम्बन्धित छ ।’
मैले खुसी हुँदै भनेँ- ‘जति नै लामो भए पनि मलाई सुन्न मन छ बाजे । बरु ढिलो नगरी भन्नु न !’
त्यसपछि मास्टर बाजेले मलाई मीठो गरी ती दुई नामको रहस्यमयी कथा सुनाउन थाल्नुभयो- जेठ भर्खरै लागेको थियो । पाथेभाइहरूले पनि बोलाएको बोलायैथिए । एकदिन बिहानै पत्रेरोटी र आलुको तरकारी बनाइदिइन् घरकीले । साथमा अलिकति मृगको सुकुटी पनि भुट्न लगाएको थिएँ । त्यो पनि गरिदिइन् । नयाँ- नयाँमा माया पनि औधी लाग्ने । उनले काम गरेको निर्निमेष हेरिरहेँ । तैपनि सिकारको नशा भोग्नेलाई मात्र थाहा हुन्छ । उनको प्यासलाई आँखाभरि थन्क्याएर बन्दुक झिकेँ । पुरानो छेउलोले पुछेँ । कालो न कालो दोनाले बन्दुकमा पित्तलका काँजाहरू टलक्क टल्किए । काँधमा राख्दा त झन् सुनकै मुस्लोभन्दा पनि प्रिय लाग्यो । शरीरभरि एकप्रकारको अनौठो ऊर्जा बढेर आएजस्तै लाग्यो । त्यसपछि बाटोलाई पनि भार नपार्दै हिँडेको मान्छे म निकै पर पुगेपछि मात्र साथीहरूसँग मिसिन पाएँ । जे भए पनि बाजेले भनेको कुरा त कहाँ बिर्सन्थेँ र, ‘स्यालको चाहारा जानु, बाघको खजाना लिनु’ । झोलाभरि खरखजाना थियो । सिसाका रोज्जारोज्जा गोली, बनिबनाउ केप, सिरकको छेउलोेको लत्ता, एक दर्जन सलाईको पोका, माना एक बिजुली बारुद र अन्यअन्य पनि । सिकारीलाई त्योभन्दा बढ्ता के नै चाहिन्थ्यो र ! सम्झिएर मन ढुक्क भयो । जङ्गलको बाटोमा पाकेर भरेली नभएका कुनै काफलका बोट नै थिएनन् । गफ गर्दै अनि पोथ्रापोथ्रीका रसिला काफल खाँदै उकालो सकिएको पत्तै भएन । डाँडामा जम्मा हुँदा त्यस्तै एघार बजेको थियो होला । जम्माजम्मी सत्र जना भएछौँ । साथमा तीनवटा नामी कुकुर पनि । केही समय थकाइ मारेपछि बन्दुक नभरेकाहरूले पनि कट्याककट्याक पाई ताने । नालको टुप्पातिरबाट मुख डुबाएर फुके । छुचीबाट सुरुरु हावा पास भएपछि आ- आफ्ना घोडा बसाले र भर्न थाले ।
‘एइ दिपे ! के मुन्छेतिर फर्काएर केप चढाउन लाछस् साले । उता फर्का । तेरो बाउ ऐले झ्याम्मै गए के हुन्छ ?’
भिमेले गाली गरेपछि उसले हाँस्दै नाल घुमाएर केप चढायो । त्यसपछि हर्के दाइ कराए- ‘धेरै होस् पुर्याउनुपर्छ है केटा हो । ख्यालख्यालमै स्याल पल्टिन्छ दशा लाग्या वेला ।’
त्यतिन्जेलसम्म सबै गतिविधि नियालिरहेका साँल्दाइले सुर्ती माँड्दै थपे- ‘ल ल केटा हो, अब ढिलो गर्नी हैन । चारुवा जति हिँडिहाल त !’
‘कोको जानी त चारुवामा ?’
नन्दु करायो । त्यसपछि फेरि हर्के दाइ नै अघि सरे- ‘ल दुईनाल बन्दुक पनि लैजाओ । कुकुरले पगारमा छेक्यो भने हान्नू । जगते र कान्छा भान्जा बन्दुके भैहाले । बाँकी साला, गणेश, काइँला, भिमे, नन्दु, चन्द्रे, बिरे र माझघरे जेठा पनि जाने ।’
‘लौ त ह्याँ बस्नी टोली छिटोछिटो गएर बथान बस्नू है’ जौनाले फुत्काउँछ त्यसको फेरि के हाल हुन्छ, आँफै बुझ्नू !’
हिँड्ने वेला काइँला करायो- ‘ल है, भीर अप्ठ्यारो छ; ख्याल गर्नू । एकै ठाउँमा नहिँड्नू नि । ‘सी’ आकारमा आओ है !’
उनीहरू जाँदै गर्दा म पनि कराएँ । उनीहरू गएपछि माने दाइले भने- ‘ल, अब यो सिरानको घाटमा म बस्छु । प्रदीप योभन्दा तल्लोमा बस्छ । पारसचाहिँ त्योभन्दा तलको मुख्य घाटमा जा ! बाँकी दिपे, साँल्दाइ, भिनाजु (हर्के दाइ) र रेशम त्याँभन्दा तलतिरका घाटहरूमा क्रमैसित बस्नू !’
त्यसपछि सबै जना हिँड्यौँ । दायाँबायाँ हेर्दा आँखा घुमाउने अक्करे भीर । सल्लीकुसुम र सुकेका पातहरू पन्छाएर बाटो बनाउँदै थिए हर्के दाइ । साह्रै होस् पुर्याएर हिँड्नुपर्ने । तैपनि पौने घन्टाजतिमा हामी आ- आफ्ना ठाउँमा पुगिसकेका थियौँ । नाउँकै कारण सबैभन्दा मुख्य घाट थियो मेरो । दौड्दादौड्दै खसालिदिन्छ भन्थे । संयोगले त्यस्तो धेरैपटक भएको पनि थियो । कति साथीभाइले त प्रेमसँगै अलिअलि ईष्र्या पनि गर्थे । त्यसैले पनि होला मलाई आफ्नो नाम बचाउन सधैँ संवेदनशील हुनुपथ्र्यो । बथान बस्ने ठाउँमा पुगेपछि यसो हेरेँ; कतै बार्नेजस्ता हरिया हाँगाबाँगा पनि थिएनन् । सोचेँ, यही सल्लाको ठुटामा छेलिएर बस्छु । बसेको आधा घन्टा नहुँदै ड्याम्म बन्दुक पड्क्यो । निकै चनाखो भएँ । आँखा नझिम्क्याएरै पारितिर हेरेँ । पाँच मिनेटसम्म पनि केही आएन । मुटु झन् बेसी ढुकढुक गर्न थाल्यो । बरु धेरै टाढाबाट आवाज आयो- ‘ए, पारस ! एउटा त्यतै सोज्ज्या छ है !’
मन आत्तिँदाआत्तिँदै पारिपट्टिबाट एउटा ठूलो घोरल दौड्दै आएको देखेँ । दुइचार फाल उफ्रने अनि ट्याक्क अडिने । फेरि दुइचार फाल उफ्रने अनि ट्याक्क अडिने । मन्द गतिमा थियो ऊ । उसको गति विचार गरिसकेपछि बन्दुक बिस्तारै अघि सारेँ र कट्याककट्याक पाई ताने । अनि सोझ्याउँदै लिएर ट्याक्क अडिएको ठाउँमा ड्याम्म छोडिदिएँ । बन्दुकको आवाजसँगै माथि पगारको ढिकबाट गद्र्यामगुर्दुम हुँदै मभन्दा अगाडिको चिरेटोमा खसेर छटपटायो । गएर हेरेँ । कोठारमै लागेको रहेछ । तर प्राण भने किमार्थ गएन । अरूले हल्ला गर्न थालेपछि हत्तपत्त पुरानै ठाउँमा आएर बसेँ । एक फाएर त अझ बाँकी नै थियो । फेरि पनि बन्दुकहरू पड्किए । त्यसपछि भने जति नै चनाखो भए पनि घोरलहरू आएनन् । बरु कुकुर र चहारुवाहरू आए । फेरि पनि त्यही चिरेटोमा गएर हेरेँ । घोरल उही अवस्थामा फत्र्याकफत्र्याक गर्दैरहेछ । ढुङ्गाले थिच्दाथिच्दै गिदी पनि छ्यालब्याल भयो । तर पनि त्यसको प्राण गएन । त्यसपछि भने केटाहरूले बोकेर हिँडाए । हामीलाई भिमेले देखेकै थिएन । बरु अन्य बन्दुकेसँग करायो ऊ– ‘थुइय्या मा टोक्नी हो । आफ्नै नल्ठीमा ठोको अब । …त्यस्तो मुखैमा आउन्जेल के हेरेर बस्या ? कस्तरी दुःख गरेर ल्याको घोरल !…कोइ राँडीका बानले लाउन्नन् यार । अगिपछि त गजब गफ हाँक्या हुन्छन् त ।’
ऊ एक्लै भुनभुनाउँदै उक्लिँदैथियो । माने दाइले सबैलाई माथितिरै बोलाएपछि भने सबैजना डाँडामा जम्मा भयौँ । सुरुमै जगतेले पनि एउटा ठूलै बोके खसालेको रहेछ । बाँकी कसले के गल्ती गर्यो भन्ने विषयमा अनेक कुरा भए । त्यतिन्जेल मैले खसालेको माउको पनि प्राण गइसकेको थियो ।
‘ल ल भैगो हल्ला नगर ! बरु भोक लाग्यो । रोटीसोटी खानी मेसो गरम् । जाओ केटा हो, ऊ पर निगालाको गाँजनिर चिसो पानी छ, ल्याओ !’
साँल्दाइ कराएपछि बल्ल सबैलाई भोकको सम्झना भयो । जेठको गर्मीमा चिसो न चिसो पानी । त्यसैमाथि पत्रेरोटी, आलुको झरिलो तरकारी र मृगको सुकुटी । वनमा खाना उसै त कति मीठो हुन्छ अझ सिकार खेल्दाको त्यो भोक !
अरूहरूका अर्नी पनि त्यत्तिकै मीठा थिए । बाँडचुँड गरी खाँदा झन् मीठा लागे । अर्नी खाइसकेपछि रेशमले घडी हेर्दै भन्यो– ‘समय छ, अझैँ एकदुई चारा खेलम् है ?’
‘रन्द्याओ केटा हो; धेरै लोभ गर्नु हुन्न । पानीसानी पर्या छैन । खेतमा बीउ राखिसक्या छ । मल बोक्नु छैन । बरु भोलि फेरि हीँ आम्ला ।’
हर्के दाइले यति भनेपछि रेशमको कुरामा बल गर्नेहरू पनि चुप लागे । अनि कोही घोरल बोक्ने । कोही मुरली बजाउने । कोही गीत गाउने । कोही अझैँ पनि केही हान्न पाइन्छ कि भनी दायाँबायाँ हिँड्ने गर्दै तलतिर झर्यौ। खोलामा आइपुगेपछि पनि कोही मासु काट्ने, कोही गफ गर्ने, कोही मासु पोलेर बाँड्ने गर्दैथिए । सबैले थाहा पाए भने नमज्जा हुन्छ भनेर होला । भिमेले मलाई सुटुक्क डाक्यो । गएँ । पेटमा ठूलै पाठा रहेछ त्यो माउको । त्यसपछि उसको प्राण जान किन नमानेको रहेछ भन्ने कुराले मलाई भित्रभित्रै सताइरह्यो । मन नराम्रो गरी दुखिरह्यो । तैपनि चुपचाप त्यसलाई अन्तै मिल्काएर अरूहरू भएको ठाउँमा आएँ । सबै गफगाफमै भए पनि रेशम भने अलि पर उभिएर भरेको बन्दुक खोल्ने प्रयास गर्दैथियो । त्यो देखेर साँल्दाइ कराए– ‘यस्तो खडेरीको बन्दुक किन चलाइराख्या हँ ? किन खोल्नुपर्यो ऐल्यै ?’
‘होइन के, अघि हतारमा भर्याको । बारुद नभएर सलाईको हाल्या छु । पूरै चार औँल छ । फलामको पछिल्लो गोली पनि अड्क्याथ्यो; माथिबाट ठोकिदिएँ । लत्ता पनि निकै टाइट छ । खोलेर पारससँग बारुद मागी राम्रोसँग भर्छु भनेर ।’
ऊ कुरा पनि गर्दै र गजको टुप्पा पनि नालभित्र घुमाउँदै थियो । उसले नसकेपछि अरूले पनि अनेक गरे तर खोल्न सकेनन् ।
‘पहिल्यै ख्याल गर्नु पर्दैन त । नालै यति पातलो छ, अझ फेदतिर त झन् बारुदले खाइ पनि सक्या होला ।’ यो आवाज गणेशको थियो ।
‘भैगो अब धेरै जबरजस्ती नगर ।’ साँल्दाइको आवाजसँगै त्यो काम अधुरै रह्यो । उसले पुनः केप चढायो र कट्ठी लगायो ।
‘ल है आ–आफ्ना भाग उठाम् ।’
भाग लाउनेहरूको बीचबाट आवाज आएपछि सबैजनाले आ–आफ्ना भाग उठायौँ । घर आउँदासम्म मनमा त्यो माउको छटपटी सम्झनामा आइरह्यो । दुलहीको मीठो मुस्कानले पनि तनको मैलो मात्र घटेजस्तो भयो तर मनको मैलो घटेन ।
‘भोलि बिहानै घट्ट जानूस् है ? आज गहुँ सुकाएकी छु । रोपाइँलाई पिनेर राख्न । पानी परेपछि त च्याँख्ला मात्रै हुन्छ ।’ सुत्ने वेला उनी सुस्तसुस्त बोल्दैथिइन् । ‘पर्सि जाम्ला । भोलि पनि साथीहरूले साह्रै गर्या छन् । म बिहानै उठेर घाँसपात बनाइदिन्छु । तिमीले आज जस्तै खानासाना बनाइदिनू !’
विचरा ! मनमा जति नै पीर भए पनि नाइँ भन्न सकिनन् । मायाले जितेपछि के लाग्छ र ! त्यसपछि पनि अनेक अन्तरङ्ग कुराकानी भए हाम्रा । हुँदाहुँदै कति वेला निदाइएछ पत्तै भएन । एकैचोटि सपनाले आत्तिएँ । सपनामा त्यही घाइते घोरल आइपुग्यो । उसले मेरो त्यो क्रूर व्यवहार सम्झेर निकैबेर आँसु बगाएको देख्दा मन थामिएनछ । निकै समयसम्म हिक्कहिक्क गरेको सुनेपछि बूढीले झकझकाएर उठाइन् । उठ्दा शरीर पसिनाले निथ्रुक्कै भएको थियो । एक लोटा पानी पिएर बाहिर निस्किएँ । आकाशतिर हेरेपछि अड्कल काटेँ; बिहानीपख भएको रहेछ । फेरि ओछ्यानमै फर्किए पनि निद्रा आएन । बरु मनभरि अनेक कुरा आए । सबैले पढेलेखेको केटो भन्छन् । यता आँफू भने यस कुलतमा छु । जति नै अब यस्तो कुकर्म छोडिदिन्छु भने पनि उज्यालो नहुँदासम्म मात्र । समय भएपछि फेरि पनि जाऊँ-जाऊँ लागिहाल्छ । सम्झेर मन अमिलो भयो ।
भोलिपल्ट पनि अघिल्लैै दिनको पारामा गयौँ । त्यस दिन त झन् एक्काइसजना पो भएछौँ । उही वन, साइँलीलोटे । खेलाइको तरिका र जिम्मेवारी पनि उस्तै थियो । तर त्यस दिन भने बथान बसेको लामो समयसम्म कतै चालचुल भएन । प्रतीक्षा गर्दागर्दै एक्कासि ठूलो आवाजमा बन्दुक चल्यो । पूरै सतर्क भएँ । फेरि पड्क्यो । पुछारतिरै हुनुपर्छ भन्ने लागिरह्यो । केही समयपछि हर्के दाइ निकै आत्तिएको स्वरमा कराए- ‘ए, सबै ह्याँ आओ त ! हे दैव ! के भयो आज यस्तो …।’
सबैजना त्यतै लाग्यौँ । लागे पनि मन ठेगानमा थिएन । गोडा झन् लुला हुनथाले । सबैजना हस्याङफस्याङ गर्दै तल झ¥यौँ । झर्नु के थियो ! जतिजति हामी रेशमको नजिक पुग्यौँ, उतिउति मन भक्कानिएर आउनथाल्यो । बन्दुकको नाल एकातिर । कुन्दा अर्कोतिर । पुर्जाहरू झन् अन्तैअन्तै । हर्के दाइ थरथर काम्दै भन्दैथिए–‘रेशमले हान्नीबित्तिकै घोरल उकालो आयो । त्यसपछि मैले हानेँ । घोरल खसेको देखेर रेशमलाई बोलाउँदै झरेँ । घोरल उठाएर यता ल्याउँछु त यस्तो देख्नु पर्यो …।’
‘बिचरा ! हिजैदेखि उसले बन्दुकमाथि शङ्का गरेको थियो । नभन्दै पछाडिबाट फुटी निधारबाट लागेको घुच्चुकबाट पार गरेछ । ऐया भन्न पनि पाएनछ ! हे भगवान् ! अब कसो गर्नी …!’ साँल्दाइले नजिकै गएर हेर्दै भने ।
त्यतिन्जेलसम्म हामी सबैका आँखा रसाइसकेका थिए । हर्के दाइले कसैसँग नबोली त्यो मरेको घोरल अलि पर लगेर भीरबाट खसालिदिए । उनी आएपछि फेरि पनि साँल्दाइले नै भने- ‘अब यसरी टोलाएर के गरम् । बरु जाओ केटा हो; प्रधान बुबा र मास्टर पुसाइँलाई जसरी भए पनि बोलाएर ल्याओ ।’
उनको कुरामा सबै सहमत भयौँ । लिनचाहिँ दिपे र प्रदीप गए । हामी जहाँको तहीँ विह्वल भएर बसिरह्यौँ । एकातिर साथीको माया र अर्कोतिर भोलि पर्न आउने कानुनी समस्या ! तैपनि झिनो आशाका केन्द्र प्रधानहरूलाई कुरिरह्यौँ । मैले मनमनै कैयन् पटक भनेँ- हे ईश्वर कसैगरी हामीलाई यस सङ्कटबाट बचाइदेऊ । जीवनमा फेरि यस्ता गल्तीहरू कहिल्यै गर्ने छैनौँ । सोच्दासोच्दै त्यस्तै साँझ छ बजेतिर प्रधानहरू आइपुगे । डाँडामा उनीहरूको आवाज सुन्नासाथ सबैका मनमा केही आशाका किरणहरू झुल्किए । नजिकै आउँदा भने खै किन–किन झन् बेसी डर लाग्यो । असिनपसिन हुँदै आएका प्रधानले एकपटक हामी सबैलाई हेरे । उनका आँखामा हेर्न नसकेर हाम्रा नजरहरू सबै जमिनमा भासिए । हामी स्वयम् पनि झन्झन् तल भासिएजस्तै भयौँ । निकै समयपछि लामो निःश्वास लिएर छोड्दै उनी कराए– ‘हो, यस्तै हुन्छ भनेर तिमी कुकुरहरूलाई यस्तो कुकर्म गर्दै नगर भनेको हो । अब गर्दैनौ त के गर्छौ ! हिँडो अब सबै घरतिर । भोलि पुलिस आएपछि मात्र लास उठ्छ …!’
बूढाले त्यति भनेपछि हामी त झन् डरले कालानीला भयौँ । केही समय वातावरण स्तब्ध भयो । कतैबाट पनि आशाको किरण नदेखिएपछि उनको गोडा समात्दै भनेँ- ‘माइलुब्वा ! अब जीवनमा यस्तो गल्ती कहिल्यै गर्दैनौँ । कम्तीमा पनि हामीलाई एकचोटि सुध्रिने मौका दिनूस् । नत्र त सारा गावैँ डुब्ने भो ।’
त्यसपछि मेरो कुरामा सही थप्दै सबैले बूढासँग बिन्ती गरे । त्यतिन्जेलसम्म पनि मौन बसेका मास्टर दाइले बल्ल मुख खोले- ‘देख राजा अदेख दुनियाँ भन्छन् । के गर्नु यस्तै पर्छ र त गाउँमा सधैँ अभिभावकको खाँचो पर्छ । आखिर यी निमुखाहरू थुनिएर केचाहिँ उपती पर्ने हो र ? बरु सुध्रिए भने भोलि हामी सबैलाई राम्रै होला । यिनका घरपरिवारको पनि मुख हेरिदिऊँ । बिचरा ! यी जम्मै थुनिए तिनले के गरी बाँच्लान् …?’
मास्टर दाइको कुरामा प्रधानले निकैबेर गमे । उनको मौनता हाम्रा लागि झन् व्यग्र प्रतीक्षाको घडी बनिरह्यो । हामीलाई केही समय तड्पाएर उनले भने-‘ल, अब फेरि यस्तो काम छोड्छौ कि नाइँ ?’
सबैले भने- ‘छोड्छम् ।’
‘पक्का हो ? ल, अब यसपालि तिमी बेकुपहरूलाई चाइन्जोमा बचाइदिन्छु । फेरि यो काम गर्यौ भने ब्याजसहित छोड्दिनँ नि …!’
त्यसपछि हाम्रो मनमा उनीहरू साक्षात् भगवान जस्तै लागे । प्रधानले भनेपछि काठमा पछ्यौराको डोला बनाई लास बान्यौँ । पालैपालो गरेर बोक्दै हिँडेको एकडेढ घन्टापछि गाउँ देखियो । तर त्यस दिन भने सधैँको जस्तो रमाइलो लागेन गाउँ । मनभरि कष्ट थियो । केही छहरा- पहराहरू अझैँ छिचोल्नु थियो । निकै अप्ठ्यारो ठाउँमा आइपुगेपछि प्रधानले भने- ‘पखो, अब एकछिन यहीँ बिसाओ ।’ हामीले त्यसै गर्यौ । ‘ल, सबैले बन्दुक खोलो र भएजतिका खरखजानासहित बन्दुकहरू यहाँ जम्मा गरो !’ उनले फेरि भने । फेरि पनि हामीले त्यसै गर्यौं ।
केही व्यक्तिलाई त्यहीँ लास कुर्न पठाएर उनले हामीलाई आफ्नो पछाडि बोलाए । नजिकै रहेको एउटा ठूलो ध्वान्द्रोमा बन्दुकहरू हाली पुर्न लगाए । त्यसै दिनदेखि त्यो ठाउँको नाउँ बन्दुकगाडे रहन गएको हो । हुँदाहुँदै आजकाल त बन्दुगाडे पो भन्छन् त । …अँ भन्दै थिएँ । बन्दुक विसर्जनपछि हामी पुनः लास बोकेर हिँड्यौँ ।
घरमा त आयौँ तर समालिसक्ने कसले ? चारैतिर रुवाकल्ली मात्रै । तीन महिनाकी सुत्केरी स्वास्नी मूच्र्छा पर्दै, जाग्दै गर्न थालिन् । बुबाआमा, भाइबहिनी, आफन्त र छिमेकीहरू पनि नरुने कुरै भएन । उता गाउँभरि भने घाँस काट्न जाँदा लोटेको बनावटी हल्ला चलिरहेको थियो । निकै बेरसम्म पनि पटक टक चिच्याकलो भइरह्यो । हामी पनि बाहिर मात्र शान्त । भित्र त अनेक हलचल छँदैथियो । मध्यरातमा सुनसान भएपछि प्रधान बोले–‘ए केटा हो ! निद्रा लाग्यो ?’
मैले नै भनेँ–‘छैन बुबा केको निद्रा लाग्नु र !’
‘हेरो, आज प्रधान बुबाले हामीलाई यस्तो भने, यस्तो गरे भनेर मन नदुखाए । हामी मानिसले जीवनमा आइपर्र्ने यस्ता अनेक घटनाबाट पाठ सिक्नै पर्छ, बुझ्यौ ?’ हामीले फेरि पनि उनको कुरामा सहमति जनायौँ । ‘तिमीहरूलाई निद्रा लाग्या छैन भने सुनो; म आज मेरो जमानाको कुरा सुनाउँछु ।’
हामी सबैको सुन्ने मनसाय बुझेपछि उनले सुरु गरे– ‘आज तिमीहरूले गर्दा म त्यो भीरमा ३२ वर्षपछाडि पुगेँ । अझैँ पनि मलाई त्यहाँ जाने मन थिएन । मानिसको मन न हो, सधैँ कलिलै भइदिन्छ । यतिका वर्षपछि यस उमेर अवस्थामा पनि त्यहाँ पुग्दा म आफैँलाई डाँको छोडी रोइदिऊँजस्तै लाग्यो । मेरो मनै काबुमा रहेन । बलै समालिएर मैले तिमीहरूसँग कुरा गरेको हुँ ।’
यति भनेर उनी केही समय बोल्न सकेनन् । नीरव रातको त्यो विरहीपनलाई तोड्दै हर्के दाइले सुस्त सोधे–‘किन, त्यस्तो के परेको थियो र बुबा ?’ त्यसपछि उनी पुनः बोल्न थाले– ‘…त्यस्तै १६–१७ को थिएँ । कार्कीकी छोरी साइँली थिइन् साह्रै राम्री । वनपातमा देखभेट हुँदाहुँदै हामीबीचमा गहिरोमाया बस्यो । अनि त कहाँ घरमा मन अडिनु ! जातको प्रश्न पनि सामान्य नै लागिदियो मलाई । असार १६ को कुरा हो । गाउँमा रोपाइँको मचर्को नहुने कुरै थिएन । एक त सिकारीलाई घरको भन्दा वनको धेरै याद आउने । त्यसैमाथि झन् साइँलीको सम्झनाले सताइरहन्थ्यो तिनताका । त्यस दिन पनि घरको कुरा नसुनेरै हिँडेँ । तर सधैँजस्तो भएन । मेरो जीवनमा पहिलोपटक आकाश खस्यो । धर्ती भासियो ।… घाँस काट्दाकाट्दै त्यही रेमशको घटना भएको ठाउँभन्दा तल्तिरको पहराबाट साइँली खसिछन् । घँसिनीहरू चिच्याएको सुनेर गएँ । माथिबाट हेर्दा उनको लास देखिएन । बरु रातो पटुकाबीचमै अल्झिएर पगारमा हल्लिरहेको थियो । एक मनले त भनेको हो, म पनि यही भीरबाट फाल हालिदिऊँ ! तर अर्को मनले त्यस्तो गर्न दिएन । चाइन्जो केरे मायामा काया फाल्न सकिएन । बरु उताबाट रुँदैरुँदै घुमेर तल गएँ । टाउको फुटेर गिदी र रगत छ्यालब्याल थियो । कोमल शरीर कति ठाउँमा भाँचिएको हो, पत्तै थिएन । रुँदै लुगा मिलाइदिएँ । उनकी बहिनी पनि मसँगै रोइरहिन् । अरूलाई गाउँमा खबर गर्न पठाएँ ।… हेर केटा हो, जिन्दगीमा त्यस्तो चोट पनि त खप्नु पर्दोरहेछ मान्छेले !…मैले पनि त्यसै दिन विरक्त भई त्यो बन्दुक त्यही भीरमा मच्चाएर उनको घरतिर लागेको थिएँ । दुलहा बनूँला भनेको तर दैवले मलार्ई मलामी बनाएर छोडिदियो । भोलिपल्ट म मलामी बनेर अरूसँगै सागरसम्म पुगेँ । जानु आखिर सबैलाई त्यहीँसम्म हो भने किन असमयमै लगिदियो होला त्यसले । त्यसै दिनदेखि मलाई दैव जति निष्ठुर र मानिस जति मायालु कोही छैन झैँ लागेको हो ।…त्यसपछि पनि म उनको यादमा कति रोएँ रोएँ । धेरै समयसम्म बेसुरे भएँ । तर पनि मरेको मान्छे कहिले पो फिर्ता आएको थियो र ! जस्तै भए पनि समयले मनको घाउमा खाटा बसाल्दो रहेछ । म पनि त्यसबाट भागेर बाँच्न सकिनँ । आज त्यहाँ पुग्दा उही कलिलो याद आयो । तर आएर पो के गर्नु र ! उनी मेरा निम्ति स्वर्गकी तारा भइसकिन् । तैपनि इतिहास दोहोरिन्छ भन्थे, हो रैछ झैँ पनि लाग्यो …।’
प्रधानको कथाले हामी निकै बेरसम्म भावुक भयौँ । त्यही भावुकतासँगै हामीले त्यो वनको नाउँ कसरी रहन गएको रहेछ भन्ने पनि बुझ्यौँ । ‘त्यतिन्जेलसम्म पनि लालटिनको मधुरो उज्यालो निभेको थिएन । तैपनि कुरा सुन्दासुन्दै रात निभेछ । बिहानी भएपछि शवयात्राको तयारी भयो । रुवाबासी जति नै चुलिए पनि निष्ठुर समयले सुनेन । हामीले मनभरि पीडा र आँखाभरि आँसु लिएर रेशमको अन्तिम संस्कारविधि पूरा गर्यौं । त्यसपछि हाम्रो पुस्ताले कहिल्यै सिकार खेलेन …।’
सुनिरहूँझैँ लागेको थियो तर कथा सिद्धिएछ । फेरि पनि बाजेले मतिर हेर्दै भन्नुभयो– ‘हेर बाबु ! हरेक युग, व्यक्ति, पशुप्राणी र ठाउँका आ–आफ्नै कथा हुन्छन् । आवरण र अन्तर्य हुन्छन् । तिनलाई हामीले सकेसम्म खोतल्नुपर्छ । तीनबाट पर्याप्त शिक्षा र मनोरञ्जन लिई यस जीवनलाई सार्थक बनाउनुपर्छ । यस चराचर जगत्मा नभएको के छ र ? रूप पनि यहीँ छ र सार पनि । केवल हामी आवरणमा मात्र अल्झिएका छौँ । फेरि पनि सबै मानिस त्यस्ता छैनन् । केही न केही खोज्ने, गर्ने, जान्ने, बुझ्ने र अरूलाई पनि बुझाउने मानिसको स्वभावले नै यो संसार आजको अवस्थामा हामीले भोग्न पाएका हौँ । हामीले पनि सकेको काम नगरी बाँच्यौँ भने अरूको ऋण कसरी तिर्न सकौँला …?’
उहाँका कुरा अकाट्य थिए । सोचेँ, साँच्चै हामीलाई सामान्य लाग्ने कुराहरूभित्र पनि कति रहस्यहरू लुकेका हुँदारहेछन् । अनि तिनै कति अमूल्य रहस्यका पोकाहरू बोकी बाँचेका जेष्ठ नागरिकहरूको महत्त्व हामीले किन बुझ्न नसकेका हौँला !