• २०८१ मंसिर २९ शनिवार

कृष्ण प्रसाईं

राजेन्द्र शलभ

राजेन्द्र शलभ

छ दशकअघि
धाइजन, झापामा जन्मिएँ
त्यहीँको स्कुल पढेँ
पछि मेची क्याम्पस हुँदै
त्रिचन्द्रमा स्नात्तकोत्तर सकाएँ ।
पढाइ सकिएपछि
सबैले गर्ने काम
जागिर खोज्न थालेँ ।
२०४३ सालमा स्वास्थ्य मन्त्रालयमा
सूचना अधिकृतको पदमा
सात वर्षसम्म अल्झिएँ ।
त्यसपछिको समय
श्रीमतीलाई व्यापारमा सघाएँ
अनि समाजसेवा र साहित्य मै लागेँ ।

०००
झापाबाट निस्किने ‘सूर्योदय’ साप्ताहिकमा
मेरो पहिलो कविता छापियो
त्यो वेला म १३ वर्षको थिएँ ।
त्यसपछि लेखनको क्रम
कुनै न कुनैरूपमा चलि नै रह्यो
कहिले नियात्रा वा कथा
कहिले सम्पादन वा कविता
तर लेखन जीवन बनिरह्यो ।

०००
पहिलो प्रकाशन
२४ वर्षको उमेरमा सम्पादनबाट सुरू भयो
‘नेपाली समसामयिक कविता’ मार्फत्
त्यसपछि ‘छरिएका केही पृष्ठहरू’ को
सम्पादन गरिसकेर
‘प्रक्षेपण’ -कथा–सङ्ग्रह
र ‘अनुभूतिका छालहरू’ -नियात्रा–सङ्ग्रह
कविताका तीनवटा कृति प्रकाशित छन्
‘घाम नभएको वेला’
‘घामको विरासत’
र, ‘घामको वर्षा’ ।
घामको वर्षा जेन कविताहरूको सङ्ग्रह हो ।

०००
‘जेन’ जीवन- मृत्यु र प्रकृतिको
दर्शन हो
हाम्रा नराम्रा कामहरूको
खिसिटिउरी गर्ने हो
ध्यानमग्न मृत्युचेतको प्रकटीकरण हो
वास्तवमा भन्ने हो भने
‘ध्यान’ शब्दकै अपभ्रंश
भएर बनेको हो ‘जेन’
जेन ध्यान कविता हुन् ।
अपरिवर्तनीय सारभौम सार नै
कविता हो ।
हाम्रो देशको संस्कृति
हाम्रो पूर्वीय दर्शन नै
मेरा कविताका आधार हुन् ।
म कवितालाई वाद र हल्लाको
अराजक नास्तिकताभित्र खोज्दिनँ
यो त दर्शन हो
जीवनबोध हो ।

०००
मेरो जेन कविताको सङ्ग्रह
‘घामको वर्षा’
अंग्रेजी, कोरियन, सिंहाली, हिन्दी,
बर्मी, बङ्गाली, असमी, मैथिली,
जर्मन, मराठी, गुजराती, तमिल,
रोमानियन, फिलिपिनी, स्पेनिस, अरबिक,
इटालियन, सर्वियन, चाइनिज, रसियन,
उज्बेकिस्तानी, भियतनामी, जापानी,
र तेलुगु गरी २४ भाषामा
अनुवाद भइसकेको छ
र यो अनुवादको क्रम जारी नै छ

०००
जरा फाउन्डेसनको अध्यक्ष
र देवकोटा लू- सुन प्रतिष्ठानको
कोषाध्यक्षका रूपमा
यी दुईसंस्थाहरूमा संलग्न छु ।
२० प्रतिशत समय समाजसेवामा
खर्चेको छु भन्ने बाँकी ८० प्रतिशत
साहित्यरचना र
साहित्यिक गतिविधिमै बितेको छ ।

०००
कोरियन कवि ‘को- उन’ बाट
प्रभावित भएर नै जेन कविता लेख्न थालेँ
अहिले आएर
के पाएँ, के गुमाएँ सोच्ने हो भने
उमेर गुमाएँ
अन्तर्राष्ट्रिय साहित्यिक सम्बन्ध
र सन्तुष्टि पाएँ
संसारका दुई हजार कविहरूसँग
चिनजान- सम्पर्क छ
तर पनि गर्नुपर्ने धेरै छन्
गर्नसकेको छैन ।
एउटै चाहना छ-
हाम्रा लयहरू, हाम्रा भाकाहरू
हाम्रो पूर्वीय दर्शनलाई
बाहिरी अन्य देशहरूमा
पहिचान गराउन पाए हुन्थ्यो ।


[email protected]