• २०८१ श्रावाण ११ शुक्रबार

फर्केको बालापन

रञ्जु पाण्डे

रञ्जु पाण्डे

कुरा करिब दुईतीन महिनाअघिको हो । बन्दाबन्दीको बीचैबीच सायद जेठको दोस्रो हप्तातिर हुनुपर्छ । घरमा बस्दाबस्दाको उकुसमुकुसलाई अलिकति हावामा मिसाउन घरबाट यस्सो बाहिर निस्कन्छु । टोल-छिमेकवरिपरि सबै आ-आफ्नो घरबाहिर सलबलाएका छन् । घरभन्दा अलि परको ठूलो चउरमा मान्छेहरू स-साना समूहमा गफ गर्दैगरेका छन् । केटाकेटीहरू दगुरादगुर गरिरहेछन् । कोही ब्याडमिन्टन, कोही घ्वाइँकासा त कोही तेलकासा खेल्दैछन् । आमाबाबु नजिकै रहेर आफ्ना छोरीछोरीको निगरानी गर्दैछन् । साँझको वेला यस दृश्यमा आफूलाई होम्दा मलाई एकदम रमाइलो लागिरहेथ्यो ।
मैले आफूलाई डोर्याउँदै केटाकेटीको भीडमा लगेँ । आठ-नौजना साना, मझौला र अलि ठूला तर सबै अन्दाजी १० वर्षभन्दा मुनिका छोरीकेटीहरूको एक समूह भर्खर गोल घेरा बनाई खेल सुरु गर्न पूर्वतयारीमा थिए । मलाई पनि उनीहरूसँगै खेल्ने रहर जाग्यो । उनीहरूसामु पुगेर मैले भनेँ-‘म पनि खेल्ने !’ उनीहरू मुखामुख गर्नथाले अनि आश्चर्य र खुसी मिश्रित हाँसो उनीहरूको त्यस गोलघेरामा पोखियो । कोही हाँसो रोक्न आफ्नो स–साना हत्केलाले मुख छोप्न थाले । उनीहरूको भावभङ्गीबाट आफ्नो विस्मरणको बिर्को खोल्दा मैले अनुमान लगाएँ-उनीहरू मनमनै भन्दै छन्-‘यस्तो उमेर भइसकेर पनि हामीसँगै खेल्ने, दौडने, उफ्रने रे छ्या ! कस्तो !’ ‘आहा कस्तो मज्जा ! यस्तो ठूलो मान्छे पनि हामी भारभुरेसँग खेल्न आउनु भा’को, ममी–बाबाजस्तै ठूल्ठूला कुरा गर्न छोडेर…। ल हुन्छ तर तपाईंलाई खेल्न आउँछ ?’ ती मध्यकी अलि बोलक्कड एउटी नानीले मलाई सोध्छे । ‘मलाई खेलको नियम बताऊ न, यो खेल मैले पनि खेलेकी छु होला सानोछँदा ।’ मेरो जवाफले सबैजना गलल हाँस्छन् । ‘यसलाई टच एन्ड मुभ भन्छन्।’ ऊ मलाई खेलको नियम बताउँदै जान्छे-‘यस सर्कलमा रहुन्जेल सेफ हुन्छ । यो सर्कल भनेको फर्केर आउने घर हो । यहाँबाट निस्केपछि दौडने र फर्केर आउने तर बीचैमा डुम हुनेले छोए त्यहीँ बसिरहनुपर्छ, अर्कोले आएर नछोएसम्म ।’
ऊ भन्दै थिई, म सुन्दै थिएँ । हेर्दाहेर्दै त्योनानी त मलाई आफैँजस्तो पो लागी । अनि म ऊ पो भएछु र अरू सबै मेरा बाल्यसखा-लजली, तारा, मन्जु, मिलन…। ‘अन्टी बुझ्नु भो ?’
‘हँ !’ उसको यस प्रश्नले मैले आफूलाई पुनः फर्काएँ अन्टी र आमाको समयमा । ‘अँ मैले राम्ररी बुझेँ’, जवाफमा भनेँ । नपत्याएजस्तो गरेर पनि उनीहरूले मलाई खेलमा सामेल गरे । सबैको अनुमतिमा खेल सुरु भो । घर भनेर देखाइएको सुरक्षित घेराबाट सबै केटाकेटी एकएक गरी बाहिर निस्कनथाले । म पनि बाहिर निस्कने दाउ हेर्नलागेँ । कताकता मलाई डर थियो– कतै दौडँदादौडँदै थाकेर म बीचैमा बस्छु कि या यी जोसिला केटाकेटीले मलाई च्याप्प पारेर डुम बनाउँछन् !’ निक्कै समय भइसकेको थियो आफूलाई यस्तो खेलमा नदौडाएको; रहरका बाकसमा ताल्चा मारेको । साँचो त थियो नि तर ताल्चा-साँचो दुवै खिया लागिसकेको । अब यो साँचोले ताल्चा खोल्छ, खोल्दैन भन्ने शङ्का   पलायो ।
आफ्ना मनभित्र यस्ता असामन्जस्य गुथ्दैगर्दा पनि मैले आफ्नो अनुहारमा भने त्यो भाव लुकाइरहेँ ता कि डुमलाई मेरो त्यतिवेलाको मनस्थिति थाहा नहोस् । उता ऊ भने दौडिरहेका सबैलाई उन्मुक्त छोडिदिएर मलाई नै यसरी ढुकेर बसेकी थिई, जसरी बकुल्लाले माछोलाई ढुक्छ-कुनवेला पानी बाहिर मुन्टो देखाउँछ र च्याप्प पारौँला भनेझैँ । यो सब बुझिरहेकी म पनि भित्रभित्र आफ्नै तयारीमा थिएँ- कसरी म बाहिर निस्केपछि डुमले नभेट्ने गरी दौडने र फर्केर सुरक्षित घेराभित्र आउने ।
वेलावेलामा खेलमा सामेल अरू केटाकेटी डुमलाई जिस्क्याउन आउँछन् । ‘हे हे हे मलाई छुन आऊ, मलाई छुन आऊ!’ तिनीहरूलाई ऊ अलि परसम्म लखेट्थी तर मसँगको दूरी भने तुरुन्तै छोट्याउँथी । उसको नजर केवल ममा नै अडिएको थियो किनभने ऊ निश्चिन्त थिई- खेलमा एउटा ‘अन्टी’ छ, त्यसलाई मैले डुम पार्न सक्छु र जसले फेरि कहिल्यै मलाई दौडेर छुन सक्ने छैन। जतिजति ऊ मप्रति दृढ हुँदै गइरहेकी थिई, उति नै म आफूप्रति के कुरामा दृढ हुँदै गइरहेकी थिएँ भने मैले सक्नुपर्छ, जसरी पनि सक्नुपर्छ, खेलमा मैले भाग लिइसकेकी छु, कि लिनु हुन्नथ्यो, अब लिइसकेपछि हार्नु हुन्न, बीचैमा थचक्क बस्नु हुन्न ।
आफूलाई त म यसरी कस्दै थिएँ बरु त्यो डुमलाई देख्दा भने मलाई कताकता सहानुभूति पलायो- हेर ! यसले मलाई हराउन, मलाई थचक्क पार्न आफूलाई नै टक्क अडाइरहेकी छे, किन यो अरू केटाकेटीलाई समाउन दौडन्न, दौडको मज्जाछाडेर आफ्नो पोषिलो ऊर्जालाई किन ऊ मलाई हराउन खर्चिरहेकी छे । खै ऊ किन एकोहोरिएकी छ मलाई अचल शिला बनाउन त्यो अहिल्याजस्तो जो मर्यादापुरुष रामले नछोएसम्म उठ्न नसक्ने अहिल्याजस्तै । दौडिरहेका कसैले नछोएसम्म मलाई थन्क्याउन ऊ लागिपरेकी छे ।
धेरैबेरको अन्तर धम्साधम्सीपछि अन्त्यमा म बाहिर निस्कने अठोट गर्छु । निस्कनुअघि म एकपल्ट परपर दौडिरहेका आफ्ना सहभागी केटाकेटी साथीहरूलाई हेर्छु जो अघिनै दौडन सुरु गरिसकेका छन्, कुनै दीर्घ सोचविचार र डरविना । आखिर पानीभित्रको त्यस माछोले बकुल्लाको ख्याल नगरी चारो खान मुन्टो निकालेरै छोड्यो । जे पर्लापर्ला भनेर मैले घेराबाट पैताला उठाएँ । म दौडन थालेँ । डुमले लखेट्दै गई । म दौडिरहेँ, उसले लखेटी रही । म यस्तरी दौडेँ- मैले सप्पै बिर्सें । आफ्नो उमेर बिर्सें, आफ्नो शरीर बिर्सें, वरिपरि चउरमा छरिएर, जोडिएर रहेका मान्छे बिर्सें । जसले मलाई यसरी हेर्दै होलान् कि ‘के भयो यो स्वास्नीमान्छेलाई, कहीँ बहुलाउन त लागिन अथवा कसैसँग डराएर भागिरहेकी त छैन ? कतै हामीलाई गुहारिरहेकी त छैन ?’
तर अहँ मलाई त केही चाहिएको थिएन, मलाई त कोही चाहिएको थिएन । मलाई त केवल उनीहरू पन्छिदिएर बाटो खाली गरिदिए पुग्थ्यो ता कि म त्यही गतिमा दौडन सकूँ र डुमले नभेट्दै सुरक्षित घेराना पुग्न सकूँ । आह अचानक एउटा ढिस्कोमा मेरो चप्पल अल्झिन पुग्यो । मैले डुमसँगको आफ्नो दूरी नापेँ । ऊ दङ्ग पर्दै मतिर आउँदैथिई । अब भने ऊ झनै निश्चिन्त देखिन्थी- ‘ठेस लागेर यसलाई घात परेको छ, अब भने भेट्टाएर थचक्क पार्छु यसलाई ।’ मैले एक निमेषमा निर्णय लिनु थियो- फुस्केको चप्पल बनाउने या…? म चप्पल त्यहीँ छोडेर खाली खुट्टा दौडनथालेँ ।
चउरमा छरिएका मान्छे अझै चनाखो भई हेर्नथाले-‘चप्पल नलगाएकी एउटी महिला किन यसरी दौडिरहेकी छ आफ्नो सारा जिउ हल्लाएर, के यसलाई पत्तो छैन कि यसरी अभद्र छाती हल्लाउँदा बाटोमा लोग्नेमान्छेले क्वारक्वारती हेर्न सक्छन् ।’ तर उनीहरूलाई के थाहा, म आफ्नो उमेरलाई पछारेर कति पछाडि पुगिसक्या छु र आफ्ना बालापनका ती सबै रमाइला क्षणलाई ऊर्जा बनाई आफ्नो सम्पूर्ण शरीरको इन्जिनलाई कुदाउँदैछु । उनीहरूले त केवल मेरो हल्लिएको छाती मात्र देख्नेछन् तर मेरो मनले नहल्लीकन सुरक्षित घेरामा पुग्ने दाउ खोज्दै गरेको के थाहा यी अघोषित भलाद्मी अधबैँसेहरूलाई !’
ओहो !! मेरो खुसीले चुली नै छोयो जब मैले आफूलाई सुरक्षित घेरा देख्नसक्ने दूरीमा पाएँ । मेरो अन्तरआकाशमा बिजुली चम्कियो । त्यसको उज्यालोमा मैले देखेँ- म लगभग सुरक्षित घेराभित्र छिरिसकेँ । …ड्याम्म् ! अचानक आवाज आयो र अन्ततः मैले आफूलाई घेराभित्र पाएँ । मभित्रको त्यो भर्खरको उज्यालो अनि आवाजलाई महसुस गर्न सकूँ भनेर लामो सास फ्याँक्दै आँखा बन्द गरेर मैले एकछिन आफैँलाई छोपेँ। अनायास मेरोआँखाबाट आँसु झरे, खुसीको त्यो आँसु जसले अघि लागेको ठेस, पैतालामा बिझेका ढुङ्गाका कणहरू अनि चउरमा छरिएका थुप्रै प्रश्नचिन्हका दृष्टिलाई पखाल्दै मलाई भन्दै थियो- ‘तिमीभित्रको बालापन अझै ज्युँदै छ, यसलाई मर्न नदेऊ ! तिमीभित्रको ऊर्जा अझै तातै छ । यसलाई सेलाउन नदेऊ ! मैले आफूभित्रबाट फर्केर आँखा खोलेँ । खेलको डुम पात्र सुरक्षित घेरा बाहिर थक्थक् मान्दै थिई या अझै समाउने ताकमा थिई सायद ।
डुम र मबीचको अन्तरबाह्य द्वन्द्वबाट अनभिज्ञ खेल सहभागी केटाकेटी साथीहरू परपर मस्त दगुर्दैथिए निश्चिन्त भएर । किनभने डुम त अझै पनि मलाई नै पर्खिरहेकी पो थिई त  ! आफैँलाई जन्माउने आमालाई हराएर थचक्क बस्ने तुल्याउन सायद । म भने विजयी खेलाडीजस्तो आफूलाई सुरक्षित घेरामा राखेर ढुक्क थिएँ । यस्तो रहेछ टच एन्ड मुभ खेल-जीवनको कथा ! छोएर चल्ने । खेल्नुपर्छ । खेले पो थाहा हुन्छ खेलको   मजा !


मीनभवन, काठमाडौँ निवासी पाण्डे जोखिममा परेका महिला तथा बालबालिकाहरूको संरक्षणमा सञ्चालित सेतु नेपाल नामक सामाजिक संस्थामा कार्यरत छिन् ।
[email protected]